
काठमाडौं । पोखरामा सञ्चालित अन्नपूर्ण केबलकार लिमिटेडले बैंकबाट लिएको ऋण तिर्न हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीको गत चैत ३१ मा सम्पन्न वार्षिक साधारणसभाले एक सेयरबराबर शून्य दशमलव चार सेयर अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
केबलकारको अहिले ४९ लाख ६० हजार कित्ता सेयर रहेको छ । ३५ दिनभित्र हकप्रद सेयरबापत रकम जम्मा गर्न कम्पनीले सेयरधनीलाई जानकारी दिएको छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी बढेर २ अर्ब २२ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको ऋण अझै एक अर्ब रुपैयाँ हारहारीमा रहेको छ । दुई अर्ब लगानीमा निर्माण भएको हो ।
केबलकारमा मान्छे बोक्ने १७ र सामान बोक्ने गोन्डला (डब्बा) एकसहित १८ वटा डब्बा सञ्चालन भइरहेको छ । सञ्चालन भइरहेको सो केबलकार अस्ट्रियाको डोपलमेयर कम्पनीद्वारा निर्मित र जापानको नेपोन केबलले इन्स्टल गरेको हो ।
एक हजार पाँच सय २३ मिटर अर्थात् झन्डै पाँच हजार फिटसम्मको उचाइ रहेको यस केबलकारको एक डब्बामा आठजनासम्म यात्रु बस्न मिल्छ । २.३ किलोमिटर लम्बाइ रहेको केबलकार प्रतिघण्टा एक हजार ५ सयजनालाई सेवा दिने सक्ने क्षमतामा रहेको छ ।