काठमाडौं । नेपाली कथानक चलचित्र ‘जात्रा’ले बुधबार प्रिमियर शो गरेको छ । जयनेपाल हलमा गरिएको प्रिमियरमा ‘जात्रा’का अधिकांश कलाकार उपस्थित थिए । राउत आफ्ना बुवाआमासहित जयनेपाल हल पुग्दा पत्रकारको केन्द्रमा परिन् ।
मुख्य कलाकारहरू विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, प्रेक्षा बज्राचार्यलगायतले दर्शकसँगै चलचित्र हेरे । प्रिमियरमा वरिष्ठ नाट्य तथा चलचित्रकर्मी हरिहर शर्मा, हाँस्य कलाकार किरण केसी, जितु नेपाल, साहित्यकार अमर न्यौपाने, कलाकार खगेन्द्र लामिछाने, गायक सत्य—स्वरुप आचार्यलगायत उपस्थित थिए ।
सोसल ड्रामा जानरामा बनेको ‘जात्रा’ लेखन तथा निर्देशन प्रदीप भट्टराईले गरेका हुन् । प्रिमियरपछि अधिकांशले चलचित्र राम्रो रहेको प्रतिक्रिया दिए । वर्षा, विपीन र रवीन्द्रले प्रतिक्रियाबाट आफूहरु उत्साहित भएको र दर्शकहरू हलसम्म आउनेमा आफूहरु ढुक्क रहेको बताए । ‘जात्रा’ भोलि (शुक्रबार) बाट देशभरका हलमा प्रदर्शन हुँदैछ ।