खेल
काठमाडौं । दक्षिण कोरियाको मुजु सहरमा भएको पारा तेक्वान्दो कोर्स नेपालका दुई प्रशिक्षक पूरा गरेका छन् । नेपालबाट पहिलो पटक पारा तेक्वान्दो कोर्समा सहभागीता जनाएका कल्याण कुँवर र कविराज नेगी लामाले कुल १४ दिने कोर्स पूरा गरे । विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ)ले तेक्वान्दो पार्टनरसिप अन्तर्गत उक्त कोर्स सञ्चालन गरेको थियो । अक्टोबर २५ देखि सुरु भएको उक्त कोर्स पारा तेक्वान्दो खेल विकासका लागि आयोजना गरिएको थियो ।
उक्त कोर्स मगंलबार सम्पन्न भएको थियो । उनीहरुले कोर्समा तेक्वान्दो प्रशिक्षण कला, प्राविधक र सैद्धान्तिक ज्ञान र शारीरिक तालिम गरेका थिए । कार्समा १९८८ का सिओल ओलम्पिकका रजत विजेता साङ हुङ मुन, कोरियन पारा तेक्वान्दो कमिटीका सदस्य मास्टर कोन हि जिन र कोरिया पारालम्पिक कमिटीका सदस्य हि जिन कोनले प्रशिक्षण गराएका थिए । उक्त अवसरमा प्रशिक्षकद्धयले स्पाइरिङ र पुम्से ट्रेनिङ समेत लिए ।
डब्लुटिएफद्वारा आयोजना भएको तेक्वान्दो क्याम्पमा एथ्लिट एन्ड एन्स्ट्रक्टर कोर्स तथा क्याडेट क्याम्प पनि सम्पन्न भएको थियो । कुँवर पारा तेक्वान्दोका प्रशिक्षक हुन भने लामा पशुपति तेक्वान्दो डोजाङका प्रशिक्षक हुन् । दुवै प्रशिक्षकले पारा तेक्वान्दो खेल विकास लागि योगदान दिइरहेका छन् । कार्यक्रम समापनको अवसरमा प्रशिक्षकद्धय कुँवर र लामालाई विश्व तेक्वान्दो महासघंका सिनियर डाईरेक्टर इल चु र कोर्षका संयोजक हिउन मिन चोइले प्रमाणपत्र प्रदान गरे । कोर्समा फिलिपिन्स,पाकिस्तान,चीन र इन्डोनेसियालगायतक कुल १७ देशका प्रशिक्षकलाई सहभागी गराइएको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३ १७:५७
प्रतिक्रिया दिनुहोस्