-1744985963.jpg)
काठमाडौं । नेपाल शिक्षक महासंघले सडक आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । मंगलबार बसेको महासंघको बैठकले कक्षा १२ को परीक्षाका कुनै पनि प्रक्रियामा सहभागी नहुन सम्बन्धीत प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको छ ।
वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा केन्द्र परेका विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीले धम्की दिएर परीक्षाको प्रक्रियामा सामेल हुन दबाब दिएकोमा महासंघले विरोध जनाएको छ ।
“विगत २१ दिनदेखि काठमाडौंमा व्यापक सहभागितासहित चलिरहेको शैक्षिक सडक आन्दोलनलाई बल दिँदै विद्यालय, विद्यार्थी र शिक्षक-कर्मचारीमैत्री ऐन जारी गराउने महाअभियानलाई अघि बढाउन यो परीक्षाको प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुन हामी सबै प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीमा जोडदार आग्रह गर्दछौँ,” महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
महासंघले कक्षा १२ को परीक्षाका सबै केन्द्राध्यक्षहरूलाई शैक्षिक सडक आन्दोलनमा सहभागी हुन पनि अनुरोध गरेको छ ।