अर्थ व्यवसाय
काठमाडौं । नेपाल चेम्वर अफ कमर्स र अष्ट्रियाको भियना स्थित संयुक्त राष्ट्रसंघीय स्थायी प्रतिनिधी प्रकाश सुवेदी, इजिप्टका लागि नेपाली राजदूत झविन्द्र अर्याल र रुसी महासंघका राजदूत ऋिषिराम घिमिरेबीच मुलुकको आर्थिक सम्वृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनु पर्नेमा जोड दिइएको छ ।
चेम्वर सचिवालयमा भएको छलफल कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले आर्थिक कुटनीतिलाई सशक्त रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिँदै आर्थिक सम्वृद्धिका लागि नेपाल चेम्वर अफ कमर्स सरकार र सरोकार पक्षहरुसँग सहकार्य गर्न तयार रहेको बताए ।
उनले कमर्सले हरेक वर्ष आयोजना गर्ने अन्तर्राष्ट्रिय स्तरको मेलाबारे अन्तर्राष्ट्रिय प्रचार प्रसार गरी अधिकतम सहभागिता जुटाउन तथा विदेशमा आयोजना हुने मेला तथा प्रदर्शनीमा नेपालको सहभागिता बढाउन राजदूतहरुलाई अनुरोध गरे ।
मेला प्रर्दशनी तथा व्यापार प्रतिनिधिमण्डलको आदान प्रदानले मुलुकको व्यापार, लगानी तथा पर्यटन उद्योगको प्रवद्र्धन हुने भएकोले यसतर्फ विशेष ध्यान दिन राजदूतहरुलाई आग्रह गरे ।
अध्यक्ष श्रेष्ठले नेपाली उत्पादनको प्रवद्र्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनी कक्षको स्थापना हुनुपर्ने, सीधा हवाई सम्पर्क बढाउनेतर्फ राजदूतहरुको सक्रिय भूमिका हुने पर्नेमा जोड दिएका थिए । राजदूतहरुले मुलुकको निकासी व्यापार, वैदेशिक लगानी तथा पर्यटन प्रवद्र्धनका लागि आफूहरुले पूलको भूमिका निर्वाह गर्ने बताए ।
आर्थिक सम्वृद्धिका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताउँदै राजदूतहरुले दुई देशका चेम्वरबीच सहकार्य बढाउन चेम्वरले भूमिका निर्वाह गर्नु पर्ने बताए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७३ १७:५१
प्रतिक्रिया दिनुहोस्