विशेष
काठमाडौं । नेपाल राष्ट्र बैंकले आउँदो असारसम्म चुक्ता पुँजी बढाउन बाध्यकारी प्रावधान लागु गरेपछि यो वर्ष लगानीकर्ताले बोनस सेयरमात्र पाउने भएका छन् ।
यो वर्ष कर प्रयोजनका लागिमात्र बैंक तथा वित्तीय संस्थाले ज्यादै न्यून अर्थात् १ प्रतिशत हारहारीमा मात्र नगद लाभांश दिने भएका छन् । कतिपय बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजी बढाउन भन्दै २५ प्रतिशतसम्म बोनस सेयर र १ प्रतिशतमात्र नगद लाभांशको घोषणा गरेका छन् । पुँजी बढाउन बैंक तथा वित्तीय संस्थाले बोनस सेयरका अतिरिक्त हकप्रद र थप सेयर (एफपीओ) समेत जारी गर्दैछन् ।
सानिमा बैंक, प्राइम कमर्सियल बैंक, एनएमबी बैंकलगायत अन्य विकास बैंक तथा वित्त कम्पनीहरुले धमाधम बोनस सेयर घोषणा गर्न थालेका छन् । पुँजी बढाउन जनता बैंकले २ बराबर १ सेयर अनुपातमा हकप्रद सेयर निष्कासनको घोषणा गरिसकेको छ । त्यस्तै, प्राइम बैंकको सञ्चालक समितिले समेत पुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष सार्वजनिक गरेको मौद्रिक नीतिमा आउँदो असारसम्ममा वाणिज्य बैंकले ८ अर्ब, राष्ट्रिय स्तरको विकास बैंकले साढे २ अर्ब र अन्य क्षेत्रीय स्तरका विकास बैंक, वित्त कम्पनीले पनि सोहीअनुसार चुक्ता पुँजी बढाउनुपर्ने भनेपछि बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई धमाधम बोनस सेयर र हकप्रद सेयर घोषणा गरेका हुन् । आउँदो ४ महिनाभित्र बैंक तथा वित्तीय संस्थाले ३० अर्ब रुपैयाँभन्दा बढीको एफपीओ र हकप्रद सेयर निष्कासन गर्ने भएपछि यसको असर दोस्रो सेयर बजारमा पर्ने अनुमान गरिएको छ । त्यस्तै, एफपीओ र हकप्रदले बजारमा सेयरको आपूर्ति बढाउने भएपछि सेयरको भाउमा गिरावट आउने अनुमान लगानीकर्ताको छ ।
हालसम्म सरकारी स्वामित्वको कृषि विकास बैंकको चुक्ता पुँजी सबैभन्दा बढी १० अर्ब ३७ करोड ४४ लाख रुपैयाँ छ । त्यस्तै, सरकारी स्वामित्वकै राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको पुँजी पनि धेरै छ । राष्ट्रिय वाणिज्यको ८ अर्ब ५८ करोड ९० लाख र नेपाल बैंकको ६ अर्ब ४६ करोड ५० लाख रुपैयाँ छ ।
आगामी असारसम्ममा चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर् याउन वाणिज्य बैंकहरुले विकास बैंक र वित्त कम्पनीलाई गाभ्ने र किन्ने काम पनि गरिरहेका छन् । केही ठूला बैंक पनि एकआपसमा गाभिएका छन् ।
अहिले सबैभन्दा कम चुक्ता पुँजी जनता बैंकको छ । उसको चुक्ता पुँजी २ अर्ब ६ करोड रुपैयाँमात्र छ । जनताले चुक्ता पुँजी बढाउन २ बराबर अनुपातमा १ हकप्रद सेयर निष्कासन गरेर पुँजी ३ अर्ब ९ करोड रुपैयाँ पुर् याउँदैछ । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकको २ अर्ब २४ करोड ८२ लाख रुपैयाँ र नेपाल क्रेडिट एन्ड कमर्स बैंकको २ अर्ब ३५ करोड २२ लाख रुपैयाँ चुक्ता पुँजी छ ।
निजी क्षेत्रको सबैभन्दा बढी पुँजी भएको बैंकमा नेपाल इन्भेष्टमेन्ट हो । उसको पुँजी ७ अर्ब २५ करोड ५५ लाख रुपैयाँ छ । यस्तै ग्लोबल आईएमई बैंकको ६ अर्ब १६ करोड ४३ लाख रुपैयाँ छ । हाल देशभर २८ वाणिज्य बैंक सञ्चालनमा छन् ।
‘ख’ वर्गका विकास बैंकले पनि चुक्ता पुँजी पुर् याएका छैनन् । राष्ट्र बैंकले केन्द्रीय स्तरको विकास बैंकले साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर् याउन निर्देशन दिएको छ । केन्द्रीय स्तर र क्षेत्रीय गरी ६७ विकास बैंक सञ्चालनमा छन् । हालसम्म सबैभन्दा बढी पुँजी कैलाश विकास बैंकको छ । उसको पुँजी १ अर्ब ५८ करोड रुपैयाँ छ । यति डेभलपमेन्ट बैंकको १ अर्ब ३८ करोड ६२ लाख रुपैयाँ छ भने सिद्धार्थ डेभलपमेन्ट बैंकको १ अर्ब १४ करोड ४५ लाख, ओम डेभलपमेन्ट बैंकको १ अर्ब ५ करोड २९ लाख, एस डेभलपमेन्ट बैंकको १ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७३ १२:०८
प्रतिक्रिया दिनुहोस्