काठमाडौं । नेपाली सेनाले खरिद सम्झौता सम्पन्न गरेका नयाँ ३ वटा साना जहाज र ४ वटा हेलिकोप्टर यसै आर्थिक वर्षभित्र काठमाडौं आउने भएका छन् । सेनाले ७ अर्ब रुपैयाँ भन्दा बढि रकम खर्चेर ती हेलिकोप्टर र जहाज ल्याउने सम्झौता गत वर्ष बिभिन्न देश तथा कम्पनीसँग गरेको थियो ।
“सेनाको लागि आवश्यक पर्ने ४ वटा हेलिकोप्टर र ३ वटा जहाज छिट्टै नेपाल आउँदै छन्,” नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बाह्रखरीसँग भने, “यी जहाज र हेलिकोप्टर ल्याउने सम्झौता अघिल्लो वर्षनै भएको थियो ।”
यी बाहेक करिव साढे तीन अर्ब रुपैयाँमा सेनाले थप दुई थान एमआई–१७ भि ५ हेलिकोप्टर खरिद प्रक्रिया पनि अघि बढाई रहेको छ । त्यस्तै, अमेरिकी सरकारको अनुदान सहयोगमा करिव ४ अर्ब रुपैयाँ बराबरको ४ वटा स्काई ट्रक (जहाज) पनि सेनाले प्राप्त गर्दैछ ।
यो आर्थिक वर्षभित्र भित्रने चार हेलिकोप्टरमध्ये फ्रान्समा बनेको इक्वेटर हेलिकोप्टर एकसाता अघि काठमाडौं आइपुगेको छ । बाँकी जहाज र हेलिकोप्टर आउने क्रममा छन् । सेनाको क्षमता अभिवृद्धि र विपद् व्यवस्थापनको लागि ती जहाज तथा हेलिकोप्टर खरिद गरिएको सेनाको भनाइ छ ।
विपद् व्यवस्थापनतर्फ सेनालाई ३ अर्ब रुपैयाँ बजेट प्राप्त भएकोमा ५७ करोडको विपद् व्यवस्थापनका सामग्री खरिद गरिएको थियो भने बाँकी २ अर्ब ४३ करोड रुपैयाँको एक थान मध्यम खालको हेलिकोप्टर र २ थान लाइट हेलिकोप्टर खरिद सम्झौता सेनाले गरेको थियो ।
सैनिक स्रोतका अनुसार यसैवर्ष अमेरिकाबाट २ वटा साना जहाज, २०७६ को वैशाखसम्म इन्डोनेशियन एक जहाज, अतिविशिष्ट व्यक्तिको प्रयोजनको लागि इटालियन एक हेलिकोप्टर नेपाल भित्रनेछन् । सेनाको लागि अमेरिकाबाट पनि एक थान हेलिकोप्टर यसै आर्थिक वर्षभित्र नेपाल ल्याइनेछ ।
सेनाले प्रायः सबै हेलिकोप्टर र जहाज गरिद गर्दा अपनाएका प्रक्रिया विवादमा तानिएका थिए । प्रचलित ऐन–नियम विपरित सेनाले हेलिकोप्टर र जहाज खरिद प्रक्रिया अघि बढाएको महालेखापरीक्षकको कार्यालयले औंल्याएको थियो । यसका बाबजुद पनि सेनाले प्रक्रिया अघि बढाइ हेलिकोप्टर र जहाज खरिद गरेको थियो जुन यसै वर्ष भित्र नेपाल भित्रँदैछन् ।
विपद व्यवस्थापनको लागि भन्दै २०७३ असार १६ गते एउटा मध्यम र दुईवटा लाइट हेलिकोप्टर खरिद गर्न सरकारले सेनालाई अनुमति दिएको थियो । सेनाले बोलपत्र आह्वान गर्दा दुईथान लाइट हेलिकोप्टर भनेर गरेपनि खरिद सम्झौता एउटा मात्र खरिद गर्नेगरी गरेको थियो । सेनाले दुईवटा लाइट हेलिकोप्टर खरिद गर्न ३१ लाख ९० हजार ८ सय ७२ युरोको लागत अनुमान गरी बोलपत्र आह्वान गर्दा फ्रान्स र अमेरिकाका हेलिकोप्टर निर्माताले बोलपत्र पेश गरेका थिए । सेनाले फ्रान्सको निर्मातालाई छनौट गरेपछि एउटा मात्र हेलिकोप्टर गरिद गरेको थियो, जुन हेलिकोप्टर एक साता अघि काठमाडौं आइपुगेको छ ।
सेनाले अर्को लाइट हेलिकोप्टर खरिद सम्झौता भने अमेरिकाको वेल हेलिकोप्टर कम्पनीसँग गरेको थियो । सेनाले ३८ लाख अमेरिकी डलरमा उक्त हेलिकोप्टर खरिद सम्झौता गरेको थियो । जुन स्पेसिफिकेशन मन्त्रिपरिषदले स्वीकृति गरेको थियो सेनाले खरिद गर्दा फरक स्पेसिफिकेसन भएको खरिद गरेको थियो ।
सरकारले २०७४ जेठ १९ गते अतिविशिष्ट व्यक्तिको प्रयोजनको लागि इटालियन हेलिकोप्टर निर्माण कम्पनी अगष्टावेष्टल्याण्डसँग एक थान मध्यम खालेको हेलिकोप्टर खरिद गर्न सेनालाई स्वीकृति प्रदान गरेको थियो । त्यसपछि २०६४ पुस २० गते अर्थ मन्त्रालयले १ अर्ब ७० करोड रुपैयाँ सेनालाई उपलब्ध गराएको थियो । यो हेलिकोप्टर २०७६ को वैशाख महिनासम्ममा नेपाल आइपुग्नेछ । सेनाले प्रतिस्पर्धाबिनै इटालीको कम्पनीसँग हेलिकोप्टर खरिद सम्झौता गरेको थियो । हेलिकोप्टर खरिद गर्दा इटालियन कम्पनीको स्थानीय एजेन्ट छैन भनिएपनि पछि एजेन्ट भेटिएका थिए ।
यस्तै, अर्थले दुई वटा ट्रेनर जहाज खरिदको लागि सुरुमा करिव ४६ करोड रुपैयाँ उपलब्ध गराएको थियो । उक्त रकम नपुग भएको भन्दै सेनाले थप रकम मागेपछि २०७४ को कात्तिक महिनामा २ वटा ट्रेनर जहाज र २ वटा हेलिकोप्टरको लागि भन्दै थप २ अर्ब ५७ करोड ३६ लाख ३८ हजार ९ सय ९५ रुपैयाँ अर्थले सेनाको नाममा पठाएको थियो । सैनिक तालिमको आवश्यक जहाज किन्न अर्थले उक्त रकम सेनालाई उपलब्ध गराएको हो ।
पछिल्लो पटक सेनाले रुसमा बनेको एमआई–१७ भि ५ हेलिकोप्टर खरिदको लागि सम्झौता गरेको छ । अर्थले बजेट निकासा नगरिदिँदा यो कहिले नेपाल आइपुग्ने भन्ने टुङ्गो लाग्न सकेको छैन । सेनासँग हाल १८ वटा हेलिकोप्टर छन् जसमध्ये १३ वटा चालु अवस्थामा रहेका छन् । अन्य मर्मत संहारको पर्खाइमा छन् ।