site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘भ्रष्टाचारमा सबैभन्दा बढी जिम्मेवार राजनीतिक दल र तीनका कार्यकर्ता’
SkywellSkywell

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक अध्ययनले नेपालको उच्च तहमा (नीतिगत तह) हुने भ्रष्टाचारको लागि सबैभन्दा बढी जिम्मेवार राजनीतिक दल र तिनका कार्यकता रहेको देखाएको छ । अख्तियारले एक वर्ष अघि अध्ययन थालेर हालैमात्र सार्वजनिक गरेको ‘नेपालमा भ्रष्टाचार र सुशासनको अवस्थासम्बन्धी अध्ययन, २०७५’ मा नेपालमा ठूलो भ्रष्टाचार गर्ने र बढावा दिने दुवै काम राजनीतिक दल र तीनका कार्यकर्ताबाट भएको निस्कर्ष निकालिएको छ । 

“नेपालमा नीति निर्माताहरु नै आफू र आफ्नो पक्षमा नीति तथा निर्णय गराई लाभ लिने गरेको देखिन्छ,” अख्तियारको नेपालमा भ्रष्टाचार र सुशासनको अवस्थासम्बन्धी अध्ययन–२०७५ मा भनिएको छ, “जसमा राजनैतिक नेतृत्व तह, माथिल्लो दर्जाका उच्चपदस्थ कर्मचारीहरुबाट नीतिगत रुपमा लाभको लागि काम कारबाही गर्ने÷गराउने प्रणाली हावी भएको छ ।”

अध्ययनमा सबै प्रदेशबाट कम्तीमा दुई जिल्ला पर्नेगरी कूल १७ जिल्लालाई समेटिएको थियो । अध्ययनमा समेटिएका जिल्लामा धनकुटा, झापा, धनुषा, सप्तरी, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, कास्की, बाग्लुङ, नवलपरासी, दाङ्, रुपन्देही, सुर्खेत, कालिकोट, डोटी र कैलालीलाई समेटिएको थियो । पहाड, तराई र हिमाली क्षेत्रमा पर्ने यी १७ जिल्लाबाट ३ हजार ४ सय जनालाई अध्ययनमा सहभागी गराइएको थियो । 

KFC Island Ad
NIC Asia

अख्तियारको अध्ययनमा सहभगी मध्ये ३४.४ प्रतिशतले नेपालमा नीतिगत भ्रष्टाचार हुने गरेको बताएका थिए भने २७.२ प्रतिशतले प्रक्रियागत रुपमा गरिने निर्णयबाट भ्रष्टाचार हुने धारणा राखेका थिए । अध्ययनमा १०.४ प्रतिशतले साना भ्रष्टाचार र ६.९ प्रतिशतले संस्थागत भ्रष्टाचार हुने गरेको औंल्याएका थिए । 

“यस प्रकारका (नीतिगत) भ्रष्टाचारमा राजनैतिक दल, मन्त्री तथा उच्चपदस्थ कर्मचारीहरु हुने देखिएको छ,” अध्ययनमा भनिएको छ । 

Royal Enfield Island Ad

अध्ययनमा उच्च तह (नीतिगत)मा हुने भ्रष्टाचारमा सबैभन्दा बढी जिम्मेवार राजनैतिक दललाई देखाइएको छ । सर्वेक्षणका कूल सहभागी मध्ये ७८५ जना अर्थात २३.१ प्रतिशतले ठूला भ्रष्टाचारमा राजनैतिक दललाई जिम्मेवार मानेका छन् । राजनीतिक दलपछि यस्ता भ्रष्टाचारमा सचिव तथा विभागीय प्रमुखहरु बढी दोषी रहेको देखाइएको छ । अध्ययनमा सहभागी मध्ये ५१३ अर्थात १५.१ प्रतिशतले सचिव तथा विभागीय प्रमुखहरुलाई जिम्मेवार ठहर्याएका छन् । 

मन्त्रीका सल्लाहकारहरुलाई ठूला भ्रष्टाचार तेस्रो ठूलो जिम्मेवार मानिएको छ । अख्तियारको अध्ययनमा सहभागी बनेका ३ हजार ४ सय जनामध्ये ४८९ जना अर्थात १४.४ प्रतिशतले यस्ता भ्रष्टाचारमा मन्त्रीका सल्लाहकारहरु जिम्मेवार रहेको बताएका थिए । ठूला भ्रष्टाचारमा चौथो ठूलो दोष प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको रहेको अध्ययनले देखाउँछ । सहभागी मध्ये ४४८ जना अर्थात १३.२ प्रतिशतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ठूलो भ्रष्टाचारमा जिम्मेवार मानेका छन् । 

अध्ययनमा सहभागी मध्ये २३८ जना (७ प्रतिशत)ले ठूला भ्रष्टाचारमा मुख्च सचिवसमेत जिम्मेवार रहने उल्लेख गरेका थिए । सहभागी मध्ये ८८८ अर्थात २६.१ प्रतिशतले ठूला भ्रष्टाचारमा राजनैतिक दल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद, मन्त्रीका सल्लाहकारहरु, मुख्य सचिव र सचिव तथा विभागीय प्रमुखहरु सबैलाई समान रुपमा जिम्मेवार मानेका छन् । मात्र ३९ जना (१.१ प्रतिशत) ले कसैलाई पनि जिम्मेवार मानेका थिएनन् । 

“यसबाट के देखिन आएको छ भने राजनैतिक दल, उच्चपदस्थ कर्मचारीहरु तथा मन्त्रीका सल्लाहकारहरुबीच आपसी साँठगाँठबाट कुनै पनि लाभदायक नीतिगत निर्णय गर्ने गराउने गरी भ्रष्टाचार हुने हुँदा यी सबै पक्षहरु पूर्ण रुपमा जिम्मेवार रहेको र यसप्रकारको सञ्जालबाट भ्रष्टाचार जकडिएको भनाइ रहेको छ,” अख्तियारको अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

देशमा भ्रष्टाचार बढ्दै जानु पछाडिका जिम्मेवार पक्षहरुमा पनि सबैभन्दा बढी दोषी राजनैतिक दल र तीनका कार्यकर्तालाई देखाइएको छ । सर्वेक्षणमा सहभागीमध्ये २५.५ प्रतिशत अर्थात ८६७ जनाले भ्रष्टाचार बढ्दै जानु पछि सबैभन्दा ठूलो हात राजनैतिक दल र यसका कार्यकर्ताहरुको रहेको उल्लेख गरेका छन् । अध्ययनमा १७.२ प्रतिशत अर्थात ७१८ जनाले मध्यस्थकर्ता, निर्माण व्यवसायी र प्राविधिकहरुलाई देशमा भ्रष्टाचार बढाउँदै लगेको जनाएका छन् । 

देशमा भ्रष्टाचार मैलाउँदै जानु पछाडि तेस्रो ठूलो हात उच्चपदस्थ कर्मचारीको रहेको अध्ययनमा देखाइएको छ । कूल मध्ये १४.१ प्रतिशत अर्थात ४८० जनाले उच्चपदस्थ  कर्मचारीतर्फ औंला तेस्र्याएका छन् । अध्ययनमा सहभागी मध्ये ११.५ प्रतिशत अर्थात ३९१ जनाले देशमा भ्रष्टाचार बढ्दै जानुमा मन्त्री र मातहतका व्यक्तिहरुको हात रहने औंल्याएका छन् । उद्योगी व्यापारीहरुले पनि भ्रष्टाचारलाई बढावा दिने गरेको अध्ययनमा देखाइएको छ । सहभागी मध्ये १०.१ प्रतिशत अर्थात ३४२ जनाले देशमा भ्रष्टाचार बढ्नुमा उद्योगी व्यापारीको हात रहेको बताएका थिए । 

अध्ययनमा सहभागी बनेका मध्ये ७१८ जना अर्थात २१.१ प्रतिशतले देशमा भ्रष्टाचार बढ्दै जानुमा राजनैतिक दल र यसका कार्यकर्ताहरु, मन्त्री र मातहतका व्यक्तिहरु, उच्चपदस्थ कर्मचारी, उद्योगी व्यापारीहरु, मध्यस्थकर्ता, निर्माण व्यवसायी र प्राविधिलाई समान रुपमा जिम्मेवार मानेका छन् । मात्र ०.५ प्रतिशत अर्थात १६ जनाले भ्रष्टाचार बढ्नुमा कसको हात रहेको भन्ने थाहा नभएको भन्ने जवाफ दिएका थिए । 

नेपालमा भ्रष्टाचार हुनुका प्रमुख कारकमा सबैभन्दा बढी सहभागीले राजनैतिक संरक्षणलाई देखाएका छन् । कूलमध्ये १ हजार १०२ जना (३२.४ प्रतिशत)ले राजनैतिक संरक्षणका कारण नेपालमा भ्रष्टाचार हुने गरेको बताएका छन् । भ्रष्टाचार हुनुको दोस्रो ठूलो कारकमा गरिबी, अशिक्षा र चेतनामा कमीलाई देखाइएको छ । कूल सहभागीमध्ये ९४९ जना (२७.९ प्रतिशत)ले भ्रष्टाचारको कारण गरिबी, अशिक्षा र चेतनामा कमीलाई औंल्याएका छन् । 

पारदर्शितामा कमी र कार्यप्रक्रियामा स्पष्ट नहुनुलाई पनि भ्रष्टाचारको तेस्रो ठूलो कारण मानिएको छ । सहभागी मध्ये ७४० (२१.८ प्रतिशत)ले पारदर्शितामा कमी र कार्यप्रक्रियामा अस्पष्टालाई भ्रष्टाचारको कारण मानेका छन् । यस्तै, ४०० जना (११.८) प्रतिशतले भ्रष्टाचार प्रति सामाजिक सहिष्णुता कायम हुनुलाई, ४६५ जना (१३.७ प्रतिशत)ले न्यून बेतन तथा उच्च बजार मूल्यलाई, ३४८ जना (१०.२ प्रतिशत)ले  सदाचार र इमान्दारीतालाई प्रोत्साहन नहुँदा, ६४५ जना (१८.९) प्रतिशतले भ्रष्टाचार नियन्त्रण गर्ने निकाय प्रभावकारी हुन नसकेर र ५८८ जना (१७.३ प्रतिशत)ले मध्यस्थकर्ता र कर्मचारीबीचको साँठगाँठलाई भ्रष्टाचारको कारण मानेका छन् । 

“राजनैतिक रुपमा नेता तथा कार्यकर्ताहरुले आफूलाई लाभ हुने खालका नीतिगत निर्णय गर्ने गराउने प्रचलन हावी भएको देखिएको हुँदा यो एउटा चुनौतीको रुपमा रहेको छ,” अध्ययन प्रतिवेदनमा भनिएको छ । 

अख्तियारको अनुसार अध्ययनमा समेटिएका उत्तरदातामध्ये ३३ प्रतिशत व्यवसाय/व्यापार पेसामा संलग्न व्यक्ति, २६ प्रतिशत कृषि पेसामा संलग्न व्यक्ति, २२ प्रतिशत सरकारी/निजी सेवामा संलग्न व्यक्ति, ३ प्रतिशत ज्याला मजदुरीमा संलग्न व्यक्ति, ३ प्रतिशत वैदेशिक रोजगारीमा संलग्न र १३ प्रतिशत अन्य व्यक्ति संलग्न रहेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०७५  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro