
काठमाडौं । धेरै मानिसहरू प्रायः तनाव अनुभव गर्छन् । तनावका कारण उनीहरूले सामान्य टाउको दुखाइदेखि चिन्ता लिने जस्ता समस्याहरूबाट सामना गर्नुपर्छ । यद्यपि, सीमित मात्राको तनाव मानिसका लागि फाइदाजनक नै हुनसक्छ । तर, तनाव मानिसको जीवनमा लामो समयसम्म रहेमा त्यसले शरीरलाई नोक्सान पुर्याउन पनि सक्छ ।
चिकित्सा विशेषज्ञहरूको भनाइमा धेरै तनावले मानसिक र शारीरिक दुवै प्रकारका स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ ।
तनाव के हो ?
मानव शरीरले कठिन परिस्थितिहरूसँग सामना गर्न तयार हुने एक तरिका नै तनाव हो ।
तनाव महसुस गर्दा के हुन्छ ?
जब तनाव महसुस गरिन्छ, मानिसको शरीरले यस्ता हर्मोनहरू उत्पादन गर्छ जसले आउने कठिन परिस्थितिको सामना गर्न व्यक्तिलाई तयार पार्छ । केही समयको लागि यो तनाव सहयोगी हुन सक्छ किनकी यसले व्यक्तिलाई धेरै एकाग्र बनाउँछ र उसको कार्यक्षमतालाई सुधार गर्छ ।
तर, अमेरिकन साइकोलोजिकल एसोसिएसनका अनुसार, लामो समयसम्म तनाव लिने व्यक्तिमा शरीरमा चिन्ता, हृदय रोग र प्रतिरक्षा प्रणाली कमजोर हुने जस्ता धेरै गम्भीर स्वास्थ्य समस्याहरू उत्पन्न गर्छ ।
मानिसको तनावको कारणहरू काम, पैसा र निजी सम्बन्धहरू हुन् । यसलाई बेवास्ता गर्न सकिँदैन । तर, महत्त्वपूर्ण पक्ष तनाव कति लामो समयसम्म रहन्छ भन्ने हो ।
एक्युट स्ट्रेस (तीव्र तनाव)को अवधि छोटो हुन्छ र यसबाट फाइदा पनि हुन सक्छ । तर, क्रोनिक स्ट्रेस (दीर्घकालीन तनाव) लामो समयसम्म रहन्छ र यसले शरीरमा नकारात्मक प्रभाव पार्न सक्छ ।
एक्युट र क्रोनिक स्ट्रेस
साइकोथेरापिस्ट तथा ब्रिटिस एसोसिएसन अफ काउन्सेलिङ एन्ड साइकोथेरापी (बीएसीपी)की सदस्य रिचेल भोराका अनुसार, “एक्युट स्ट्रेस कुनै तत्कालीक परिस्थितिको दु्रत प्रतिक्रिया हो र केही मात्रामा यो फाइदाजनक पनि हुन सक्छ ।”
“यसले एड्रेनालिन र कोर्टिसोल हर्मोन प्रवाह गरेर लड्ने प्रतिक्रियालाई सक्रिय पार्छ । यसले हाम्रो एकाग्रता बढाउँछ र केही समयको लागि हाम्रो पाचन प्रणालीलाई पनि सुधार गर्छ ।”
एक्युट स्ट्रेसलाई राम्रोसँग व्यवस्थापन गरिएमा यसले कुनै नोक्सानी पुर्याउँदैन र यसले तत्कालीन चुनौतीहरूसँग सामना गर्न मद्दत गर्छ । तर, क्रोनिक स्ट्रेसले हाम्रो शरीरमा नकारात्मक असर गर्छ ।
क्रोनिक स्ट्रेसले हाम्रा हर्मोनहरूमा असर पार्छ । यसले हृदय रोग, पाचनतन्त्र कमजोर हुने जोखिम बढाउँछ र इरिटेबल बाउल सिन्ड्रोम (आईबीएस) जस्ता समस्याहरू पनि उत्पन्न गर्न सक्ने भोरा बताउँछिन् । क्रोनिक स्ट्रेस चिन्ता (एन्जाइटी) र डिप्रेसनसँग पनि जोडिएको छ । यसले निन्द्रामा अवरोध पुर्याउँछ र शरीरको उमेर बढ्ने गतिलाई तीव्र बनाउँछ । भोराका अनुसार कुनै समस्याको अवधि कति लामो छ भन्ने कारणले क्रोनिक स्ट्रेस विकसित हुन्छ र यसले हाम्रो शरीरलाई धेरै नोक्सान पुर्याउँछ ।
तनावले हाम्रो शरीरलाई कसरी प्रभावित गर्छ ?
बेलायतको नेसनल हेल्थ सर्विस (एनएचएस) का अनुसार तनावले हाम्रो शरीरमा धेरै प्रतिक्रियाहरू उत्पन्न गराउँछ । यसमा तनाव हर्मोन कोर्टिसोल र एड्रेनालिन प्रवाह हुनु पनि समावेश छ । यसको कारण हाम्रो हृदय गति र रक्तचाप बढ्छ र अक्सिजन युक्त रगत हाम्रो मांसपेसीहरूमा छिटो पुग्छ । रक्त प्रवाहस्तर बढेर तत्काल उर्जा प्राप्त हुन्छ । तर, यसले पाचन प्रणाली र प्रतिरक्षा प्रणालीलाई असर गर्छ, किनभने शरीरले तत्काल उर्जा प्राप्त गरेर तत्कालीक समस्या समाधान गर्न खोज्छ ।
लामो समयसम्म तनावमा रहनु हानिकारक हुन्छ । क्रोनिक स्ट्रेसले विशेष गरी पेटको वरिपरि वजन बढाउँछ । तनाव हर्मोनले स्मरण शक्तिमा असर पार्छ र एकाग्रता गर्न गाह्रो हुन्छ । यसले निन्द्रामा पनि असर पुर्याउँछ र शरीरको आफैँलाई मर्मत गर्ने क्षमता प्रभावित हुन्छ । लामो समयसम्म तनाव रहँदा हृदय रोग, पाचन समस्या र मानसिक स्वास्थ्य समस्याहरू हुन सक्ने एनएचएसले सचेत गराएको छ ।
के तनाव फाइदाजनक पनि हुनसक्छ ?
क्यालिफोर्निया विश्वविद्यालयका सहायक अनुसन्धान प्रोफेसर गोलनाज तबिब्नियाका अनुसार, उत्थानशील क्षमता छ वा छैन भन्दा पनि यो एक यस्तो क्षमता हो जुन लामो समयमा विकास हुन्छ । उनले भने, “चुनौतीलाई बेवास्ता गर्नुको सट्टा यसको सामना गर्दा उत्थानशील क्षमता विकास हुन्छ ।”
जब मानिसहरू तनावलाई खतराको सट्टामा सहयोगीको रूपमा हेर्छन् तब उनीहरूको शारीरिक तनाव प्रतिक्रिया कम हुने उनको भनाइ छ । मानिसको मनस्थितिमा सानो परिवर्तनले ठूलो असर गर्न सक्छ र यसले चिन्ता कम गर्न मद्दत गर्छ । उनले भनिन्, “तनावलाई बेवास्ता गर्नुको सट्टामा निरन्तर यसको सामना गर्दा दिमागले भविष्यमा आउने तनावसँग सामना गर्न सिक्छ । यो जिम जानु जस्तो हो– बढी वजन उठाउन गाह्रो हुन्छ तर, यसले व्यक्तिलाई बलियो बनाउँछ ।”
तनाव र चिन्तामा के फरक छ ?
बीबीसीले चिन्ता र तनावको फरक बुझ्न विज्ञ संस्थासँग कुरा गरेको थियो । उनीहरूले बताएअनुसार तनाव (स्ट्रेस) भनेको बाहिरी समस्याहरू जस्तैः कामको डेडलाइन, ड्राइभिङ टेस्ट वा परीक्षाको प्रतिक्रिया हो । यो चुनौती आउँदा सक्रिय हुन्छ र समस्या समाधान भएपछि स्वतः हराउँछ । यो एक यो एक प्राकृतिक प्रतिक्रिया हो जसले हामीलाई समस्यासँग सामना गर्न तयार पार्छ ।
चिन्ता (एन्जाइटी) भनेको कुनै वास्तविक समस्या नभएको बेला पनि हुनसक्छ । यसले भावनाहरूलाई नियन्त्रण गर्न मद्दत गर्छ र हामीलाई सचेत राख्छ । तर, यदि यो अत्यधिक हुन्छ भने दैनिक जीवन प्रभावित गर्न सक्छ ।
यसका समानताहरूको कुरा गर्दा दुवैले स्नायु प्रणालीलाई सक्रिय पार्छन्, हृदय गति बढाउँछन् र पसिना आउन वा कम्पन जस्ता शारीरिक लक्षण देखा पार्छन् ।
यसको मुख्य फरकको बारेमा कुरा गर्दा तनाव अस्थायी हुन्छ (समस्या समाधान भएपछि जान्छ) तर चिन्ता लामो समयसम्म रहन सक्छ (कहिलेकाहीँ कुनै ठोस कारण नभएको बेला पनि हुनसक्छ) ।
चिन्ता व्यवस्थापनको उपाय
एन्जाइटी यूकेका अनुसार, निम्न श्वासप्रश्वास प्रक्रियामार्फत चिन्ताको व्यवस्थपन गर्न सकिन्छ ।
आरामले श्वास लिनुहोस् । श्वास लिनेभन्दा छोड्न बढी समय लगाउनुहोस्, यसले शरीरलाई आराम गर्ने संकेत पठाउँछ र स्नायु प्रणाली शान्त हुन्छ । याद गर्नुहोस तनाव प्राकृतिक कुरा हो, तर चिन्ता लामो समयसम्म रहन सक्छ । दुवैलाई सही ढंगले व्यवस्थापन गर्न सिक्नु महत्त्वपूर्ण हुन्छ । बीबीसी हिन्दी