site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
३९ लाख वैदेशिक रोजगारीमा जाँदा साढे ६ हजार फर्किए काठको बाकसमा

काठमाडौं । वैदेशिक रोजगारमा गएका मध्ये पछिल्लो एक दशकमा साढे ६ हजारभन्दा बढी नेपालीको मृत्यु भएको पाइएको छ । प्रत्येक वर्ष औषतमा ५ सय ५९ नेपालीको मृत्यु वैदेशिक रोजगारको सिलसिलामा विदेशी भूमिमा हुने गरेको देखिन्छ । वैदेशिक रोजगारमा जाँदा गलामा माला लगाएर बिदाइ गर्ने कतिपय परिवारजनले स्वदेश फर्कंदा उनीहरुलाई काठको बाकसमा पाउने गरेका छन् । 

“पछिल्लो एक दशकमा ३८ लाख ९८ हजार ४ सय ७९ नेपाली वैदेशिक रोजगारको सिलसिलामा विभिन्न देश पुगेको देखिन्छ,” वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बाह्रखरीसँग भने, “वैदेशिक रोजगारमा गएका मध्ये यो अवधिमा ६ हजार ७ सय ८ जनाको मृत्यु भएको छ ।” 

वैदेशिक रोजगारको लागि नेपालले हालसम्म संस्थागत रुपमा एक सय १० देश खुला गरेको छ । व्यक्तिगत श्रम स्वीकृतिमा भने १ सय ७२ भन्दा बढी देशममा नेपाली पुगेका छन् । वैदेशिक रोजगारको सिलसिलामा सबैभन्दा बढी नेपाली मलेसिया र खाडी राष्ट्र पुग्ने गरेका छन् । पछिल्लो एक दशकमा यी सबै राष्ट्रमा गरी करिव ३९ लाख नेपाली रोजगार खोज्दै पुगेका छन् । 

Dabur Nepal
NIC Asia

“तथ्य आफैं बोल्छ, वैदेशिक रोजगारले कति घर उजाडिएका छन्,” बोर्डका कार्यकारी निर्देशक श्रेष्ठ भन्छन् । 

बोर्डको तथ्याङ्कअनुसार विगत १० वर्षमा वैदेशिक रोजगारमा रहँदा विभिन्न प्रकारका दुर्घटनामा परी १ हजार १ सय ७८ जना नेपाली अंगभंग भएका छन् । वैदेशिक रोजगारको सिलसिलामा विदेशमा मृत्यु भएकाको परिवारका सदस्यहरु, अंगभंग तथा घाईते भएका मध्ये १५ हजार २ सय ६६ जनालाई बोर्डले पछिल्लो एक दशकमा आर्थिक सहायता उपलब्ध गराएको छ । उक्त अवधिमा बोर्डले आर्थिक सहायता स्वरुप २ अर्ब २ करोड ६६ लाख ४१ हजार ३ सय १७ रुपैयाँ पीडितहरुलाई उपलब्ध गराएको थियो । यही १० वर्षको अवधिमा वैदेशिक रोजगारबाट ४४ खर्ब ८२ अर्ब रुपैयाँ रेमिटेन्स नेपाल भित्रिएको देखिन्छ । 

आर्थिक वर्ष २०६५–०६६ देखि २०७४–०७५ सम्ममा वैदेशिक रोजगारको क्रममा ६ हजार ७ सय ८ जनाले विदेशमा ज्यान गुमाएका थिए । सबैभन्दा बढी आर्थिक वर्ष २०७०–०७१ मा एक हजार ६ जना नेपाली कामदारको मृत्यु विदेशी भूमिमा भएको देखिन्छ । आर्थिक वर्ष २०६५–०६६ मा ७७ जना नेपालीको मृत्यु भएको थियो २०६६–०६७ मा यो संख्या बढेर ४ सय १९ पुगेको थियो । बोर्डका अनुसार आर्थिक वर्ष २०६७–०६८ मा ५ सय ६६, २०६८–०६९ मा ६ सय ४८, २०७०–०७१ मा ८ सय ७७, २०७२–०७३ मा ८ सय १६, २०७३–०७४ मा ७ सय ५६ र २०७४–०७५ मा ८ सय २१ जना नेपालीले मृत्यु रोजगारका क्रममा विदेशमा भएको थियो । 

वैदेशिक रोजगारमा क्रममा विदेश पुगेका नेपालीको मृत्यु विभिन्न कारणले हुने गरेको छ । जसमध्ये सबैभन्दा बढीको मृत्युको कारण हृदयघात र आत्महत्या रहेको छ । विभिन्न समयमा भएका अध्ययनले तनावका कारण विदेशमा रहेका नेपालीलाई हृदयघात हुने र आत्महत्या गर्ने गरेको देखाएको छ । नेपालमा दलालले भनेजस्तो विदेश पुगेपछि काम नपाउनु, करारपत्रमा उल्लेख भएअनुसारको सेवा सुविधा नपाउनु, रोजगारदाताको यातना सहन नसक्नु, आफू विदेशमा हुँदा नेपालमा रहेको परिवारमा देखिने समस्याका कारण वैदेशिक रोजगारमा रहेका नेपालीलाई बढी तनाव हुने गरेको अध्ययनले देखाउने गरेको छ । हृदयघात, आत्महत्या, सडक दुर्घटना, हत्या, काम गर्दा हुने दुर्घटना नेपालीको मृत्युको प्रमुख कारण हुन् । 

“हृदयघात र सडक दुर्घटनाका कारण नेपालीको बढी मृत्यु भएको देखिन्छ,” बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए । राजमार्गहरुमा बाटो काट्न नजान्दा पनि धेरै नेपालीको सडक दुर्घटनामा परी मृत्यु हुने गरेको छ । 

वैदेशिक रोजगारमा जानेमध्ये सबैभन्दा बढी नेपालीको मृत्यु मलेसियामा भएको देखिन्छ । मलेसियामा मात्र दश वर्षको अवधिमा २ हजार ४ सय ९६ जना नेपालीको विभिन्न कारण मृत्यु भएको थियो । मलेसियापछि सबैभन्दा बढी नेपालीको मृत्यु साउदी अरबमा भएको छ । साउदी अरबमा पछिल्लो १० वर्षमा एक हजार ९ सय २ जना नेपालीले ज्यान गुमाएका थिए । वैदैशिक रोजगारको सिलसिलामा ३५ देशमा नेपालीको मृत्यु भएको देखिन्छ । दश वर्षको अवधिमा कतारमा १ हजार ३ सय ६७ जना, संयुक्त अरब ईमिरेट्समा ५ सय ४४ जना, कुवेतमा २ सय २१, दक्षिण कोरियमा १ सय ३ जना, लेबनानमा २० जना, जापानमा १६ जना, ओमनमा ५४ जना, बहराइनमा ८९ जना नेपालीको मृत्यु भएको छ ।  

विभिन्न दुर्घटनामा परी पछिल्लो १० वर्षमा १ हजार १ सय ७८ जना नेपालीको अंगभंग भएको छ । अर्थात् त्यति नेपालीले शरीरको कुनै न कुनै अंग गुमाएका छन् । गत आर्थिक वर्ष २०७४–०७५ मा सबैभन्दा बढी ३ सय ६१ जना नेपालीको अंगभंग भएको थियो । आर्थिक वर्ष २०६५–०६६ मा ८ जना अंगभंग भएका थिए भने त्यसको अर्को वर्ष २०६६–०६७ मा १० जना । आर्थिक वर्ष २०६७–०६८ देखि २०७३–०७४ सम्म प्रत्येक वर्ष क्रमसः ३१, ५७, ९०, १ सय १६, १ सय ८४, १ सय १७ र २ सय ४ जना नेपालीको अंगभंग भएको थियो । 

सबैभन्दा बढी नेपालीको अंगभंग मलेसियामा भएको थियो । बिगत दश वर्षमा ५ सय ७ जना नेपालीको अंगभंग मलेसियामा भएको थियो । उक्त अवधिमा कतरामा २ सय २३, साउदी अरबमा २ सय ७७, संयुक्त अरब ईमिरेट्स १ सय ५१, कुवेतमा ४६, दक्षिण कोरियामा १४, बहराईनमा १३ जनाको अंगभंग भएको थियो । 

बोर्डले वैदेशिक रोजगारको क्रममा विदेशमा मृत्यु, घाईते, गम्भिर बिरामी हुने कामदारको परिवारका सदस्यलाई विभिन्न प्रकारका आर्थिक सहायता उपलब्ध गराउने गर्छ । यही सिलसिलामा विगत १० वर्षमा बोर्डले मृतक कामदारका परिवारलाई कूल एक अर्ब ६७ करोड ८४ लाख ८४ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ । कूल ६ हजार ९ सय २१ जनालाई उक्त रकम उपलब्ध गराइएको हो । 

बोर्डले अंगभंग तथा बिरामी एक हजार २ सय ५२ जना कामदारलाई आर्थिक सहायता स्वरुप १६ करोड ८६ लाख १७ हजार ३ सय १७ रुपैयाँ प्रदान गरेको छ भने एक सय एक अलपत्र कामदारको उद्दारमा २ करोड ९० लाख ४३ हजार रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०६९–०७० यता हालसम्म बोर्डले विदेशमा मृत्यु भएका १ सय ९१ जना कामदारको शव झिकाउन ६ करोड ९४ लाख ४४ हजार रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ । 

बोर्डका अनुसार आर्थिक वर्ष २०६९–०७० यता ९ सय १७ जना कामदारको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुको घरसम्म ढुवानी गर्न ४ करोड २९ लाख ८६ हजार रुपैयाँ खर्च भएको छ । सोही अवधिमा कामदारका परिवारलाई स्वास्थ्य उपचार सहयोग स्वरुप बोर्डले ६७ जनालाई २४ लाख ९५ हजार रुपैयाँ प्रदान गरेको छ । यसको अलवा महिला कामदारले अभिमुखिकरण तालिम रकम शोधभर्ना र वैदेशिक रोजगार छात्रवृत्ति वितरण शिर्षकमा पनि साढे ३ करोड रुपैयाँ भन्दा बढी रकम बोर्डले खर्च गरेको छ । 

बोर्डको तथ्याङ्कअनुसार वैदेशिक रोजगारमा जानेमध्ये ८६.४२ प्रतिशत नेपाली मलेसिया र खाडी राष्ट्रमा जाने गरेका छन् । यसरी जानेमा सबैभन्दा ठूलो संख्या अदक्ष कामदारको छ । वैदेशिक रोजगारमा गएका मध्ये ७४.५ प्रतिशत अदक्ष कामदार छन् भने अर्धदक्ष २४ प्रतिशत । वैदेशिक रोजगारमा जानेमा मात्र १.५ प्रतिशत कामदार दक्ष रहेका छन् । वैदेशिक रोजगारमा गएका मध्ये ५० प्रतिशत प्रदेश नं.१ र २ का छन् भने १६–१६ प्रतिशत प्रदेश नं.३ र ५ का बासिन्दा छन् । यस्तै, वैदेशिक रोजगारीमा जानेमध्ये गण्डकी प्रदेशका १३ प्रतिशत, कर्णाली प्रदेशका ३ प्रतिशत र सुदूरपश्चि प्रदेशका २ प्रतिशत छन् । 
 
पछिल्लो एक दशकमा वैदेशिक रोजगारमा जानेमा महिलाको संख्या १ लाख ९७ हजार ८ सय ७ रहेको छ । सोही अवधिमा ३७ लाख ६ सय ७२ पुरुष वैदेशिक रोजगारीको सिलसिलामा विदेशिएको देखिन्छ । वैदेशिक रोजगारीमा सबैभन्दा बढी नेपाली आर्थिक वर्ष २०७०–०७१ र २०७१–०७२ मा गएका थिए । ती वर्ष करिव साढे ५ लाखको हारहारीमा नेपाली रोजगार खोज्दै विदेशिएका थिए । आर्थिक २०७१–०७२ पछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या क्रमशः घट्दै गएको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०७५  ०९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro