काठमाडौं । सरकारले २०७४ जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको मान्यता दियो । भलिबलको इतिहास ६ दशक लामो छ । डन्डीबियोलाई औपचारिक रुपमा राष्ट्रिय खेल बताइए पनि सरकारले सानो स्थानमा सहज खेल्न मिल्ने खेलको रुपमा वर्णन गर्दै भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको हो ।
घोषणाको झन्डै १ वर्ष ३ महिना बितिसकेको छ तर भलिबल विकासका लागि गरिएका योजना गर्भमै छन् । हिमाल, पहाड र तराईमा सुस्ताएका भलिबल गतिविधि बढेपनि घोषणा अनुसारको लगानी नहुँदा साढे १ वर्षको अवधिमा भलिबलले केही उपलब्धि हासिल गर्न सकेको छैन ।
त्यसैमा महिला भलिबल खेलाडीको कुरा गर्ने भने अवस्था झनै दयनीय छ । राष्ट्रिय खेलको मान्यतापछि पुरुष भलिबल टोली नियमित अभ्यासमा छ । तर महिला टोलीको न त राष्ट्रिय टिम बनेको छ न त नियमित प्रशिक्षण नै ।
यो एक वर्ष ३ महिनाको अवधिमा पुरुष टोलीले बंगलादेशमा आयोजना भएको चौथो सेन्ट्रल जोन भलिबल, बंगलादेशमा आयोजना भएको दक्षिण एशियन खेलकुद, हङकङ र मकाउसँग दुईवटा मैत्रिपूर्ण खेल खेलिसकेको छ भने एक साताअघि इन्डोनेशियामा १८ औं एसियाडमा सहभागिता जनायो । तर पुरुषभन्दा राम्रो प्रदर्शन गर्ने महिला खेलाडीका लागि अवसर जुराउन न राष्ट्रिय खेलकुद परिषद लागेको छ न भलिबल संघ नै ।
महिला टोलीले गतवर्ष भारतमा सम्पन्न १२ औँ साग र माल्दिभ्समा सेन्ट्रल जोन भलिबल खेले यता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छैनन् । महिला खेलाडीहरु मात्र मोफसलमा हुने विभिन्न प्रतियोगितामा आ–आफनो क्लबबाट प्रतिनिधित्व गरिरहेका छन् ।
राष्ट्रिय खेलको मान्यतापछि आफनो खेल स्तर सुधार्ने अपेक्षामा रहेका खेलाडी सरोकारवाला निकायको व्यवहारबाट आजित छन् । मोफसलका हरेक प्रतियोगितामा अतिथि बनेर पुग्ने राखेप र भलिबल संघका पदाधिकारीका आश्वासनले महिला खेलाडीका कान भरिइसके तर लय पुरानै छ ।
महिला टोलीकी कप्तान बिनिता बुढाथोकी भन्छिन्, “एसियन खेलकुदमा सहभागिता गराएको भए केही नयाँ टेक्निक सिक्ने मौका मिल्थ्यो जसले आगामी साग प्रतियोगितालाई सहयोग पुग्थ्यो । तर त्यसो गरिएन जसले सफलता नभई असफलता देखाउँछ ।”
खेलाडी सरस्वती चौधरीको गुनासो केही फरक छ । उनी भन्छिन्, “आफुमा धेरै प्रतिभा छ जस्तो लाग्छ तर देखाउने ठाउँ छैन मोफसलमा मात्र कति खेल्नु ।”
वर्षौंदेखिको ठुला अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सपना मुखै अगाडि तुहिँदा कप्तान बुढोथोकीसँगै प्रायः सबै महिला भलिबल खेलाडी निराश छन् ।
राखेपले आर्थिक कारण देखाउँदै एसियाडमा महिला टोलीलाई सहभागी हुनबाट रोक्यो । तर पुरुष टोलीले सहभागिता जनायो । २९ खेलका लागि १ सय ८७ खेलाडी इन्डोनेशिया लैजान सक्ने राष्ट्रिय खेलकुद परिषद किन महिला खेलाडीको बिषयमा चुक्यो त ? सदस्य सचिव केशवकुमार बिष्ट भन्छन्, “भलिबल खेलाडी सहभागि गराउने विषयमा संघ र मन्त्रालयसँग छलफल भयो पुरुष टोली नियमित अभ्यास र महिला टोली नरहेकाले पुरुष टोलीलाई सहभागिता गराइएको हो तर महिला भनि विभेद गरेर पछि सारिएको होइन ।”
अब सागका लागि पुरुषभन्दा महिला खेलाडीलाई विशेष प्राथमिकतामा राख्ने सदस्यसचिव बिष्टको दाबी छ । पुरस्कार राशी लगायत विभिन्न बिषयमा महिला भलिबलमाथि अन्याय नै छ । त्यही अन्यायको पराकाष्टा एसियाडपछि नदेखिँदो शैलीमा प्रस्तुत भएको छ ।
जसले राखेप र भलिबल संघमाथि प्रश्न उब्जाएको छ । तर भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द भने राखेपले एउटा मात्र टिम सहभागि गराउने बताएपछि पुरुष टिमलाई अघि सारिएको दाबी गर्छन् ।
महिला खेलाडीको विकासका लागि लगानीकर्ता खोज्न संघ प्रयासरत रहेको महासचिव चन्दको भनाई छ ।
राष्ट्रिय खेलमा भारतीय लगानी
राष्ट्रिय खेलमा सरकारको लगानी न्यून रहेकै बेला भारतको एक फाउण्डेसनले महिला भलिबलको विकासका लागि काम गर्ने भएको छ । भारतमा आधा रहेको महिला जनसङ्ख्याको सम्मानमा स्थापना गरिएको आधीआवाधी फाउण्डेसनले महिला भलिबलको विकासका लागि भलिबल संघसँग १० वर्षको सम्झौता गरेको छ । सम्झौताअनुसार फाउण्डेसनले आगामी असोज १३ गतेदेखि काठमाडौंमा लिग सञ्चालन गर्दैछ ।
२ फ्रेन्चाइज टोलीसहित लिगमा ३ विभागीय क्लब र न्यु डायमण्ड क्लब सहभागी हुँदैछन । आयोजकले भारतीय टेलिसिरियलका ६ जना अभिनेत्रीलाई गुडविल एम्बेसडर बनाएको छ । जसले खेलमा दर्शकलाई आकर्षित गर्ने आयोजकको दाबी छ ।
फ्रेन्चाइज लिगबारे खेलाडी खुसी
विभेदको व्यवहारले खेल नै छोडेर हिँड्ने मनस्थितमा पुगेका महिला खेलाडी फ्रेन्चाइज लिग आयोजना हुन थालेपछि खुसी भएका छन् । ठुलो प्रतियोगिता नभइ मोफसलमा आयोजना हुने प्रतियोगिता खेल्न वाध्य खेलाडीहरु ठुला प्रतियोगिताले स्तर सुधार्ने बताउँछ ।
एपीएफकी खेलाडी नबिता चौधरी विदेशीबाट नयाँ सिक्न पाउनेमा आशावादी छन् । न्यु डायमण्डकी प्रतिभा माली पनि उत्तिकै खुसी देखिन्छिन् ।