काठमाडौं । गत साउन १० गते कञ्चनपुरस्थित घरबाट साथीको घरमा उत्तरपुस्तिका लिन भन्दै गएकी निर्मला पन्त ११ गते उँखुबारीमा मृत अवस्थामा फेला परिन् । प्रहरी अनुसन्धानले बलात्कारपछि कञ्चनपुरको भीमदत्तनगर २ कि १३ वर्षीया किशोरी निर्मलाको हत्या भएको बतायो । त्यसयता बिहीबारसम्म कञ्चनपुर आन्दोलित बन्दै आएको छ ।
प्रहरीले घटनाको निश्पक्ष छानबिन नगरेको भन्दै चर्किएको आन्दोलनमा बिहीबार त गोली नै चल्यो । गोली प्रहारबाट ४ जना आन्दोलनकारी घाइते भए । प्रहरीले निर्मला हत्यामा संग्लन रहेको भन्दै ४१ वर्षीय दिलिप विष्टलाई मुख्य अभियुक्त बनाएर सार्वजनिक गरेपछि स्थानीय बासिन्दा झनै उत्तेजित भए । पछिल्ला तीन दिन त कञ्चनपुर सदरमुकाम महेन्द्रनगर पुरै आन्दोलनमा जोडियो । मंगलबार र बुधबार अश्रुग्यास प्रहार गरेको प्रहरी प्रशासनले बिहीबार त गोली नै प्रहार गर्यो, कञ्चनपुर तनावग्रस्त बन्यो ।
प्रहरीको गोली र कर्फ्यू
प्रहरीले बिहीबार आन्दोलनकारीमाथि गोली चलाएपछि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर तनावग्रस्त बन्यो । गोली प्रहारबाट ४ जना घाइते भए । घाइते हुनेहरुमा अर्जुन भण्डारी, तेजराज भट्ट, किरण पाण्डे र सन्तोष कठरिया रहेका छन् । उनीहरुमध्ये भट्ट र भण्डारीलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ ।
घटनामा एकजना प्रहरी हवल्दार पनि घाइते भए । प्रहरीले गोली चलाएपछि आन्दोलन झन चर्कियो । आन्दोलन चर्किँदै जाँदा स्थानीय प्रशासनले महेन्द्रनगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको जनाएको छ ।
तर पनि आन्दोलनकारी शान्त भएनन् । आक्रोशित आन्दोलनकारीले भीमदत्त नगरपालिकामा पनि आगजनी गरे ।
छानबिन टोली गठन, प्रमुख फेरिए
सुरुदेखि नै आन्दोलन जारी रहेपनि गृह मन्त्रालयले घटनाबारे बिहीबारसम्म खासै चासो देखाएन । गृहमन्त्रीकै सल्लाहकार सूर्य सुवेदीले फेसबुकमै पश्चिम नेपालका एकथरि मान्छे बलात्कारीको बचाउमा आन्दोलन गर्दैछन्, कस्तो अचम्म ! भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोखिए ।
गृहमन्त्री थापाका सल्लाहकार नै यस्तो लेखेपछि कञ्चनपूरबासीमा थप आक्रोश पैदा भएको थियो ।
सामाजिक सञ्जालमा उनको व्यापक विरोध भयो । तर बिहीबारको प्रर्दशनले भयानक रुप लिने संकेतपछि गृहमन्त्रीलाई नेकपाका सासंदले नै दबाब दिन थाले । स्थानीय सरकार र प्रशासनप्रति बढ्दो आक्रोशबीच गृह मन्त्रालयले सह–सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ३ वटै सुरक्षा निकायका प्रहरी नायव महानिरीक्षक, आन्तरिक मामिला तथा कानून मन्त्रालय ७ नम्बर प्रदेशका प्रतिनिधि समेत रहने गरी ५ सदस्यीय छानविन समिति गठन गरेको छ ।
नेपाल प्रहरीका डीआईजी रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी बलका डीआईजी बसन्त बाँनिया, राष्ट्रिय अनुसन्धान विभागका डीआईजी लक्ष्मण गुरुङ सदस्य छन् भने प्रदेश नम्बर ७ को कानुन तथा आन्तरिक मन्त्रालयका उपसचिव वीरेन्द्र केसी पनि सदस्य रहेका छन् ।
गृहमन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कुमार खड्का, प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्ट र प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानबहादुर सेठीलाई जिम्मेवारीमुक्त गर्दै फिर्ता बोलायो ।
कञ्चनपुरको नयाँ सीडीओमा सह–सचिव तारानाथ अधिकारी र एसपीमा कुवेर कडायतलाई पठाइएको छ ।
जिप्रका भित्रैबाट अश्रुग्यास प्रहार
कञ्चनपुर प्रहरीले जिप्रकाभित्रबाटै अश्रुग्यास प्रहार गरेको छ । जिप्रका अगाडि नाराबाजी गर्दै आइपुगेको समूहलाई प्रहरीले भित्रैबाट अश्रुग्यास हानेको थियो । बिहीबार प्रर्दशनकारीमाथी प्रहरीले गोली चलाएपछि स्थानीय आक्रोशित हुँदै जिल्ला प्रहरी कार्यालय घेराउ गर्न गएका थिए । स्थानीयबासीहरु गेटबाहिर प्रदर्शन गर्दा प्रहरीले भने भित्रबाटै अश्रुयास हानेको थियो । जिप्रका बाहेक अन्य स्थानमा पनि दिनभर प्रर्दशनकारी र प्रहरीबीच झडप भयो ।
सीआइबीको अनुसन्धान नै विवादमा
घटनाको अनुसन्धान गर्न केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी अंगुर जिसी नेतृत्वको टोली कञ्चनपुर पुगेको थियो ।
सीआईबीको टोलीले कञ्चनपुर प्रहरीसँगको सहकार्यमा अनुसन्धान अगाडि बढायो । सीआईबीको टोलीले झण्डै १५–२० दिन लगाएर मानसिक सन्तुलन ठिक नभएका दिलिप विष्टलाई घटनाका दोषी देखायो र उनैलाई हत्यारा भन्दै सार्वजनिक गरेपछि स्थानीय झनै आक्रोशित भए ।
सीआईबीले गरेको यस घटना विवादमा तानियो । सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले सीआईबीको अनुसन्धान सदर गर्छ वा अरु कुनै अभियुक्त पाउँछ यो प्रतिक्षाको विषय छ ।
साउन १० गते बिहीबार कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महुलियाकी १३ वर्षीया निर्मला पन्त भीमदत्त नगरपालिका–१८ स्थित साथी रोशनी बमको घर गइन् । कक्षा ९ मा सरस्वती माविमा अध्ययनरत निर्मला रोशनीको घरमा विज्ञान विषयको पुस्तिका लिन गएकी थिइन् । साँझसम्म पनि नफर्किएपछि आमा दुर्गाले निर्मलाको सोधखोज गर्न थालिन् ।
निर्मला नआएपछि आमा रोशनीकै घरमा पुगिन् । दिउँसो २ बजे नै निर्मला अम्बा लिएर घर गइसकेको जानकारी रोशनी र उनकी दिदी अनिताले दिए । तर, आमाको मन मानेन र छोरीको खोजी गर्न थालिन् । एकछिनपछि फेरि दुर्गा रोशनीकै घरमा पुगिन् र भित्र हेर्न अनुमति मागिन् । तर रोशनीकी दिदी अनिताले घरभित्र हेर्न दिइनन्, बरु ‘तिम्री छोरी पोइल गएकी होली’ भनेर उडाइन् ।
निर्मलाका आफन्तजनले वडा प्रहरी कार्यालय र प्रहरी बिट सालघारीमा खबर गरे । निर्मलाकी आमा दुर्गा भन्छिन्, ‘‘प्रहरीले फोटो लिएर भोलि बिहान आउनु भनेर टार्यो ।’’
रातिको १२–१ बजेसम्म निर्मलाकी आमा र आफन्त प्रहरी बिट सालघारीमै बसिरहे । बाहिर पानी दर्किरहेको थियो । साउन १० गते प्रहरीले बमको घरमा कुनै तलासी गरेन । साउन ११ गते अर्थात् अर्को दिन बिहान फेरि निर्मलाकी आमासहितका गाउँले रोशनीको घरमा पुगे । गाउँलेहरु जम्मा भएकै बेला एकजनाले खोला किनारमा साइकल भेट्टियो भन्ने खबर सुनाए । निर्मलाकी आमा दुर्गा भन्छिन्,“साइकल भेटियो भन्नेबित्तिकै रोशनीकी दिदी बबिता भन्ने अनिताले साइकल भेटिए लाश पनि त्यतै होला भनिन् ।’’
दुर्गाको प्रश्न छ– “साइकल भेटियो भन्दा लाश त्यतै होला भनेर अनिताले कसरी दाबी गर्न सकिन् ? हाम्रो आशंका यसैमा छ ।”
नजिकै रहेको उखुबारीमा निर्मलाको शव भेटियो । निर्मलाले साथीको घरबाट लगेको अम्बा, विज्ञान विषयको पुस्तिका र चप्पल पनि घटनास्थलमै भेटियो । पीडितका आफन्तले शव उठाए । तर, कतिपयको भनाइमा– निर्मलाको शव पाइएको स्थानमा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट नआएको आक्रोशमा निर्मलाको शव केहीबेर नगरपालिकाको गेटमा राखिएको थियो । प्रहरीले अहिले घटनालाई अन्तै मोडेको स्थानीयबासी आरोप लगाउँछन् ।
कसरी समातिए दिलिप ?
कञ्चनपुर प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले निर्मला हत्यामा संग्लन भन्दै अभियुक्तको रुपमा दिलिपसिंह विष्टलाई सार्वजनिक गर्यो । दिलिप आफ्नै भिनाजुको हत्यामा जेल सजाय काटेर ४ महिनाअघि मात्रै राष्ट्रपतिबाट कैद मिनाह पाएका व्यक्ति हुन् ।
पारिवारिक रुपमा दिलिप गरिब परिवारका हुन् । उनी भिनाजुको हत्या अभियोगमा २०६५ मा जेल परेका थिए । जेल सजाय काटेर निस्किएका विष्ट होटलमा भाँडा माझ्ने, मजदुरी गर्नेलगायत काम गर्दै आएका थिए । निर्मलाका बुबा यज्ञराज पन्तका अनुसार दिलिप घटना घटेको दिन र राति पनि घरमै थिए ।
त्यस्तोमा प्रहरीले पक्राउ गरेर सार्वजनिक गरिएका अभियुक्त नै वास्तविक हत्यारा हुन् भन्नेमा आशंका देखिन्छ । ४ सातासम्म चित्तबुझ्दो जवाफ र अनुसन्धान नगरेको प्रहरी एकाएक भदौ ४ गते निर्मलाको घरमा पुग्यो । निर्मलाका बुबा यज्ञराजका अनुसार प्रहरीले घटनास्थलमा (निर्मला) को हत्या भएको स्थानमा अपराधीको केही प्रमाण छ भन्ने जानकारी गरायो । यज्ञराज पनि घटनास्थल गए । उनी भन्छन, ‘‘घटनास्थलमा गएको २ मिनेटमै प्रमाण भेट्टियो भन्दै प्रहरी चिच्च्याए, अनि सर्टको खल्तीको कपडा र कण्डम बरामद गरियो ।’’
साउन १० गतेदेखि प्रहरी, स्थानीय, पत्रकार, नागरिक समाजका प्रतिनिधि, सीआईबीको टोली पटक–पटक घटनास्थल पुग्दा नभेटिएको कपडालगायतका सामग्री कसरी त्यहाँ भेटियो अहिले आएर ? भन्ने परिवारका सदस्यको प्रश्न छ ।
प्रहरीले बलात्कारी भनिएका विष्टको नै त्यो सर्टको कपडा भएको निष्कर्ष प्रहरीको छ ।
निर्मलाका आफन्तजन र स्थानीयवासी दिलिपलाई हत्यारा मान्न अहिलेसम्म तयार भएका छैनन् ।