काठमाडौं । २०७० सालमा महाकाली नदीमा ठूलो बाढी आउँदा दार्चुला सदरमुकामको स्वरुप नै फेरियो । मानवीय क्षति कम भए पनि भौतिक रुपमा ठूलो क्षति दार्चुलाले व्यहोर्नुपर्यो । भारतको धौलिगंगा बाँधका कारण २०७० मा बाढी आएको थियो । त्यतिखेरको विनासकारी बाढीले गरेको विध्वंशको घाउ अझै निको भएको छैन ।
महाकाली नदीमा नेपालतर्फको भागमा बाँध बाध्नेलगायतका कार्य पूर्ण रुपमा सकिएको छैन । भौगोलिक र प्राकृतिक विपद्का हिसाबले दार्चुला उच्च जोखिमको जिल्ला हो । फेरि भारतीय भूमितर्फ रहेको चट्टानी ढुंगाका कारण दार्चुला खतरामा पर्ने देखिएको छ ।
दार्चुला सदरमुकामबाट माथिल्लो भागमा रहेको नेपालतर्फको बाङ्गा बगर पारि भारततर्फ रहेको ढुंगाका कारण दार्चुलावासीमा सन्त्रास फैलिएको छ । महाकाली नदीको छेउमा रहेको ढुंगा जोखिमपूर्ण अवस्थामा रहेको र त्यो नदीमा खसे महाकाली थुनिने सम्भावना रहेको स्थानीय पत्रकार किरन धामी बताउँछन् । पत्रकार धामीका अनुसार भारततर्फ सुख्खा पहिरो जाँदा पूरै पहाड खसेको थियो । त्यही पहाडलाई खोतीला पहिरो पनि भनिन्छ । महाकाली नदीमा पानीको बहाव तिव्र भएर वा पहिरोले भासिएको ढुंगा बगेर महाकाली थुनिँदा नेपालतर्फको बागाबगर क्षेत्रमा ठूलो क्षति पुग्न सक्ने पत्रकार धामी बताउँछन् ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य भन्छन्, ‘‘भारततर्फ खोतीला पहिरो भन्ने ठाउँमा ठूलो ढुंगा छ, त्यो खस्दा महाकाली थुनिन सक्छ ।’’ अहिले भने महाकालीले धार परिर्वतन गरेकोले जोखिम घटेको उनी बताउँछन् । ‘‘प्राकृतिक कुराको बारेमा केही भन्न सकिन्न, ढुंगा खस्यो भने खतरा नहुने कुरा भएन,’’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने ।
आचार्यका अनुसार भारतले ढुंगा खसिहाले तत्काल विष्फोट गराउन सक्ने अवस्था रहेको बताएको छ । तर ढुंगाको जोखिम न्यूनीकरणका लागि वैकल्पिक उपायबारे भने छलफल भएको छैन । नदीमा ढुंगा खसे विष्फोट गराउनुपूर्व नेपालको अनुमति भारतले लिनुपर्छ । अनुमति लिने प्रक्रिया लामो हुँदा ठूलो क्षति हुुनसक्ने अनुमान स्थानीयको छ । प्रमुख जिल्ला अधिकारी आचार्यले दार्चुलाको अवस्थाबारे आफूले केन्द्र सरकारलाई जानकारी गराइसकेको बताए ।
भारतले खोतीला पहिरो वर्षापछि मात्रै हटाउने
भारतको धार्चुलातर्फ रहेको र नेपालको दार्चुलाको बागाबगर क्षेत्रको पारीपट्टी रहेको खोतीला पहिरो हटाउने कार्य आगामी सेप्टेम्बर १५ पछिमात्रै सुरु गरिने भारतीय पक्षले जनाएको छ । बिहीबार दार्चुलामा भएको नेपाल–भारतका अधिकारीहरुको बैठकमा भारतले यस्तो बताएको हो । बैठकमै भारत पिथौरागढ जिल्लाका डिएम सि रवीशंकरले भारतीय अधिकारीहरुलाई मनसुनपश्चात् अर्थात् सेप्टेम्बर १५ तारेखपछि उक्त पहिरो हटाउन निर्देशन दिएका थिए ।
भारतपट्टीको खोतिला पहिरोका कारण दार्चुला सदरमुकाम खलंगासमेत उच्च जोखिममा छ । भारतीय पक्षले सुख्खा याममा पहिरो पन्छाउन आनाकानी गरेपछि सदरमुकाम खलंगा जोखिममा परेको हो । गतवर्ष भारतकै खोतिला पहिरोका कारण नेपालतर्फको तटबन्ध भत्किएको थियो ।
चमेलिया र अपी हाइड्रोमा क्षति
प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार दार्चुलामा महाकाली बाहेक अन्य नदी र खहरेको जोखिम पनि उच्च छ । महाकालीपछिको दोस्रो ठूलो नदी भनिएको चमेलियाका कारण चमेलिया जलविद्युत् परियोजनाको ड्याममा क्षति पुगेको छ । यस्तै अपि हाइड्रोको ड्याममा पनि क्षति पुगेको छ ।
नौगाडको बाढी तथा पहिरोले क्षति पुर्याएका बस्तीहरूमा सञ्चार सेवा अवरुद्ध भएको छ । मौसम प्रतिकूल हुँदा समयमै सूचना पाउन कठिनाइ भएको प्रजिअ आचार्यले बताए । प्रशासन कार्यालयले आमनागरिकलाई सचेत रहन आग्रह गरेको छ ।
तस्बिरहरू : किरन धामी, दार्चुला