विशेष
काठमाडौं । मुगु खत्याडका रणबहादुर रोकाया ३६ प्रतिशत ब्याजमा ऋण खोजेर रोजगारीका लागि साउदी अरब गए । कर्णाली म्यानपावर कम्पनीलाई एक लाख रुयैयाँ तिरेर उनी गत पुसमा साउदी उडेका थिए । रणबहादुरको समूहमा ७ जना युवा थिए ।
म्यानपावर कम्पनीले महिनाको १३ सय साउदी रियाल तलब हुन्छ भनेको थियो । अल्दासरी भन्ने कम्पनीमा काम गर्ने सम्झौता भएको थियो । तर, साउदी एयरपोर्टबाटै उनीहरूलाई अरब अल्तामुज भन्ने कम्पनीको जिम्मा लगाइयो ।
एक महिनासम्म त उनीहरुले काम नै पाएनन् । त्यसपछि एक महिना काम गरेर ११ सय तलब पाए । त्यसपछिका ८ महिना भने बिनातलब काम गर्नुपर्यो । अर्थात्, ९ महिना काम गरेको तलब ११ सय रियाल ।
नेपालबाट जाने बेलामा लेबर काम गर्ने भनेर गएका थिए । तर, उता पुगेपछि त आर्मी क्याम्प एरियामा जाली भर्ने र पोलहरु गाड्ने काममा लगाइयो । त्यो काम गर्न उनीहरुले सकेनन् । त्यसपछि उनीहरुलाई अर्को क्पाम्पमा लगियो ।
उनीहरुसँगै काम गर्ने ४३ जना नेपाली रहेछन् । सबैको हालत उस्तै । सबैलाई एकै कोठामा गुन्द्रुक खाँदेजस्तै खाँद्ने, दिनमा १५ घण्टा काममा लगाउने । तर, खाना भने एक छाक । त्यो पनि दुइटा रोटीमात्र ।
यस्तो कष्टमा उनीहरुलाई ९ महिना काट्न पनि ९ वर्षजस्तो भयो । आफूले पाएको दुःखबारे नेपालमा रहेको म्यानपावर कम्पनीलाई जानकारी गराए । तर, म्यानपावरले पनि वास्ता गरेन । त्यसपछि उनीहरु साउदीस्थित नेपाली दूतावास पुगे । दूतावासका कर्मचारीले ‘यहाँ बस्ने ठाउँ छैन, हामी कुरा गरिदिन्छौं, उतै जाओ’ भन्दै फेरि कम्पनीमै पठाइदिए ।
महानगरीय प्रहरी महाशाखाको पहलमा साउदीबाट उद्धार गरिएका युवाहरु शुक्रबार महाशाखामा त्यहाँको दुःखबारे कहँदै थिए । “दिनमा १५ घण्टा काम लगाइन्थ्यो । तर, खान एक छाकमात्रै पाइन्थ्यो, त्यो पनि पेटभरि हैन । अति भएपछि एकदिन कम्पनीको म्यानेजरलाई फोन गरेर हामीलाई सारै आपत् पर्यो, तलब दिनुपर्यो भनें । अफिसमा आऊ, दिन्छु भन्यो । तलब पाइने भयो भन्दै दंग परेर हामी चार जना गयौं,” रणबहादुर रोकायाले रुँदै भने, “तीन जनालाई बाहिर राख्यो, मलाईचाहिँ भित्र बोलायो र बेहोस हुने गरी पिट्यो । अरु तीन जनालाई कोठामा पठाइदिएछ, मलाईचाहिँ कुवेतको बोर्डरमा लगेर छाडिदिएछ राति १२ बजे । केही समयपछि होस खुल्यो। उता जाउँ भने कुवेत प्रहरीले पक्राउ गर्ने, यता आउँ भने खल्तीमा पैसा छैन ।”
नेपाल फर्काइदिन भन्दै उनीहरुले नेपाली दूतावासमा पहल गरे । दूतावास र कम्पनीको म्यानेजर बसेर छलफल गरे । म्यानेजरले ‘दुई महिनाको काम छ, त्यो सकेर टिकट र बाँकी तलब दिएर नेपाल पठाइदिन्छु’ भन्यो । “हामीले पनि घर जान पाइने भयो भन्दै खुसी भएर दुई महिना लाग्ने काम रात–दिन गरी १० दिनमै सक्यौं । काम सकिएपछि त म्यानेजरले ‘मेरे बाप मरगया, मे कुछ नहीँ दे सकता’ भन्दै पासपोर्ट दिएर पठायो ।
महाशाखाको पहलमा नेपाल फर्किएका नेपालगन्जका लिलबहादुर रोका मगरका पनि आँखा भरिएका थिए । “रणबहादुर दाइलाई बोर्डरमा छाडेको भोलिपल्ट मैले पनि तलब चाहियो भनें । उसले मलाई पनि कार्यालयमा आऊ भन्यो । तलब माग्न कार्यालय गएको त मर्नेगरी कुटेर घना जंगलमा लगेर छाडिदियो,” रोकाले सुनाए, “जंगलबाट सडक नजिकै थियो । सडकमा झरेर रुँदै थिएँ, एक जना नेपाली दाइ ट्रक चालक रहेछन्, उनले देखेर रोके । उनलाई आफ्नो कहानी सुनाएँ । त्यो दिन उनकै कोठामा बसें । त्यसपछि चार दिन लगाएर पासपोर्ट भएको कम्पनीमा फर्कें ।”
उनीहरूकै समूहमा साउदी पुगेका बर्दियाका मोहम्मद अरुण खानको पीडा पनि कम छैन । “पैसा कमाउन भनेर साउदी गइयो, साह्रै दुःख पाइयो । म्यानपावरले नेपालबाट पठाउँदा राम्रो कुरा गरेको थियो, उता लगेर एयरपोर्टबाटै बेचिनुपर्यो,” खानले सुनाए, “हामीमात्र हैन, यो म्यानपावरबाट गएका ४३ जनाको हालत एउटै हो । हामी त जसोतसो बाँचेर नेपाल आयौं, बाँकी साथीहरु उतै रोएर बस्नुभएको छ । तलब माग्दा चार जनालाई त म्यानेजरले बेपत्तै पारिदियो भन्ने हल्ला थियो ।”
प्रहरीको पहलमा स्वदेश फर्किएका सातै जनालाई पुनर्जन्म पाएजस्तो भएको छ । हचुवाका भरमा कुरा नबुझी विदेश नजान उनीहरुको सुझाव छ ।
दलालको भर नपर्नुस् : प्रहरी
विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न महानरीय अपराध महाशाखाले एक युनिट नै खडा गरेको छ । युनिटका प्रमुख डीएसपी हुबेन्द्र बोगटी भन्छन्, “साउदीमा आर्थिक मन्दी छ, त्यसैले त्यहाँ जाने नेपालीले ध्यान दिनुपर्छ । आधिकारिक कम्पनीबाहेक दलालको प्रलोभनमा परेर जानेहरु सबैले दुःख पाउँछन् । त्यसैले म्यानपावर कम्पनीबाट सबै कुरा बुझेरमात्रै जानुपर्छ ।”
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७३ १३:३५
प्रतिक्रिया दिनुहोस्