काठमाडौं । दुईदिने नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि काठमाडौंमा मात्रै १० हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । नेपालका चारवटै सुरक्षा निकायका उच्च अधिकारीसहित १० हजार बराबर सुरक्षाकर्मी परिचालन गरिन लागेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
तर यसको सम्पूर्ण कमाण्ड भने नेपाली सेनाले गर्नेछ ।
मोदीको सुरक्षाको पहिलो घेरामा भारतीय सुरक्षाकर्मी रहनेछ भने त्यसपछिको सबै सुरक्षा घेरामा नेपालको सुरक्षा संयन्त्र रहनेछन् । उच्च प्रहरी स्रोतका अनुसार महानगरीय प्रहरी कार्यालय रानीपोखरीमार्फत एसपीहरुको कमाण्डमा ६ हजार नेपाल प्रहरी परिचालन हुनेछन् भने सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागको टोली पनि परिचालन हुनेछ ।
मोदीको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका तालिमप्राप्त कुकुरको परिचालन पनि गरिनेछ । नेपाल प्रहरीका एकजना उच्च अधिकारीले भने, “प्रहरीले काठमाडौंमा मोदीको सुरक्षाका लागी सेनाको समन्वयमा काम गर्नेछ । यसका लागि प्रहरीले मोवाइल टोली र र सादा पोसाकमा काम गर्नेछ ।”
मोदीको नेपालमा रहँदासम्म ट्राफिक प्रहरीमा कसैलाई पनि बिदा दिइने छैन । ट्राफिकको जनशक्ति मागको अनुपातमा थोरै रहेकाले बिदामा नबस्न हेडक्वाटरबाट मौखिक निर्देशन दिइएको प्रहरी स्रोतले बतायो ।
प्रहरी अधिकारीका अनुसार काठमाडौं भित्रिने सबै नाकाहरुमा चेकजाँचमा कडाई पारिएको छ । यसका लागि मोटरसाइकलमा सवारदेखि सबै प्रकारका सबै सवारी साधनहरुको इन्ट्री र चेकजाँचमा कडाई गरिएको छ । नागढुङ्गा नाकामा जनशक्ति थप गरेर चेकजाँच कडा पारिएको छ ।
‘नाकाबन्दीले मोदीको सुरक्षा चुनौती बढ्यो’
एक प्रहरी अधिकारीका अनुसार एउटै व्यक्तिको सुरक्षाका झण्डै १० हजार बराबरको जनशक्ति प्रयोग प्रायः कमै अवस्थामा मात्र हुन्छ ।
नेपालमा भूकम्पले जनजीवन अस्तव्यस्त भएको अवस्थामा नेपालले जारी गरेको संविधानप्रति असहमति जनाउँदै भारतले नाकाबन्दी लगाएपछि उनीप्रति नेपालीको दृष्टिकोण सकारात्मक नरहेको निष्कर्ष निकाल्दै बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी स्रोतले जानकारी दियो ।
ती सुरक्षा अधिकारीअनुसार पहिलोपटक मोदी काठमाडौं आउँदा उनको समर्थनमा नागरिक स्वतःफूर्त रुपमा नयाँ बानेश्वरका सडकमा निस्किएपनि अहिले भने त्यो सम्भावना देखिँदैन ।
यस्तै मोदीका कार्यक्रमहरु पनि बढी भएकाले सुरक्षाकर्मीको संख्या बढ्ेको प्रहरी अधिकारीको भनाई छ ।
मोदी आफ्नै बुलेट प्रुफमा
दुईदिने नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा रहँदा नेपाली गाडीको प्रयोग गर्नेछैनन् । यसका लागि मंगलबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विमानबाट रेन्जरोभर र बिएमडब्लु ‘बुलेटप्रुफ’ गाडी ल्याइएको छ । दुईवटा गाडीमध्ये एउटा जनकपुर पठाइने र एउटा काठमाडौंमै रहने सुरक्षा स्रोतले बतायो । स्रोतका अनुसार ४१ जना भारतीय सुरक्षाकर्मीको विशेष टोली पनि मंगलाबार नेपाल आइपुगेको छ । ‘बुलेट प्रुफ’ गाडीसँग सञ्चार सामग्री पनि नयाँ दिल्लीबाट ल्याइएको छ ।