काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक ०७३, ५ असोजयता बस्न सकेको छैन । आफूलाई निकै व्यवस्थित र जनवादी केन्द्रीयतामा विश्वास गर्ने एमालेकै केन्द्रीय कमिटीको बैठक डेढ वर्षदेखि बस्न नसकेको हो । ०७३ असोजको पहिलो साता एमालेको सातौँ केन्द्रीय कमिटीको बैठक बसेको थियो ।
स्थानीय तह निर्वाचनअगाडि ०७४ वैशाख ६ गते आठौँ केन्द्रीय कमिटीको बैठक डाकिएको भए पनि पार्टी अध्यक्ष केपी शर्मा ओली नियमित उपचारका लागि मुलुकबाहिर जानुपर्ने भएकाले बैठक त्यत्तिकै स्थगित भएको थियो । त्यसयता भने महत्त्वपूर्ण निर्णय स्थायी कमिटीमै सीमित भएको छ । र, तल्ला कमिटीले त्यसको अपनत्व गर्न पाएका छैनन् ।
तीनै निर्वाचनपश्चात् देशकै ठूलो पार्टी बनेको नेकपा एमालेले निर्वाचनको औपचारिक समीक्षासमेत गर्न नसकेको भन्दै कार्यकर्ताहरूले नेतृत्वको आलोचनासमेत गरेका छन् ।
पछिल्लो समय वैशाख ६ र ७ गते पोलिट्व्युरो र केन्द्रीय कमिटीको बैठक डाक्ने तयारी एमालेले गरेको भए पनि पार्टी एकता पर धकेलिएका कारण बैठक बस्न नसकेको पार्टी उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार बैठक नबस्दा निर्णय प्रक्रिया प्रभावित भएको छ । त्यस्तै ससंदीय ‘मोर्चा’मा विजय हासिल गरेका नयाँ अनुहारलाई संसदमा खेल्नुपर्ने भूमिकाका विषयमा समेत अनुशिक्षित गर्न पाइएको छैन ।
“पार्टी एकताबारे छलफल लम्बिँदा हाम्रो नियमित बैठक पनि बस्न सकेको छैन,” उनको भनाइ थियो । उनले छिट्टै स्थायी कमिटीको बैठक बस्ने र त्यसपछि केन्द्रीय कमिटीको बैठकको मिति तय हुने विश्वाससमेत व्यक्त गरे ।
कमिटीको आकार ठूलो, निर्णय साँघुरिँदै
पोलिट्व्युरो र केन्द्रीय समितिको बैठक नबस्दा आफ्ना कुरा राख्न नपाइएको गुनासो कमिटीका सदस्यले गर्न थालेका छन् । पोलिट्व्युरो सदस्य टंक कार्कीले पार्टीको आकार ठूलो बन्दै गएको तर निर्णय प्रक्रिया साँघुरो बन्दै गएको भन्दै कटाक्ष गरे ।
“जनवादी केन्द्रीयता र लेनिनवादी संगठनात्मक सिद्धान्त दस्तावेजमा सीमित भएको छ,” उनले भने, “निर्णय प्रक्रिया नेतृत्वको ‘सेल्फ सेन्टर्ड’ तहमा पुगेको छ ।” उनले नेतृत्वका नाममा पार्टी कब्जा गर्ने र सामाजिक उद्देश्य छाडेर फगत नेता बन्ने परिपाटी मौलाएको भन्दै असन्तोष व्यक्त गरे ।
“हामीले नेताका नाममा पशुपति, स्वयम्भू, चाँगुनारायण खडा गरेका छौँ, तिनैका वरपर धूपआरती गरिरहेका छौँ । सामाजिक उद्देश्य र आन्दोलनबाट क्रमशः विमुख हुँदैछौँ,” उनले थपे ।
उनले लेनिनका पालादेखि नै कम्युनिस्ट प्रजातान्त्रिक अभ्यासमा रहेको बताउँदै बैठक, छलफल, विमर्शले त्यसको पुष्टि गर्ने बताए । नियमित बैठक नगर्ने, आफ्ना कुरा राख्न नदिने हो भने कार्यकर्ता अराजक बन्दै जानेतर्फ नेतृत्वको ध्यानाकर्षणसमेत उनले गराए ।
‘मदनको फोटो बोकेर कार्यकर्ताको तेजोवध !’
कार्कीले पछिल्लो समय राजनीतिक, सैद्धान्तिक विचार–विमर्श संस्कृति धूमिल बन्दै गएको भन्दै जनताको बहुदलीय जनवादको अनुयायी बन्ने नाममा मदन भण्डारीको फोटो झोलामा बोक्नेहरु बढेको बताए ।
“जनताको बहुदलीय जनवादी विचार पढेकै छैन । मदनको अनुहार चिनेको छ, उनको फोटो झोलामा हालेको छ,” उनले भने, “फोटो नबोक्ने र विचारको अनुशरण नगर्ने पछि पारिएका छन्,” उनको भनाइ थियो ।
उनले कम्युनिस्ट आन्दोलनमा विभिषणजस्ता पात्र र प्रवृत्ति मौलाएको भन्दै यसले दुर्घटनासिवाय केही ननिम्त्याउने भन्दै चिन्ता व्यक्त गरे ।
‘धनकुवेर बढे’
पार्टीमा पैसा र पहुँचकै बोलवाला बढेको भन्दै पैसाको थैली नहुनेले नेतृत्वमा दाबी नगरे पनि हुने अवस्था आएको भन्दै चिन्ता उनले व्यक्त गरे । उनले पुष्पलाललाई खराब देख्ने प्रवृत्ति अझै कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति बनेको जिकिर गर्दै सिद्धान्त, विचार, जनवादी केन्द्रीयता पन्छाएर फगत नेतृत्वमा पुग्ने लालसा बोकेको आन्दोलनले कतै नपुर्याउने तर्क गरे ।
“छलफल, बैठक, विचार–विमर्शबाट पार्टीलाई विमुख बनाउँदै लैजाने हो भने हामी कहाँ पुग्छौँ, आन्दोलनको अवस्था के हुन्छ ?,” उनको प्रश्न थियो ।
उनले नेतृत्वले मातहतका सदस्यलाई निर्णयको साक्षीमात्र बनाउन खोजेको र आफ्ना उद्देश्यबाहक मात्र बनाएकाले जतिसुकै ठूलो केन्द्रीय कमिटी भए पनि आन्दोलनले गति लिन नसक्ने जिकिर गरे ।
एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले केन्द्रीय कमिटीको बैठक लामो समयदेखि बस्न नसकेकाले केन्द्रीय सदस्यहरू ‘बेरोजगार’ भएको टिप्पणी गरे । “लामो समय भयो केन्द्रीय कमिटीको बैठक बस्न सकेको छैन । पार्टीका निर्णय पनि सञ्चारमाध्यमबाट सुन्नुपर्ने अवस्था बनेको छ,” उनको भनाइ थियो ।
उनले पछिल्लो समय निर्वाचन, एमाले–माओवादी केन्द्रबीच एकता प्रक्रिया चलिरहेको लगायत दूरगामी महत्त्वका परिघटना भए पनि त्यसबारेमा कुनै छलफल गर्न नपाइएको र आफ्ना कुरा राख्न नपाएको दुखेसो व्यक्त गरे । ६–६ महिनामा केन्द्रीय कमिटीको बैठक बस्नुपर्ने विधानमा व्यवस्था भए पनि डेढ वर्षदेखि बैठक बस्न नसकेको भन्दै विधान बेवारिसे बनेको उनले बताए ।
“पार्टीभित्र कहाँ के भइराखेको छैन, हामी नै अनभिज्ञ छौँ, जानकारी नै पाइँदैन । केन्द्रीय कमिटीको बैठक बसे त्यहाँ कुरा राख्न पाइन्थ्यो,” उनको आग्रह थियो । बैठकले नै मातहतका सदस्य कामकाजी बन्ने भन्दै उनले नियमित बैठक नहुँदा आन्दोलन भुत्ते बन्दै गएको टिप्पणी गरे ।