काठमाडौं । नेपाल प्रहरीका बहालवाला एसपी र पूर्वडीआइजी नै पक्राउ परेपछि गत माघमा भित्रिएको भनिएको ३३ किलो सुन प्रकरण झनपछि झन रहस्यमय बन्दै गएको छ । २ जनाको ज्यान गइसकेको ३३ किलो सुनका मुख्य तस्कर गोरे भनिने चुडामणि उप्रेतीसँग ‘कनेक्सन’ रहेको आरोपमा मंगलबार मकवानपुर प्रहरीका एसपी विकासराज खनाल पक्राउ परेका छन् ।
गृहले गठन गरेको छानबिन समितिले खनाललाई पक्राउ गर्दै थप अनुसन्धानका लागि नेपाल प्रहरीको १ नम्बर गण काठमाडौंमा राखेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
यसअघि मंगलबार खनालको बयान लिइएको थियो भने आज पनि बयान गरिने गृह स्रोतले बतायो । यस्तै बयानकै लागि बोलाइएका इलाका प्रहरी कार्यालय धरानका डीएसपी सन्जय राउत भने बयानकै क्रममा सम्पर्कविहीन भएको स्रोतले जानकारी दिएको छ ।
उनको बयान लिँदालिँदै एकछिन बाहिर जान्छु भनेर हिँडेपछि सम्पर्कमा नआएको स्रोतले जानकारी दियो ।
एसपी खनाल र डीएसपी राउत दुवै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि बसेका थिए । ३३ किलो सुन प्रकरणमै नेपाल प्रहरीका पूर्वडीआइजी गोविन्द निरौला पनि पक्राउ परिसकेका छन् । यस्तै अपराध महाशाखाका कार्यरत प्रहरीका असई पनि पक्राउ परेका छन् । गृहस्रोतका अनुसार ३३ किलो सुन प्रकरणमा नेपाल प्रहरीका अवकासप्राप्त अन्य केही अधिकारी पनि अनुसन्धानको घेरामा छन् । गृह स्रोतले भन्यो, “अनुसन्धानमा रहेकाहरुलाई बयानका लागि बोलाउन सकिन्छ ।”
यस प्रकरणमा २ जना डीएसपी तानिइसकेका छन् ।
युएइबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर माघ ९ मा भित्रिएको साढे ३३ किलो सुन हराएको घटनामा एकजनाको हत्या र २ जनाको शंकास्पद मृत्यु भएपछि गृहले गम्भीरतापुर्पक घटनाको अनुसन्धान गरिरहेको सुरक्षा अधिकारी बताउँछन् ।