काठमाडौं । केही वर्षयता संख्यात्मक रुपमा मात्रै नभई गुणात्मक रुपमा पनि महिलाको साहित्यमा हस्तक्षेपपूर्ण उपस्थिति रहँदै आएको छ । २०७४ साललाई फर्केर हेर्ने हो भनेपनि पुरुषको तुलानामा महिला साहित्यकारहरुका धेरै कृति बजारमा आएका छन् । केही समय पहिलासम्म महिलाले लेखेका कृतिहरु त्यति स्तरीय हुँदैनन् भनेर दाबी गर्नेहरुले पनि यतिखेर महिला साहित्यकारहरुलाई राम्रो नजरले हेर्ने गरेका छन्, जुन महिला साहित्यकारहरुका लागि खुशीको कुरा हो ।
केही महिला साहित्यकारहरुलाई साहित्य रचना गर्न सहज भएपनि अधिकांश महिला साहित्यकारहरुलाई भने घर व्यवहार सम्हाल्दै साहित्यलाई पनि समय दिन सहज भने पक्कै छैन । त्यसका साथै साहित्य रचनामात्रै गरेर जीवन गुजारा गर्न पनि गाह्रो पर्ने कतिपयको भनाइ छ । “अझै पनि समाजमा साहित्य रचना गरेर मात्रै साहित्यकारहरु बाच्न सक्ने अवस्था आइसकेको छैन,।” तोदा उपन्यासकी लेखिका साहित्यकार उमा सुवेदी भन्छिन्, “केही लेखक तथा साहित्यकारहरुले लेखेरै घर घडेरी जोड्नुभएको छ भन्ने पनि सुनिन्छ तर मलाई लाग्छ उहाँहरु अपवादमै पर्नुहुन्छ ।” साहित्य लेखेरै हरेक दिन कसैको चुलो बल्न थाल्यो भने मात्रै बल्ल साहित्यको माध्यमबाट गुजारा गर्न सकिन्छ भन्ने कुरामा आफू विश्वस्त रहन सक्ने उनी बताउँछिन् । उमा सुवेदी यतिखेर आफ्नो तेस्रो उपन्यासको तयारीमा छिन् ।
‘वल्लीको डायरी’ र ‘ह्वाइट केन’ उपन्यासकी लेखिका मनिषा गौचनको भने फरक विचार छ । साहित्य रचनाको लागि धेरै साधना चाहिने र महिलाले साहित्य साधनाको लागि चाहिने जति समय दिन नसकेको उनको गुनासो छ । उनी भन्छिन्, “साहित्यमा अलि बढी समय दिने हो भने महिलाहरु अहिलेको भन्दा पनि अब्बल बन्न सक्छन् ।” तर महिलालाई साहित्य रचना गर्नकालागि उचित वातावरण पाउन पनि मुस्किल पर्ने गरेको उनी बताउँछिन् ।
‘फिफ्टिन एण्ड थ्री क्वार्टस’ की लेखिका ऋचा भट्टराईलाई नेपाली साहित्य जगतमा महिलाको लेखनको स्तर र गति देखेर आशा लाग्न थालेको छ । गैरआख्यान र आख्यानका प्रकाशन त भईहाले तर त्यसबाहेक फुटकर रुपमा पत्रपत्रिकामा आउने लेख रचना र विचारले पनि महिलाहरुलाई उत्साहित बनाउने गरेको उनको धारणा छ । उनी भन्छिन् “हाम्रा अग्रज महिला साहित्यकारहले संघर्ष गरेर स्थापित गरेको महिला लेखनलाई अघि बढाउन प्रखर साहित्यकारहरु लागिपरेका छन् ।” यद्यपी अधिकांश महिला साहित्यकारहरुलाई घर व्यवहार सम्हाल्दै साहित्य लेखनमा लाग्न अझै पनि गाह्रो पर्ने गरेको उनी बताउँछिन् । उनलाई भने परिवारले नै लेखनमा प्रोत्साहन गर्ने र आफ्नो खासै त्यस्तो केही जिम्मेवारी नभएको कारणले गर्दा पनि आफूलाई साहित्य सिर्जना गर्न सहज हुने गरेको उनी बताउँछिन् । “एउटा आमा वा बुहारीबाट अपेक्षा गरिने भूमिका निर्वाह गरेर लेखन कार्यमा लाग्ने कुरा त मलाई सोच्दा पनि अत्यास लाग्छ,” उनले भनिन्
पछिल्लो चरणमा महिला लेखन एकदमै उर्वर भएर आएको ‘नथिया’उपन्यासकी लेखक सरस्वती प्रतिक्षाको भनाइ छ । “महिलाहरुले कमजोर लेख्छन् त्यसैले उनीहरुको किताव बजारमा अस्विकार हुन्छन् भन्ने पूर्वमान्यतालाई अहिले समयले तोडिदिएको छ,” उनी भन्छिन्, “एउटा महिला साहित्यकार बाहिरबाट हेर्दा नदेखिने तर हिँड्न खोज्दा रोक्ने थुप्रै सांग्लाहरुले बाँधिएका हुन्छन् ।” घर परिवार, बच्चा र अन्य कामहरुले गर्दा फुक्काफाल भएर सिर्जनामै मात्र एकोहोरिन पनि महिला साहित्यकारहरुलाई असम्भव रहेको उनी बताउँछिन् ।
विगतका दिनहरुमा महिला साहित्यकारले आफूले लेखेका किताव आफ्नो झोलामै राखेर बाड्दै हिड्ने अवस्था थियो भने यतिखेर महिला साहित्यकारहरुले लेखेका किताव पढ्ने पाठकहरु पनि प्रशस्तै भेटिन्छन् ।