काठमाडौं । काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरलाइन्सको विमान गएराति विमानस्थलमा चिप्लिएर धावनमार्ग छाडेपछि रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहेको छ ।
राति पौने १० बजे मलेसियाको क्वालालम्पुरका लागि उड्न लागेको विमान धावनमार्ग छाडेर करिब १५० फिट चौरतर्फ जोतिएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । उनका अनुसार उक्त जहाज त्यहाँबाट नहटाएसम्म अन्तर्राष्ट्रिय उडान कुनै पनि हुन सक्ने अवस्था छैन । राति पौने १० बजेदेखि नै अन्तर्राष्ट्रिय उडान ठप्प भएको उनले जानकारी दिए ।
चालक दलका सदस्यसहित १३९ जना यात्रु रहेको जानकारी दिँदै उनले सबै यात्रु सकुशल रहेको जानकारी दिए । मालिन्दो एयरको विमान बोइङ ७३७–९ जीपी (इआर) कोटेश्वरतर्फको धावनमार्गमा चिप्लिएको प्रवक्ता ठाकुरले जानकारी दिए । उडान नम्बर #MXD181 का सबै यात्रु सकुशल रहेका छन् ।