site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
क्रिकेट विकासमा बाधक : व्यक्तिगत स्वार्थ

नेपाली क्रिकेटले करिब तीन करोड जनताको मनमा बास पाएको छ । पछिल्लो समयमा त्यहीअनुसारको नतिजा पनि खेलाडीहरुले ल्याएका छन् । नेपाल अहिले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउन सफल भएको छ । यो उपलब्धि दिलाउने खेलाडी राष्ट्रका गहना हुन् । तर खेलाडी नायक बन्न पुग्दा क्यान पदाधिकारी भने खलनायकको रुपमा परिचित भए । यसको पछाडिका कारण धेरै होलान् तर सरसर्ती हेर्दा देखिएको यही हो ।

नेपाल क्रिकेट संघ (क्यान)लाई पदाधिकारीले कमाइ खाने भाँडो बनाउँदा नराम्ररी दलदलमा फसेको थियो र अझै छ पनि । क्यान पदाधिकारीले आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर राज गर्न खोज्दा क्यान २०७२ सालदेखि निरन्तर क्रिकेटको प्रमुख निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट निलम्वनमा परेको छ ।

यही वैशाख ६ र ७ गते क्यानको विशेष साधारण सभा हुदैछ । यही विशेष साधारण सभाले सम्भवतः नेपाली क्रिकेटको भविष्य कोर्नेछ । किनभने यो विशेष साधारण सभाबाट सल्लाहकार समितिले बनाएको विधान अनुमोदन भए क्यानको निलम्वन फुकुवा, जिल्ला, प्रदेश र केन्द्रको चुनाव गराउने बाटो पनि खुल्छ । त्यसो नभई विशेष साधारण सभाले पुनः एक पटक विधान संशोधन गरेमा करिब ३० वर्षे लामो आईसीसीको सदस्यता नेपालले गुमाउने निश्चितजस्तै छ । यसअघि गत वर्षको माघ १३ गते आईसीसीका उपाध्यक्ष इमरान ख्वाजासहितको टोली नेपाल आएर क्यान, सल्लाहकार समिति र सरकारसँग छलफल गरेर फर्केका थिए । त्यसबेला नेपाललाई यो अन्तिम मौका भएको भन्दै छिटो विवाद अन्त्य गर्न निर्वाचित क्यानलाई उपाध्यक्ष ख्वाजाले भनेका थिए । 

Dabur Nepal
NIC Asia

आईसीसी र क्यानबीचमा निर्वाचित १७ सदस्यीय कार्यसमितिले निर्वाचनमा भाग लिन नपाउने, क्यानको निर्वाचन गराउन ५ सदस्यीय मनिटरिङ कमिटि बनाउने, सल्लाहकार समितिले बनाएको क्यानको विधान अनुमोदन गर्ने विषयमा सहमति भएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले सल्लाहकार समिति र निर्वाचित क्यानलाई राखेर माघ १६ गते मंगलबार पत्रकार सम्मेलन नै गरी सबै कुरा मिलेको बताएको थियो । 

अझै पनि शंका गर्ने ठाउँ भने प्रसस्तै देखिन्छ । किनभने यसअघि पनि सल्लाहकार समितिसँग पटकपटकको छलफलपछि निर्माण भएको विधान भदौ ६ र ७ गते भएको क्यानको विशेष साधारण सभाले अनुमोदनको साटो संशोधन गरेको थियो । त्यही संशोधनको विषयमा आईसीसीले कडा प्रतिक्रिया जनाउँदै क्यानलाई स्पष्टीकरण नै सोधेको थियो । यसरी अघिल्लो घटनाक्रमलाई नियाल्ने हो भने पनि यसपटक त्यस्तै पवृत्ति नदोहोरिएला भन्न सकिन्न ।

पछिल्लोपटक निर्वाचित क्यानको अभिव्यक्तिले पनि कताकता त्यस्तै घटनाको संकेत गर्छ । वैशाख ४ गते निर्वाचित क्यानले गरेको पत्रकार सम्मेलनमा महासचिव अशोकनाथ प्याकुरेलले हामी जिल्लाका प्रतिनिधिलाई सम्झाउने कोसिस गर्छौँ तर एजीएमले जे भन्छ त्यही हुन्छ भनेका छन् । यो अभिव्यक्तिले आईसीसीसँग भएको सहमति बिर्सेको संकेत दिन्छ । 

गत वर्षको चैत्र ११ गते नेपाली क्रिकेटका चारजना पूर्व कप्तान र वर्तमान कप्तानले नेपाली क्रिकेटको गभर्निङ बडी तत्काल चाहिएको बताउदै क्यानको नेतृत्व गर्न नसके छोडिदिन अनुरोध गरेका थिए । हुन त पूर्व कप्तानहरू र वर्तमान कप्तान चिन्तित बनिनु स्वभाविक नै हो । आईसीसीले पनि क्यानमा स्वच्छ छवि भएका व्यक्ति आउन् र दलगत राजनीति क्यानमा सधैँका लागि अन्त्य होस् भन्नका लागि विधान निर्माणको लागि सल्लाहकार समितिलाई जिम्मा दिएको थियो । 

नेपाल क्रिकेटको विवाद भने पहिले पनि नभएको होइन । तर २०७२ साल मंसिर २८ र २९ गते काठमाडौंमा भएको अधिवेशनपछि विवादले उग्ररुप लिएको थियो । त्यसबेला तत्कालीन उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेललगायतको पक्षले चुनाव गराए भने तत्कालीन अध्यक्ष टंक आङबुहाङको पक्ष भने कोठे निर्णय गरेको भन्दै राष्ट्रिय खेलकुद परिषद्को शरणमा पुगे । आफँै अध्यक्ष भएर आफ्नै संघको समस्या समाधान गर्नतर्फ नलागी आङबुहाङ राखेपलाई गुहार्न पुग्नु लज्जास्पद  थियो ।

क्यान निलम्वन हुनुको दोष तत्कालीन अध्यक्ष टंक आङबुहाङ, उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव असोशनाथ प्याकुरेल पक्षलाई नै जान्छ । किनभने व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर क्यानको नेतृत्व लिन खोज्दा विवाद देखिएको थियो । त्यो विवाद राखेपसम्म पुगेपछि तत्कालीन सदस्यसचिव केशवकुमार विष्टले वैधानिकता नभएको भन्दै रमेश शिलवालको नेतृत्वमा तदर्थ समिति बनाएका थिए । विष्टले राखेपको सदस्य सचिवको पद भारग्रहण गर्दै गर्दा क्यानको विवाद ३ महिनामा मिलाउने ठोकुवा नै गरेका थिए । तर, उनैले क्यानलाई निलम्वनतर्फ धकेलिदिए । अहिले त्यही कारणले दूर्दशा नेपाली क्रिकेटले भोगी रहेको छ । त्यसपछि आईसीसीले सरकारको हस्तक्षेप मान्य नहुने र क्यानमा विवाद भएको भन्दै निलम्वन गरेको थियो ।

क्यान निलम्बन हुनुको मुख्य दोषी को ? भनिरहनै पर्दैन । तर, यसको निराकरण भने अहिलेसम्म पनि भएको छैन । अझै पनि नेपाली क्रिकेटर र समर्थकलाई चिन्ताकै विषय बनेको छ कतै फेरि विधान संशोधनकै नाटक मञ्चन हुने त होइन ?
नेपालले अहिले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र हो । यो आईसीसीले मायाले दिएको उपलब्धि होइन । यो त नेपाली क्रिकेटरको अथक प्रयास र परिश्रमले हासिल गरेको ऐतिहासिक फड्को हो । तर, यसपछिको पाटो भने क्यानसँग नै जोडिन आउँछ । अहिले क्यान निष्क्रिय रहेको अवस्थामा नेपालले पाएको यो उपलब्धि अब के होला ? टेस्ट नेसन राष्ट्रसँग ५० ओभरको एक दिवसीय खेल खेल्ने हैसियत अहिले नेपालको भएको छ तर क्यान नहँुदा यसको अर्थ के ?

क्यानलाई अन्तिम मौका छ – विशेष साधारण सभाबाट आईसीसीको सल्लाहकार समितिले बनाएको विधान अनुमोदन गरेर नेपाली क्रिकेटलाई जीवित राख्ने । यो विषयमा गम्भीर भएर क्यान लाग्नै पर्छ । निर्वाचित क्यानको नेतृत्व गरेका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेल इमानदार भएर अघि बढ्नै पर्छ । नत्र क्यानको अस्तित्व यहीँ समाप्त हुनेछ । कुनै लोभ लालच नराखी, व्यक्तिगत स्वार्थलाई त्यागेर नेपाली क्रिकेटको भविष्य उज्वल बनाउने अहिलेको आवश्यकता हो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०७५  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro