काठमाडौं । अमेरिका पठाइदिने भन्दै करिब ३ सय जनालाई ठगी गरेको अभियोगमा काठमाडौं प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
समाजसेवा र महिला सशक्तिकरणका लागि खोलिएको एक संस्थाकी अध्यक्ष सुधा बस्नेतसहित ४ जनाले करिब ३ सय जनालाई अमेरिका पठाइदिने भनी रकम उठाएको पाइएपछि पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता मोहन थापाले जानकारी दिए ।
उनीहरुले कम्तिमा १० करोड ठगेको पाइएको छ । सुधासहितको समुहले ‘ओमेन्स ड्रिम्स व्युटि एण्ड मल्टी सर्भिस’ नामको एक कम्पनी खोलेका थिए ।
सुरुमा यो कम्पनीले महिलाको सीप विकासका लागि रचनात्मक कार्य गर्ने बताइएको थियो । केही महिलालाई सीपमुलक काममा लगाएको पनि पाइएको छ । तर उनीहरुले बिस्तारै अमेरिका पठाइदिने एजेन्टको रुपमा काम गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।
वालुवाटारमा ‘ओमेन्स ड्रिम्स व्युटि एण्ड मल्टी सर्भिस’ नामको कार्यालय राखेर बनाइएको संस्थाबाटै सुधासहितको समूहले अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिहरुसँग रकम लिन थालेको उजुरी प्राप्त भएपछि पक्राउ गरिएको प्रहरीले जानकारी दियो । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुले झण्डै ३ सय जनाबाट ऋण लिएको कागज बनाएर ७ लाखदेखि १५ लाखसम्म लिएर १० करोड रकम उठाएका छन् ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता मोहन थापाले पीडितको उजुरीपछि बस्नेतसहित ४ जनालाई पक्राउ गरिएको जानकारी दिए । आफुले पैसा दिँदा पनि अमेरिका उड्न नपाएपछि पीडितहरु प्रहरीको सम्र्पकमा आएका थिए ।