काठमाडौं । नेपाल प्रहरीको २६ औं प्रमुख बनेकासर्वेन्द्र खनाल प्रहरीभित्र व्यावसायिक प्रहरी अधिकृत मानिन्छन् । सर्वेन्द्र खनाल नेपाल प्रहरीमा चर्चित प्रहरी अधिकृत हुन् । उनै खनाललाई मंगलबार सरकारले प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।
डीआईजी रहेका खनाललाई मंगलबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो । चैत २९ गतेबाट खनालले नेपाल प्रहरीको कमान्ड सम्हाल्नेछन् । नेपाल प्रहरीमा २०४६ मा प्रहरी निरीक्षक (इन्सपेक्टर) बनेका थिए ।
सेवाका क्रममा उनी जहाँ–जहाँ कमान्ड गर्न पुगे त्यहाँ चर्चा बटुले । नेपाली फुटबल म्याच फिक्सिङ सर्वेन्द्र खनालका धेरै काममध्येको ठूलो सफलता थियो ।
खेलको सौदाबाजी गर्ने राष्ट्रिय फुटबल टिमका कप्तान सागर, विकास क्षेत्री, सन्दीप राई, रितेश थापा र अन्जन क्षेत्रीलाई महाशाखाको टोलीले कानुनी कठघरमा उभ्यायो ।
जमिम शाहको हत्यारा पक्राउ खनालले महाशाखाको कमान्ड सम्हालेको बेला भएको थियो ।
२०६६ मा संचार उद्यमी जमिम शाहको हत्या भयो । खनालको टोलीले जमिम हत्याकाण्डका आरोपित जगदिश चन्दलाई पक्राउ गर्न सफल भएको थियो ।
२०६० सालमा ललितपुरको बडिखेलमा एउटै परिवारका ५ जनाको विभत्स ढंगबाट हत्या भयो । त्यो घटनाको हत्यारा चन्द्रबहादुर पहरीलाई खनालकै टोलीले समात्न सफल भएको थियो ।
अवैध धन्दा गर्ने कन्सलटेन्सीहरुमा उनको टोलीले छापा हान्यो । त्यो छापापछि अवैध रुपमा विदेश पठाउने र कारोबार गर्ने दर्जन बढी कन्सलटेन्सी बन्द भए । कतिपयलाई समातेर प्रहरीले मुद्दा पनि चलायो ।
त्यो प्रकरणमा कन्सलटेन्सी व्यावसायिले खनालको सरुवाको माग पनि गरे ।
सर्वसाधारणको करोडौं रुपैयाँ ठगी गरेर फरार भएका युनिटी लाईफ इन्टरनेशनल लिमिटेडका सञ्चालक विष्णुबहादुर क्षेत्री र कृष्ण बहादुर क्षेत्रीलाई खनालकै टोलीले पक्राउ गर्यो ।
नाकाबन्दीको फाईदा उठाउँदै कालोबजारी र ठगी गर्नेलाई बचाउँदै आएका सरकारका सहसचिव पनि सर्वेन्द्रको जालोमा परेका थिए । पम्प सञ्चालकहरुले तेलको मात्रा कम गरी बच्ने उपकरणहरु रिमोट, रिसिभर, डिभाईस, गियर, स्विच, कोड र सेफ्टी पिन जडान गरी उपभोक्ता ठग्नेलाई खनालको टोलीले पक्राउ गर्यो ।
१ सय लिटर तेल हाल्दा मिटरमा १ सय लिटर देखिए पनि केही कम हुने गरेको प्रहरीको अनुसन्धानपछि खुलेको थियो । कालोबजारी गरेकै आरोपमा त्यतिबेला सरकारका सहसचिव तथा नापतौल विभागका प्रमुख रामआधार साह पक्राउ परे । योबाहेक खनालले जनकपुर, पर्सा लगायतका तराइका नमा बस्दा गुण्डागर्दी, तस्करी नियन्त्रण गर्न भूमिका खेले । त्यही समयमा उनले कुख्यात भारतीय अपराधी बब्लु दुबेलाई पक्राउ गरे । खनाल नेपाल प्रहरी संगठनको नीति निर्माण तह तथा व्यवस्थापकिय कार्यमा पोख्त मानिन्छन् ।