काठमाडौँ । एमाले– एमाओवादी केन्द्रबीच पार्टी एकता नभए एमाले उपाध्यक्ष वामदेव गौतम सक्रिय राजनीतिबाट बिदा हुने समय आइसकेको थियो ।
नेकपा एमालेको नवौं महाधिवेशनमा पारित विधानमा सक्रिय राजनीतिका लागि ७० वर्षको उमेरहद तोकिएको छ ।
तर गौतम ७० वर्ष नाघिसकेका नेतामा पर्छन् । केही वर्षपछि अन्य धेरै नेता अवकास भइसक्ने थिए ।
विधानतः एमालेको महाधिवेशन ५–५ वर्षमा हुने गर्छ र आगामी ७५ सालभित्र ७० वर्ष पुगेका एमाले नेताहरूले स्वतः राजनीतिक अवकास पाउनेछन् ।
तर, एमाले–माओवादी केन्द्रले पार्टी एकताको तयारीका लागि प्रस्तावित विधान मस्यौदामा भने उक्त उमेर हदको व्यवस्था हटाइएको छ ।
विधान मस्यौदा समितिका सदस्य वेदुराम भुषालले सघन छलफलपश्चात उमेरहदको प्रस्ताव हटाएको जानकारी दिए । “पार्टी एकीकरणको वृहत चरणमा छौँ । सबैका अनुभव र योगदानलाई एकीकृत पार्टीको हिस्सा बनाउनु छ, हामीले उमेरको सीमा राखेका छैनौँ,” उनले भने ।
उनले आगामी महाधिवेशनमा यो कुरा लैजान सकिने बताउँदै यस पटकका लागि प्रावधान हटाइएको बताए । उनले उमेरमा हदबन्दी लगाउनुपर्ने प्रस्ताव आएको भए पनि अन्तिम मस्यौदामा त्यसलाई नराखिएको प्रष्ट पारे ।
कसको उमेर कति ?
एमालेमा नेतृत्वको उपल्लो तहमा रहेका वामदेवबाहेक कुनै पनि नेताको उमेर ७० वर्ष पूरा भएको छैन । अध्यक्ष केपी शर्मा ओली ६६ वर्षका भए । वरिष्ठ नेता झलनाथ खनालको उमेर ६७ वर्ष हो भने अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पनि ६५ वर्षका भए । त्यस्तै एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको उमेर पनि ६५ भित्रै छ ।
यता माओवादी केन्द्रको नेतृत्व तहमा रहेका नेता कोही पनि ७० वर्ष सन्निकट छैनन् । अध्यक्ष प्रचण्डको उमेर ६३ भयो भने दोस्रो र तेस्रो तहका नेताहरूको उमेर ६३ भन्दा तलै छ ।
प्रधानमन्त्री आएपछि मात्रै एकताको बाँकी काम
एमाले स्थायी कमिटीका एक सदस्यले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएपछि मात्रै एकताले गति लिने बताए ।
“प्रधानमन्त्रीज्यू भारत भ्रमणबाट आएपछिमात्रै एकताले गति लिन्छ, यस बीचमा केही तयारी भएको छैन । दुवै कार्यदलले दिएका सुझावबारे विस्तृत छलफल पनि फर्किएपछि मात्रै हुन्छ,” उनले थपे ।
यद्यपि चैत २२ गत प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले आगामी वैशाख ९ गते पार्टी एकता गर्ने र दुवै पार्टीले आवश्यक तयारी गर्ने जानकारी नारायणकाजी श्रेष्ठले दिएका थिए ।
मिल्न बाँकी के–के हुन् ?
‘जनयुद्ध’ शब्दलाई विधानको प्रस्तावनामा राख्ने नराख्ने, चुनाव चिह्न सूर्य, सूर्यभित्र हँसिया–हथौडा राख्ने या तेस्रो रोज्ने र केन्द्रीय कमिटीमा बराबरी प्रतिनिधित्वको विषयमात्रै टुंगिन बाँकी रहेको बताइएको छ ।
तर, विधानमा ‘जनयुद्ध’ नराख्न माओवादी केन्द्र सहमत भइसकेको एमालेका एक नेताले बताए । त्यस्तै सूर्य चुनाव चिह्नमा पनि उसको त्यति ठूलो आपत्ति छैन ।
“प्रचण्डको व्यवस्थापन भए पनि केन्द्रीय कमिटीमा बराबरी हैसियतमा भागवण्डा हुनुपर्ने मत माओवादी केन्द्रभित्र सुनिन्छ, मिल्न बाँकी विषय यही हो,” ती नेताले जानकारी दिए ।