काठमाडौं । अस्थायी मुकाम तोकिएको हेटौंडाले नै ३ नम्बर प्रदेशको मुख्यमन्त्री पाउने भएको छ । हेटौंडा मेयरसमेत रहेका डोरमणि पौडेलले प्रदेश संसदीय दलको नेतामा जित हात पारेसँगै हेटौंडाले नै मुख्यमन्त्री पाउने पक्कापक्की भएको हो ।
शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान भवन, ललितपुरमा भएको निर्वाचनमा कुल ५८ मतमध्ये ३४ मत ल्याएर पौडेल दलको नेता चुनिए भने प्रतिस्पर्धी एमाले उपाध्यक्ष एवम् प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य १० मतले पछि परिन् ।
संविधानतः बहुमत प्राप्त संसदीय दलको नेता नै मुख्यमन्त्री चुनिने प्रावधान छ । ११० सदस्यीय प्रदेशसभामा एमाले एक्लैको बहुमत (५८ सदस्य) छ । दोस्रो दल रहेको माओवादी केन्द्रको २३ मतसमेत मिलाउँदा वाम गठबन्धनको दुई तिहाई नै पुग्छ । त्यसैले पौडेल मुख्यमन्त्री बन्ने पक्का भएको हो ।
कसरी चुनिए पौडेल ?
२०४९ र २०५४ मा गरी दुईपल्ट हेटौंडा नगर प्रमुख चुनिएका व्यक्ति हुन् पौडेल । वयोवृद्ध र नेकपा एमालेको राजनीतिमा ‘सिन आउट’ भइसकेका पौडेल जेष्ठ सदस्यको हिसाबले प्रदेशसभाको अध्यक्षता गरिरहेका थिए । र, उनको चर्चा पनि सभामुखमै थियो ।
तर, पौडेलले नै एकाएक दलको नेता चुनिएर मुख्यमन्त्री बन्ने बाटो खोले । प्रदेशसभा सदस्यमा मकवानपुर– १ (ख)बाट निर्वाचित पौडेल पछिल्लो समय राजधानीमै बसेर मुख्यमन्त्रीमा भित्रभित्रै लविङ गरिरहेका थिए । विशेषतः हेटौंडा प्रदेशको अस्थायी राजधानी बनेयता उनको सक्रियता बढेको हो ।
अन्तिम समयसम्म पनि पौडेल चुनाव जित्नेमा विश्वस्त थिएनन् । मनोनयनपत्र दाखिला गरिसक्दासम्म पनि उनी हतास थिए । तर, ओली निकट ३ नम्बर प्रदेशसभा सदस्यहरूले डोरमणिलाई उमेदवार बनाउन दबाब दिएपछि ओलीको समर्थन पौडेलले पाएका हुन् ।
प्रदेशको राजधानी हेटौंडा बनाइएको एमालेभित्रका प्रदेशसभा सदस्य सन्तुष्ट छैनन् । मुख्यमन्त्री पनि हेटौंडालाई दिँदा काठमाडौँलगायत आसपासका जिल्लाको साथ नपाउने भय उनलाई थियो । तर, ओली निकटहरूले पोलिटब्युरो वैकल्पिक सदस्य एवं काठमाडौं¬–२ (क) बाट निर्वाचित सानु श्रेष्ठलाई सभामुख बनाउने र काठमाडौँका पूर्वमेयर केशव स्थापितलाई प्रभावशाली मन्त्रालय दिने आश्वासन दिएपछि ओली पक्षको सबै मत सुरक्षित भएको हो । काठमाडौँको १६ मतमध्ये अधिकांश मत पौडेलकै पक्षमा खसेपछि पौडेलको दलको नेता बन्ने सपना पूरा भयो ।
उता, प्रतिस्पर्धी शाक्य पनि चुनाव जित्नेमा विश्वस्त थिइन् । पार्टी उपाध्यक्ष, महिला, नेवार समुदायकी, प्रदेश संयोजक तथा सबै बरियताले माथि रहेकाले क्रस भोट पाउने आशा उनको थियो । तर, जित्न पुग्ने मत आएन ।
मुख्यमन्त्री बन्ने अभिप्साले पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे ओली क्याम्पको ढोकामा पुगेका थिए । तर, उनले त्यहाँबाट टिकट पाउने कुनै सम्भावना नदेखिएपछि ‘हार्ने चुनाव किन उठ्ने ?’ भन्दै अन्तिम समयमा उमेदवार नबन्ने निधो गरे । पाण्डेले अष्टलक्ष्मीलाई सघाउने आश्वासन त दिए, तर मैदानमा उपस्थिति देखाएनन् र शाक्य पछि पर्ने कारण यो पनि हो । “टिकट नपाउने निश्चित भएपछि दुई चार दिनअघि नै पाण्डेले शाक्यलाई समर्थन गर्छु भनेको भए दश मत मिलाउन सकिन्थ्यो,” माधव नेपाल समूहका एक सदस्यले बाह्रखरीसँग भने, “नेताहरूको भर पर्दा शाक्यले हार बेहोर्नुपर्यो ।”
सभामुख सानु श्रेष्ठ
काठमाडौँ– २ (क)बाट विजयी सानुकुमार श्रेष्ठ सभामुखको उमेदवार बन्ने केशव स्थापित बताउँछन् । तर, त्यसका लागि प्रदेश संसदीय दलको बैठक बसेर उमेदवार तय गर्नुपर्छ । कदाचित निर्वाचन हुने परिस्थिति नै बन्यो भने पनि श्रेष्ठकै पल्लाभारि हुन्छ ।
तर, २७ गते सभामुखको निर्वाचन भएकाले पार्टीले नै उमेदवार तय गर्ने र संसदीय दलले उमेदवार नतोक्ने पौडेलले विजयी हुनेबित्तिकै बाह्रखरीलाई बताए ।
सर्दैन प्रदेश राजधानी
जसरी पौडेललाई दलको नेता चयन गर्न ओली पक्ष एकजुट देखिए । यसैलाई आधार बनाउने हो भने हेटौंडा प्रदेशको स्थायी मुकाम हो । संविधानतः प्र्रदेशको राजधानी सार्न दुई तिहाई सदस्य संख्याले प्रस्ताव गर्नुपर्छ । पौडेललाई दलको नेता चुनेका एमाले सदस्यले प्रदेशमुकाम सार्ने प्रस्तावमा मतदान गर्न नैतिक संकट उत्पन्न हुने हुँदा प्रदेशको राजधानी सर्न नसक्ने ठोकुवा गर्छन् प्रदेशसभा सदस्य ।
दलको नेता चुनिनेबित्तिकै सञ्चारकर्मीसँग पौडेलले प्रदेशको राजधानी सर्ने, नसर्नेबारे आफूले केही भन्न नसक्ने बताउँदै समृद्ध प्रदेश निर्माण नै आफ्नो लक्ष्य रहेको जानकारी दिए ।