site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नामिबियाविरुद्ध मैदान उत्रँदै नेपाल, ‘हेड टु हेड’मा अघि 

काठमाडौं   ।  तीन बर्षअघि अफ्रिकी भूमि नामिबियामा नेपाली क्रिकेट टोलीले पाइला राख्दै गर्दा एक छुट्टै रौनक थियो  ।  त्यो समय नेपाली क्रिकेट न विवादित थियो न नेपाली क्रिकेटले लय गुमाएको थियो ।

उच्च लयमा रहेको नेपालले त्यसको एक वर्षअघि मात्रै बंगलादेशको टि – ट्वान्टी विश्वकप खेलेको थियो । नेपालले पहिलो पटक विश्वकप खेलको त्यही थियो । त्यहिवर्ष नेपाल मलेसियामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन – ३ च्याम्पियन बनेको थियो ।

मलेसियाको उपाधिसँगै नेपालले दोस्रोपटक डिभिजन – ३ को उपाधि पाएको थियो । त्यसअघि नेपालले सन् २०१३ मा बर्मुडामा भएको डिभिजन – ३ जितेको थियो ।

डिभिजन – ३  च्याम्पियन भएसँगै नेपालले सन् २०१५ मा नामिबियामा भएको डिभिजन  – २  खेल्ने मौका पायो । डिभिजन – २ मा नेपाल चौथो स्थानमा रह्यो ।

तर, अहिले ठिक फरक छ । नेपाली क्रिकेटको अधिकारिक संस्था नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) बाट निलम्बित छ । यसको असर नेपाली टोलीमा समेत देखिएको छ । नेपाली टोलीको प्रदर्शन पनि तीनवर्ष अघिको जस्तो लयात्मक छैन ।

नेपालले लय गुमाएकै कारण आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट रेलिगेसन हुँदै डिभिजन – २ मा झरेको हो । आठ राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल सातौं भएको थियो । नामिबियाको डिभिजन – २ मा नेपाल चौथो भएको थियो । तर, अफगानिस्तान र आयरल्याण्डले आइसीसीबाट एकदिवसीय मान्यता प्राप्त गरेपछि चौथो भएको नेपाल र तेस्रो भएको केन्याले च्याम्पियनसिपमा स्थान पाएको थियो । च्याम्पियनसिपको स्थान बनाउन डिभिजन – २  को शिर्ष दुई स्थानमा पुग्नुपर्ने थियो ।

यस्तोमा नेपाल पुनः तीन वर्षपछि नामिबियाको भूमिमा पुगेको छ । नेपाली टोली आईसीसी विश्व क्रिकेट लिग डिभिजन – २ कै लागि नामिबिया पुगेको हो । नेपालले आयोजक नामिबियासँग आज प्रतिस्पर्धा गर्दै डिभिजन – २ को सुरुवात गर्नेछ । नेपाल र नामिबियाबीचको खेल नेपाली समय अनुसार दिँउसो १ ः १५ मा सुरु हुनेछ ।

अफिस पार्क मैदानमा हुने पहिलो खेल नेपालको लागि महत्वपूर्ण हुनेछ । यो पहिलो खेलको जित वा हारले प्रतियोगितामा नेपाली टोलीको प्रदर्शनलाई दिशा दिनेछ । ६ राष्ट्र सम्मलित डिभिजन – २ नेपाली क्रिकेटको भबिष्यसंग समेत जोडिएको छ । त्यसैले आम क्रिकेट प्रेमीको ध्यान डिभिजन – २ मा मोडिएको छ ।

यो संस्करणको डिभिजन – २ को बिजेता र उपविजेताले विश्वकप छनोटमा स्थान बनाउने छ । विश्वकप छनोट जिम्बाबेमा यही फेब्रुवरी हुनेछ । तर, आयोजक नामिबिया, केन्या, ओमान, क्यानडा र युएईविरुद्धको चुनौती हटाउन नेपाललाई कठिन चुनौती हुनेछ ।  नेपाललाई उच्च श्रेणीको क्रिकेटमा रहिरहन डिभिजन – २ महत्वपूर्ण छ । डिभिजन – २ को अन्तिम दुई टोली डिभिजन – ३ मा घटुवा हुनेछ ।

डिभिजन – २ मा नामिबियासँग नेपाली टोली परिचित छ । तर, खेलको नतिजा यसै भन्न सकिने अवस्था छैन । पछिल्लो समयको नतिजा हेर्दा नामिबियाविरुद्ध नेपाल हाबी भएको देखिन्छ ।  नेपालले अभ्यास खेलसहित अहिलेसम्म नामिबियाविरुद्ध पाँच खेल खेलेको छ । जसमा नेपालले तीन खेलमा जित निकाल्दा नामिबियाले पहिलो भेट र एक अभ्यास खेलमा जित हात पारेको छ ।

नेपालले पहिलो पटक सन् २००१ मा आइसिसी ट्रफीमा नामिबियासँग खेलेको थियो  । जसमा नेपाल ८ विकेटले पराजित भएको थियो  । त्यसपछि नेपालले सन् २०१४ मा आइसीसी विश्वकप छनोटअघि एक अभ्यास खेल खेलेको थियो । उक्त अभ्यास खेलमा पनि नेपाल ४ विकेटले पराजित भएको थियो । त्यसपछि नेपालले नामिबियासँग ३ खेल खेलिसकेको छ ।  जसमा नेपालले पराजय बेहोर्नुपरेको छैन ।

आज हुने नेपाल र नामिबियाबीचको खेल ३ वर्षभित्र चौथो खेल हुनेछ । तीन बर्षअघिको डिभिजन – २ मा नेपालले नामिबियालाई पहिलोपटक ३ विकेटले हराएको थियो, उसैको मैदानमा ।  त्यसपछि नेपालले सन् २०१६ मा नामिबियासँग दुई खेल खेल्यो । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले घरेलु भूमिमा दुई खेलेको थियो । कीर्तिपुरस्थित टियू मैदानमा भएको दुवै खेलमा नेपाल विजयी भएको थियो । पहिलो खेलमा नेपालले ५ विकेटको जित निकाल्दा दोस्रो खेलमा नेपालले नामिबियालाई ३ विकेटले हराएको थियो ।

यो प्रतियोगिताको लागि नेपालले युएईमा एक साता अभ्यास गरेको थियो । यता, नामिबिया क्रिकेटको सशक्त राष्ट्र दक्षिण अफ्रीका गएको थियो । युएई अभ्यासमा नेपालले तीन खेल खेल्यो जसमा दुई खेलमा जित निकाल्यो । डिभिजन – २ कै लागि नेपालले ब्याटिङ प्रशिक्षकको रुपमा भारतीय प्रशिक्षक सुलक्षण कुलकर्नीलाई समेत बोलाएको छ ।

तर, युएईको अभ्यास खेलको प्रदर्शनले नेपाली टोली ढुक्क हुने स्थितिमा हुने छैन । युएई र नामिबियाको मैदान,पिच हावापानी बिल्कुलै फरक रहेको छ ।  नेपाली टोलीका केहि खेलाडीको लागि नामिबिया भूमि नौलो हुनेछ । नामिबिया पुगेको नेपाली टोलीमध्ये  ८ खेलाडी नामिबिया नयाँ हुने छैन तर ६ खेलाडीका लागि भने नौलो हुनेछ ।
 
नेपाल भर्सेस नामिबिया (हेड टु हेड)
सन् २००१  – आइसीसी ट्रफी : नेपाल ८ विकेटले पराजित
सन् २०१४ – आइसीसी विश्वकप छनोट (अभ्यास खेल) : नेपाल ४ विकेटले परजित
सन् २०१५ – आइसीसी विश्व क्रिकेट लिग डिभिजन – २ : नेपाल ३ विकेटले विजयी
सन् २०१७ – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपाल ५ विकेटले विजयी
सन् २०१७ – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपाल ३ विकेटले विजयी
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०७४  ०६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro