
काठमाडौं । पोखरामा बिहीबारदेखि पहिलो संस्करणको ‘लायन्स कप’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताअन्तर्गत पहिलो दिनको खेलमा नेपाल पुलिस क्लब र इरानको टोली विजयी भएको छ ।
भारतीय टोलीलाई पराजित गर्दै पुलिसले विजयी यात्रा सुरु गरेको हो । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको समूह ‘बी’अन्तर्गतको खेलमा पुलिसले भारतीय टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
प्रतिस्पर्धात्मक पहिलो सेटमा पुलिसले भारतीय टोलीमाथि २५–२३ ले जित हासिल गर्यो । दोस्रो सेट र तेस्रो सेट भने पुलिसले सहज जित निकाल्यो । पुलिसले दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–२० ले जित निकाल्न सफल रह्यो ।
यसअघि आजै भएको समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा इरानी टोलीले सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटमा पराजित गरेको थियो ।
लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा सुरु भएको प्रतियोगिताको दोस्रो दिन शुक्रबार पहिलो खेल इरानी टोली र गण्डकी प्रदेश तथा दोस्रो खेल भारतीय टोली र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।
प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा इरानी टोली, एपिएफ र गण्डकी प्रदेश छन् भने समूह ‘बी’ मा भारतीय टोली, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब छन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल वैशाख २२ गते हुनेछ ।
प्रतियोगिताको विजेताले चार लाख ४४ हजार ४४४ र उपविजेताले दुई लाख ४४ हजार ४४४ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
यसैगरी तेस्रो हुने टोलीले नगद एक लाख ४४ हजार ४४४ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेहरूलाई आठ हजार ४४४ का दरले पुरस्कार गरिने डिस्ट्रिक गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए ।