
काठमाडौं । कोसी र गण्डकी प्रदेशले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा पहिलो जित निकालेका छन् । नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा बिहीबार पुरुषतर्फ कोसीले र महिलामा गण्डकीले जित निकालेका हुन् । पुरुषमा गण्डकी प्रदेशमाथि ५–३ गोलअन्तरको जित दर्ता गर्यो ।
कोसीको जितमा लक्ष्मण समारियाले ह्याट्रिक गर्दा आर्यन चौधरी र सुदीप चौधरीले समान एक गोल गरे । मधेसका रूपेशकुमार राईले दुई र अजयकुमार साहले एक गोल फर्काए । लक्ष्मण प्लेअर अफ दी म्याच पनि भए र उनले दुई हजार नगद पुरस्कार पाए । खेलमा अग्रता लिए पनि जोगाउन नसक्दा मधेसले हार सामना गरेको हो ।
समूह ‘ए’ को कोसीले पहिलो खेलमा जित निकाल्दै तीन अंक बटुल्यो । चार टोली रहेको यस समूहमा त्रिभुवन आर्मीले पनि एक जित निकालेको थियो । पुरुषतर्फ लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा भइरहेको छ ।
समूह ‘ए’ मा आर्मी र गण्डकीसँगै मधेस र कोसी प्रदेश छन् । आर्मीले पहिलो खेलमा गण्डकी प्रदेशमाथि ३–० गोलको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, एपीएफ र वाग्मती छन् । एपीएफ हक्कीमा नयाँ टिम हो । एपीएफले आफ्नो डेब्यु खेलमा वाग्मती प्रदेशसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो ।
बिहीबार महिलातर्फ भएको खेलमा गण्डकीले वाग्मतीलाई २–१ गोलले हराउँदै सुखद् सुरुआत गर्यो । गण्डकीका मायौरी राई र गीता पुनमगरले समान एक गोल गरे । मायौरी प्लेअर अफ दी म्याच भइन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र बोर्ड सदस्य प्रकाश कुसारीले महिलातर्फ प्रतियोगिताको उद्घाटन गरेका थिए । महिलामा भने नेपाल आर्मी, गण्डकी प्रदेश, मधेस प्रदेश र वागमती प्रदेश मात्र सहभागी छन् ।
यस प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुँदै छ । राउन्ड रोबिन लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ ।
आर्मीले पनि पहिलो खेलमा मधेस प्रदेशमाथि ७–० गोलको रबाफिलो जित निकाल्दै अंक बटुलेको छ । संघको वार्षिक कार्यक्रमअनुसार सुरु राष्ट्रिय पुरुष–महिला हक्की प्रतियोगिता वैशाख २६ गतेसम्म हुनेछ ।
पुरुष तथा महिला दुवै प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीलाई जनही पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ ।