काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको ‘आकस्मिक’ रूपमा भएको भ्रमणले नेपालको राजनीति तरंगित भएको छ । नेपाल आएलगत्तै उनले पूर्वप्रधानमन्त्री, राजनीतिक दलका अध्यक्षदेखि प्रभावशाली नेताहरुलाई होटल सोल्टीमै बोलाएर भेटघाट गरिन् ।
नेपालको संविधान ‘अन्तिम समयमा आफूहरुको आग्रहलाई बेवास्ता गर्दै’ जारी भएको भन्दै असन्तुष्ट जनाउँदै आएको भारतीय संस्थापन पक्षकै एक प्रभावशाली नेतृको यो भ्रमणले नेपाल र विशेषगरी एमालेप्रतिको धारणामा केही परिवर्तन आउन सक्ने अनुमान राजनीतिज्ञले गरेका छन् ।
नेपाल आएलगत्तै संसद्को ठूलो दल नेकपा एमालेबाट भेटघाटको थालनी गरेकी स्वराजले अधिकांश दलका नेताहरूसँग भेटघाटको चाँजोपाँजो मिलाएकी थिइन् ।
प्रधानमन्त्री मोदीको विशेष दूतका रूपमा ‘कोर्ष करेक्सन’ को सन्देश बोकेर आएकी स्वराजले एमाले अध्यक्ष ओलीसँग करिब ५० मिनेट भेटवार्ता गरिन् ।
नाकाबन्दी पश्चात ‘भारतीय नीति विरोधी’ नेताको छवी बनाएका अध्यक्ष ओलीसँगको पौने घन्टाको छलफलमा नयाँ सरकारसँग सहकार्य गर्न भारत तत्पर रहेको र विगतको तिक्तता चिर्न चाहेको पटकपटक दोहो¥याएको ओलीलाई उद्धृत गर्दै एमालेका एक प्रभावशाली नेताले बाह्रखरीसँगको कुराकानीमा बताए ।
एमाले महासचिव ईश्वर पोखरेलले पनि द्विपक्षीय सम्बन्ध सुधारमै भ्रमण केन्द्रित भएको जानकारी दिए । बिहीबारको डिनर–मिटिङमासमेत सहभागी पोखरेलले शिष्टाचार भेट विगतका ‘खटपटयुक्त सम्बन्ध’ सुधारमा केन्द्रित रहेको जानकारी दिए ।
“विगतमा भारतीय पक्षबाट भएका कमजोरी सुधार्ने चाहना भारतको देखिन्छ,” उनको भनाइ थियो ।
“निर्वाचनमार्फत विजयी हासिल गरेको दललाई भेटेरै बधाई दिन उहाँ आउनुभएको हो । सामान्य कुराकानी भयो,” उनले भेटबारे प्रकाश पार्दै भने ।
“नेपाल–भारतबीच सम्बन्ध सुमधुर हुँदामात्रै एकले अर्काबाट लाभलिने परिस्थिति निर्माण हुन्छ,” स्वराजलाई उद्धृत गर्दै एमाले नेता राजन भट्टराईले बाह्रखरीसँग भने, “तपाईंहरूले चुनाव जित्नुभएको छ । भारत सरकार बधाई दिन चाहन्छ । हामी तपाईंहरूसँग मिलेर अघि बढ्न तप्तर छौँ ।”
जवाफमा अध्यक्ष ओलीले नेपाल–भारत सम्बन्ध बिगार्ने पक्षमा एमाले नरहेको, मिलेरै अघि बढ्न तत्पर रहेको र बरू द्विपक्षीय सम्बन्धलाई आजको चेतना, धरातलीय यथार्थ र आजको आवश्यकताअनुरूप विकास गनुपर्ने एमालेको धारणा रहेको बताएको भट्टराईले जानकारी दिए ।
दुवै छिमेकी देशसँग सद्भावयुक्त, समदूरी र सौहार्दपूर्ण सम्बन्ध राख्न नै एमाले तत्पर रहेकोमा जोड दिएको भट्टराईको दाबी छ । त्यस्तै भेटमा स्वराजले तिनवटै चुनावमा एमालेले जित हात पारेको, यसलाई स्थायित्वको दिशातिर लैजान र सबैलाई मिलाएर अघि बढ्न सुझाव दिएकी थिइन् ।
संविधानको अन्तर्वस्तुमा आफ्नो अभिष्ट पूरा नभएको ठानेको भारतले योसँगै संविधानलाई ‘अफिसियल’ रूपमा स्वीकार गरेको एमाले नेताहरुको धारणा छ ।
यतिमात्रै नभई भारतले नेपालमा वाम शक्तिको सुविधाजनक बहुमत आएको र स्थिर सरकार बन्न लागेकोमा खुसीसमेत प्रकट गरेको छ । बिहीबारको भेटमा अध्यक्ष ओलीसँग स्वराजले तिनै कुरा राखेकी थिइन् ।
संविधानअनुरूप देशमा तीनै चरणको निर्वाचन सम्पन्न भएसकेपछि प्रधानमन्त्री मोदीको दूतकै रूपमा औपचारिक बधाई दिन आएपछि संविधानमा भारतीय असन्तुष्टि पाखा लागेको छ । र, भारतीय चासो नयाँ दिशातर्फ अघि बढेको छ ।
विष्णु रिमाल भन्छन्– ‘कोर्ष करेक्सनको मुड’
भेटमा मुहूर्त कुराकानी नभए पनि भारत ‘कोर्ष करेक्सन’को मनस्थितिमा रहेको उनको भनाइ थियो ।
“सरकार बनेपछिको भेट भए अलि ‘अफिसियल’ हुन्थ्यो । यो त केवल पार्टीसँगको भेट हो । नेपालमा तीनै चरणको निर्वाचन सम्पन्न भएकामा उहाँले बधाई दिनुभयो र नयाँ सरकारसँग मिलेर काम गर्न भारत इच्छुक रहेको उहाँको भनाइ थियो,” भेटबारे रिमाले प्रकाश पारे ।
एमाले नेता भन्छन्– भारतसँग विश्वस्त भइहाल्ने आधार छैन
स्वराजको दुई दिने नेपाल बसाइ नेपाल–भारत सम्बन्ध सुधारको प्रयासका रूपमा बुझे पनि सरकार गठनमा भारतीय सहयोगप्रति विश्वस्त छैन एमाले ।
“भारतसँग विश्वस्त भइहाल्ने, सहयोग गरिहाल्ला भन्ने हामीले अझै ठान्नुहँदैन,” भेटमा सहभागी एमालेका एक प्रभावशाली नेताले बाह्रखरीसँग भने ।
मुलरूपमा वाम गठबन्धनलाइ बधाई दिन आए पनि सारमा सरकार गठनबारे विकसित घटनाक्रम, एमाले–माओवादीबीचको एकता प्रक्रिया, संविधान संशोधनबारे मसिनो तरिकाले बुझ्न स्वराज नेपाल आएको हुन सक्ने एमाले नेताको आशंका छ ।
शुक्रबार बिहान स्वराजले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग झन्डै एक घन्टा भेटवार्ता गरिन् । प्रचण्ड–स्वराजको भेट विशेषतः सरकार गठन पक्रिया कसरी अगाडि बढ्छ भन्ने चासोमा केन्द्रित रहेको प्रचण्डले सञ्चारमाध्यमलाई जानकारी दिएका थिए ।
तर, सरकार गठनमा भारतीय चासोको कुनै अर्थ नरहेको प्रचण्डको आसय छ । “वाम गठबन्धनले बहुमत ल्याएको छ । सकारात्मक कुरा हो यो, यसमा हामीले पनि बढी भन्ने कुरा थिएन, उहाँले पनि यसमा बढी भन्ने कुरा छैन,” उनको भनाइ थियो ।