काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग ‘ब्ल्याकमेलिङ’को सिकार भएको आशंका गरेका छन् ।
नियमित स्वास्थ्य जाँचको सिलसिलामा बैंकक प्रस्थान गर्नुअघि बुधबार अपरान्ह त्रिभुवन विमानस्थलमा पत्रकारलाई सम्बोधन गर्दै उनले चुनावको परिणाम रोक्ने निर्वाचन आयोग ब्ल्याकमेलिङको फन्दामा परेको हुनसक्ने बताए ।
“हामीले सुनेका छौँ, निर्वाचन आयोगसँग ‘ब्ल्याकमेलिङ गरिएको छ, हो होइन, आयोग जानोस्,” उनले पत्रकारसँग भने ।
उनले निर्वाचन परिणाम रोक्नु जनादेशको अनादर, अवमूल्यमन र लज्जाजनक बहाना भएको टिप्पणी गरे । ३३ प्रतिशत सहभागिताप्रति संशय राखेर परिणाम रोक्नु गलत भएको अध्यक्ष ओलीको निष्कर्ष थियो ।
कानुनमा अलमल छ भने केसीसँग सोध्नू
निर्वाचन परिणाम सार्वजनिक गर्न र सरकार गठनका कानुनी अलमल भए चिकित्सक गोविन्द केसीलाई सोध्नु भन्दै उनले कटाक्ष गरे । “कानुनमा कुनै अप्ठ्यारो भए गोविन्द केसीलाई सोधे हुन्छ, उहाँले फटाफट भनिराख्नुभएको छ,” उनको व्यंग्य थियो ।
राजनीतिक भेटघाट हुँदैन
आफू पूर्णतया स्वस्थ भए पनि चिकित्सककै सिफारिसमा नियमित फलोअपमा जान लागेको बताएका ओलीले थाइल्यान्डमा कुनै राजनीतिक भेटघाट नहुने प्रष्ट्याए । साथै उनले सात दिनमै फर्किएर पार्टी एकतालाई गति दिनेसमेत बताए ।
“मंगलबारको पार्टी एकता संयोजन समिति बैठकले राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठनमा दुई पार्टीको तालमेलका लागि कार्यदल बनाएको छ । म फर्किएपछि एकताको विषयमा छलफल हुन्छ,” उनको भनाइ थियो ।
उनले १५ दिनमै पार्टी अध्यक्षबारे छिनोफानो हुने बताउँदै अहिले नै को बन्छ भनेर चर्चा गर्न अनुपयुक्त भएको बताए । “दुई–तीन वर्ष लाग्ने भए पो यो अध्यक्ष बन्छ भन्नू, १५ दिनमै टुंगिहाल्छ, सबैलाई भनिहाल्छौँ, अहिले नै किन हतार गर्नु ?”
नेतृत्वको व्यवस्थापन भन्दा जनताको व्यवस्थापन प्रमुख भएको बताउँदै उनले तराईका शीतलहरपीडित जनतालाई न्यानो अत्यावश्यक रहेकोसमेत औँल्याएका थिए ।
“सरकारको वरिपरि रहेर समाचार संकलन गर्ने हुनाले, सरकारले कार्यकर्तालाई पैसा बाँडेको देखेर पत्रकारहरूलाई नेतृत्व व्यवस्थापन महत्त्वपूर्ण लागेको होला,” उनले पत्रकारसमेतलाई कटाक्ष गरे, “जनताको व्यवस्थापन महत्त्वपूर्ण कुरा हो ।”
‘खुराफाती डाक्टर’
एमाले अध्यक्ष ओलीले एकता भाँड्न र पार्टीको आन्तरिक मामिलामा विभिन्न शक्तिले खेलिरहेको भन्दै कांग्रेसका केही खुराफाती डाक्टरले एकता भाँड्न लागेको भन्दै अर्को कटाक्ष गरे ।
“केहीले खुराफातीमा पीएचडी गरेका छन् । यसपटक तिनको विद्यावारिधीले घाम ताप्नेवाला छ । म दुनियाँले सुन्नेगरी भन्न चाहन्छु– हाम्रो एकता कसैले भाँड्न सक्दैन,” उनको ठोकुवा थियो ।