
काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टिमविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
स्कटल्यान्डको ग्लासगोमा हुने खेलका निम्ति भएको टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले बलिङको निर्णय गर्दै घरेलु टिमलाई ब्याटिङमा निम्त्याएका हुन् ।
शृंखलामा नेपालको यो दोस्रो खेल हो । यसअघि, नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग कीर्तिमानी प्रदर्शन गरे पनि सुपर ओभरमा हार बेहोरेको थियो । उक्त खेल तीनपटकसम्म सुपर ओभरमा पुग्दा नेदरल्यान्ड्सले तेस्रोपटकमा जित निकालेको थियो ।
ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीनपटकसम्म सुपर ओभरमा पुगेको यो पहिलो र हालसम्मको एक मात्र खेल हो ।
यता, स्कटल्यान्डको पनि जारी शृंखलामा यो दोस्रो खेल हो । स्कटल्यान्डले यसअघि पहिलो खेलमा डच टोलीविरुद्ध ३९ रनको जित निकालेको थियो ।
खेल नेपाली समयअनुसार बेलुका ७:४५ बजेदेखि सुरु हुनेछ । आइतबारदेखि सुरु भएको शृंखलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सको सहभागिता छ ।