site stats
बाह्रखरी :: Baahrakhari
देश
कार्यपालिका बैठकको तयारीमा जुटे बालेन, यी एजेन्डाले पाउन सक्छ प्रवेश

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह कार्यपालिका बैठकको तयारीमा जुटेका छन् । लामो विवादपछि बालेन बैठकको तयारीमा जुटेका हुन् ।

महानगरका प्रशासन विभागका प्रमुख तथा सहायक प्रवक्ता ध्रुव काफ्लेले असार १० गतेअघि नै कार्यपालिका बैठक बोलाएर नगरसभा बोलाउने तयारी भइरहेको जानकारी दिए ।

“कार्यपालिका नभई बजेट आउँदैन । त्यसैले अबको केही दिनमै मेयर सा'बले कार्यपालिका बैठक बोलाउनुहुन्छ । असार १० गते नगरसभा बोलाउने तयारी छ । मेयर सा'बले आगामी कार्यपालिका बैठकमा कुनकुन विषयमा छलफल गर्ने भनेर एजेन्डा बनाउनुहुन्छ,” उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १७ को उपदफा १ मा कार्यपालिका बैठक कम्तीमा महिनाको एकपटक बस्ने व्यवस्था छ । कार्यपालिका बैठक बोलाउने अधिकार मेयरसँग मात्रै हुन्छ ।

कार्यपालिका बैठक बोलाएपछि मात्रै नगरसभा हुन्छ । कार्यपालिका बैठकमा सदस्यसचिव प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ ।

०८१ पुसदेखि सुरु भएको विवाद पछिल्लो समय साम्य हुने बाटोमा छ । गत बुधबार मेयर बालेन र उपमेयर सुनिता डंगोल, तीन फरकफरक पार्टीबाट निर्वाचित वडाध्यक्षबीच अनौपचारिक वार्ता भएको थियो ।

नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोल, प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर र ३२ नम्बर वडाका अध्यक्ष नवराज पराजुलीसँग भेटवार्ता गरेका थिए । मेयरसँगको भेटपछि नेकपा (एमाले) र नेपाली कांग्रेसबाट निर्वाचित कार्यपालिका सदस्यले छुट्टाछुट्टै छलफल गरेका थिए ।

महानगरमा अन्तिमपटक ०८१ पुस ८ गते कार्यपालिका बैठक बसेको थियो । त्यसयता बैठक बस्न सकेको छैन ।

मेयर बालेनले कानुनी प्रक्रिया पूरा नगरी प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौं टावरको नक्सा पास गरेको आरोप लगाएका थिए । उनले गुरागाईंलाई कारबाही नै गरेका थिए । त्यसपछि विवाद बढ्दै गएपछि बालेनले कार्यपालिका बैठक बोलाएका थिएनन् ।

कांग्रेसबाट निर्वाचित कार्यपालिका सदस्यले गत चैत १० गते कार्यपालिका बैठकको माग गर्दै मेयरलाई ज्ञापनपत्र बुझाएका थिए । गत जेठ १२ गते महानगरका ४१ जना कार्यपालिका सदस्यले मेयरलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

महानगरका ३२ मध्ये कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले १८ र नेकपा (एमाले)का तर्फले १२ वडा, एकीकृत समाजवादीबाट एक र राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक वडाको नेतृत्व गरिरहेका छन् ।

आफू अल्पमतमा परेपछि मेयरले पहिलो कार्यपालिका बैठक नै लाइभ गर्ने घोषणा गरेका थिए । यसपटक कार्यपालिका बैठक कसरी सञ्चालन गर्छन् ? हेर्न बाँकी छ ।

यसपटक कार्यपालिका बैठकमा विवादका सबै विषय उठ्ने देखिएको छ । मुख्य एजेन्डाका रूपमा आगामी आर्थिक वर्ष २०८२/८३ को निति तथा कार्यक्रम हुने महानगरले जनाएको छ ।

कार्यपालिका बैठकमा के एजेन्डाले पाउला प्रवेश ?
महानगरका प्रवक्ता मानन्धरका अनुसार, पछिल्लो समय महानगरमा देखिएका सबै विवादका विषय कार्यपालिका बैठकमा प्रवेश पाउनेछ । तर, मुख्य एजेन्डा आगामी आर्थिक वर्षको बजेट हुनेछ ।

यस्तै, महानगरका तत्कालीन नगरप्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बनमा छन् । उनीमाथि गत चैत २१ गते कार्यालय प्रवेश गर्न लागेका कार्यालय प्रमुख गुरागाईंमागि दुर्व्यवहार गरेको आरोप छ । यो विषयमा पनि कार्यपालिका बैठकमा प्रवेश हुने सम्भावना छ ।

एउटा टेलिभिजनमा आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले युवतीसँगको फोटो देखाएको भन्दै बालेनले प्रवक्ता मानन्धरलाई स्पष्टीकरण सोधेका थिए । तर, मानन्धरले जवाफ दिएका छैनन् ।

मेयर–उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र मेयरबीचको टकराबको विषयले पनि प्रवेश पाउन सक्छ ।

“मुख्य एजेन्डा आगामी आर्थिक वर्षको बजेट नै हो । मेयरसँगको बैठकमा प्रमुख प्रशासकीय अधिकृत, पाण्डे, प्रवक्तालगायत सबै विषयमा कुरा उठेको थियो । यी सबै विषयमा कार्यपालिकामा छलफल हुन्छ,” प्रवक्ता मानन्धरले भने ।

यस्तै, स्थानीय तहमा क्रियाशील पेसागत संगठनले गत चैत २८ गते मेयरका स्वकीय सचिव भुपदेव शाह र पाण्डेलाई कारबाही गर्न माग गरेका थिए । संगठनहरूले संयुक्तरूपमा ११ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका थिए । उनीहरूले फरक प्रसंगको बैठकमा वडाध्यक्षबाट व्यक्त विचारको भिडियो काटेर अनर्थ लाग्ने गरी मिडियामा सार्वजनिक गरिएको विषयमा सत्यतथ्य जाँच गर्न माग गरेका थिए ।

स्थानीय तह कर्मचारी युनियन नेपालका अध्यक्ष नरबहादुर साउदले आफूहरू प्रतीक्षामा रहेको बताए । “आगामी कार्यपालिकामा हाम्रा माग प्रवेश गराउने/नगराउने उहाँहरूको कुरा हो । हामी प्रतीक्षामा छौँ,” साउदले भने ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १३:५६
प्रतिक्रिया दिनुहोस्