
काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका–३, औलगाउँमा आइतबार (असार १) राति ११ देखि सोमबार बिहान ७ बजेसम्म भीषण आगलागी भयो । गोठबाट सुरु आगो फैलँदा आठ घर पूर्ण रूपमा नष्ट भयो ।
दमकल नहुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नजिकैका तीन गाउँ (रिप, ग्यूसी र उनापनी)का स्थानीयले माटो छर्किएर आगो नियन्त्रणमा लिने प्रयास गरे । आगो फैलन नदिन अरू पाँच घर भत्काइयो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलका अनुसार, आगोले भीषण रूप लिइसकेपछि मात्र स्थानीयले थाहा पाएका थिए । त्यसपछि सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाह नेतृत्वको टोली राति २ बजे घटनास्थलमा पुगेको थियो ।
“रातभरि आगो दन्किरह्यो । दमकल नहुँदा ढुंगामाटो र धाराको पानी छर्किएर आगो नियन्त्रणमा लिने प्रयास गरियो । तर, ढुंगामाटो र सामान्य धाराको पानीले मात्रै कहाँ हुन्थ्यो र ! धन्न मानवीय क्षति भएन,” डीएसपी पोखरेलले भने ।
सर्केगाड–३ का वडाध्यक्ष अकिल कार्की पनि रातभरि आगलागी नियन्त्रणको प्रयासस्वरूप पानीको जोहो गर्न खटिएका थिए । “आगलागी भइसकेपछि राति गाउँले सबै लागिपर्र्यौं । तर, आगलागी नियन्त्रणमा लिन सकिएन । बिहान भएपछि ग्यूसी र रिप गाउँबाट स्थानीय आउनुभएको थियो । अहिले आगो नियन्त्रणमा आइसकेको छ,” उनले भने ।
स्थानीय बिर्ख रावतको गोठबाट सुरु आगो फैलँदा धेरै क्षति भएको वडाध्यक्ष कार्कीले बताए । रावतको घरमा कोही पनि थिएनन् । “उनको घरमा कोही पनि थिएनन् । गोठबाट आगो सल्किएको थियो । गोठमा कसैले चुरोट खाएर फाल्दा ठुट्टोबाट आगो सल्किएको हुन सक्ने शंका छ,” उनले भने, “घरका सामान जोगाउन सकेनौँ । मान्छे र पशुचौपाया लेकतिर भएकाले मानवीय क्षति र प्राणी क्षति भएन ।”
प्रहरीका अनुसार, स्थानीय बिर्ख, विजन फडेरा, धनबहादुर रावत, जनक रावत, पाले फडेरा, लालकौरा फडेरा, बाटुली फडेरा र दूधशीला फडेराको घर जलेर नष्ट भएको छ । पीडित परिवारलाई राहत साम्रगी उपलब्ध गराउने तयारी भइरहेको कार्कीले बताए ।
“सर्केगाड गाउँपालिकाले प्रतिपरिवार २५ हजारका दरले राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । पालिकाबाट अन्य राहत सामग्री पनि लैजाँदै छौँ,” उनले भने, “पीडित परिवार आफन्तको घरमा बस्नुभएको छ ।”
जिल्ला प्रशासन कार्यालयका अनुसार, हुम्लाका कुनै पनि गाउँपालिकामा दमकल छैन । स्थानीयस्तरको जनशक्तिबाट आगलागी नियन्त्रणमा लिइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए ।
“हुम्लामा दमकल छैनन् । तर, मुख्य समस्या दमकल होइन, सडक हो । घर भएको जुनसुकै बस्तीमा पनि आगलागी हुनसक्छ । तर, भौगोलिक विकटता र सडकका कारण समयमा नियन्त्रणमा लिन सकिएन,” उनले भने, “हामीसँग भएको स्रोतसाधन, स्थानीय जनसमुदाय सबैको प्रयासमा बिहान ७ बजे नै आगो नियन्त्रणमा लियौँ । पीडितलाई कसरी राहत उपलब्ध गर्ने भन्नेतर्फ जुटेका छौँ ।”
क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको प्रशासनले जनाएको छ ।