site stats
बाह्रखरी :: Baahrakhari
देश
सुन्दरताका नाममा वाग्मतीमा सकियो २२ अर्ब, बग्छ ढलमात्रै

काठमाडौं । “खेतालालाई खाना, खाजा पुर्‍याउन जाँदा वाग्मतीको पानी भरेर लैजान्थ्यौँ । वाग्मतीमा पौडी खेल्थ्यौँ । साइकलमा सुन्दरीजल किनारै किनारा कटुवाल दहसम्म पुग्थ्यौँ,” गोकर्णेश्वरका ५५ वर्षीय उत्तम पुडासैनी आफ्नो बाल्यकाल सम्झन्छन् ।

हालका पिँढीलाई यो कुरा भन्दा विश्वास लाग्दैन । कारण हो, वाग्मतीमा पानी होइन ढल बग्छ । किनारा फोहोरका डंगुर भरिएको छ ।  शिवपुरी जलाधारदेखि चोभारसम्म फैलिएको वाग्मतीको कति ठाउँमा ढल मिसाइएको छ भन्ने त यकिन छैन । 

तर, त्रिपुरेश्वरदेखि टेकुसम्म, थापाथलीदेखि शंखमूलसम्म वाग्मतीका दुवै किनार हेर्ने हो भनेमात्रै पनि त्यस्तो देखिन्छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अनगिन्ती ठाउँमा फोहोर थुपारिएको र ढल मिसाइएको छ । ढलसहितको धमिलो दुर्गन्धित पानी मात्रै बगिरहेको छ । वरिपरि बस्नेले हैरानी खेप्नुपरेको छ । तर मौन छन् संघीयदेखि स्थानीय सरकार । 

अहिले काठमाडौं उपत्यकाको मध्यभागबाट बग्ने वाग्मती दुर्गन्धित बन्न पुगेको पुडासैनीले बताए । 

bagmati-(12)-1749970689.jpg
 

“२०५० सालपछि त खेतालाले वाग्मतीको पानी नल्याउनू भन्न थाले । त्यसबेला सुन्दरीजलदेखि कटुवाल दहसम्म घुम्दा ३७ ठाउँमा ढल मिसाइएको थियो । अब गिन्ती गरी साध्य छैन,” उनले भने ।

त्यस्तै, गोकर्णेश्वर नगरपालिका–६ का स्थानीय भगवान पुडासैनीले वाग्मतीको मुहानदेखि नै ढल मिसाउन सुरु भएको बताउँछन् ।

“मुहानमै बस्तीहरूबाट बग्ने ६ वटा खहरे खोला मिलाइएको छ । ती सबै खोलाबाट ढल बग्न सुरु हुन्छ । वाग्मतीको मुहानदेखि ढल मिसाइएको छ । मुहानबाटै ढलसहितको धमिलो पानी बग्न सुरु हुन्छ,” भगवानले भने । 

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले पानी सफा राख्न बनाएका पानी प्रशोधन केन्द्र आसपासमा समेत सफा पानी बग्दैन ।  

bagmati-(13)-1749970689.jpg
 

स्थानीय पुडासैनीका अनुसार, वाग्मती नदीको मुहानदेखि नै कयौँ ठाउँमा पार्क निर्माण गरिएका छन् । 

“टायल बिच्छ्याउँदै फेरि उप्काउँदै छ । बस्ने ठाउँ पनि बनाइएको छ । तर, वाग्मतीकै दुर्गन्धले कोही पनि आसपास जाँदैनन्,” उनले भने । 

राज्यको अर्बौँ रुपैयाँ खर्च भइसक्दा पनि नियमनकारी निकाय मूकदर्शक बनेको स्थानीयको भनाइ छ । यसै वाग्मती नदीलाई ब्यूँताउने भन्दै राज्यको करिब २२ अर्ब रुपैयाँ खर्च भएको छ ।

bagmati-(9)-1749970688.jpg
 

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ प्रतिवेदनका अनुसार, २०५१ सालदेखि आर्थिक वर्ष २०८०/८१ सम्मको ३० वर्षको अवधिमा २१ अर्ब ९४ करोड ९१ लाख रुपैयाँ खर्च भइसकेको छ । 

समितिअन्तर्गत नेपाल सरकारको सहयोगमा वाग्मती क्षेत्र भौतिक पूर्वाधार आयोजना तथा एसियाली विकास बैंकको सहयोगमा वाग्मती नदी सुधार आयोजना सञ्चालन गरिएको थियो । 

औसतमा वाग्मती नदी सफाइका नाममा प्रत्येक वर्ष करिब साढे ७२ करोड रुपैयाँ खर्च हुने गरेको हो । वार्षिक खर्चकै हिसाब हेर्ने हो, भने पनि यो अवधिमा वाग्मतीको स्वरुप फेरिएर सुन्दर कञ्चन पानी बग्ने वाग्मती बन्नुपर्ने हो ।  
तर, विडम्बना वाग्मती किनारा काठमाडौंको फोहोर थुपार्ने ‘डम्पिङ साइट’ बनेको छ भने नदी ढलमतीमा परिणत हुन पुगेको छ ।  

वाग्मती नदीमा जलचर प्राणीको अस्तित्व नै पूर्ण रुपमा समाप्त भइसकेको छ । वाग्मती नदी प्रणालीलाई जीवन्त बनाई समग्र वातावरणीय विकास गर्ने उद्देश्य अनुरुप २०५१ चैतमा पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समिति गठन गरिएको थियो ।

bagmati-(1)-1749970685.jpg
 

उक्त समितिलाई २०५२ साल मंसिरमा अधिकार सम्पन्न पशुपति क्षेत्र ढल निर्माण सुधार कार्यान्वयन तथा अनुगमन समिति नामाकरण गरी पुर्नगठन गरिएको थियो । त्यसपछि २०६५ साल जेष्ठ २६ गते मन्त्रिपरिषद्को निर्णय अनुसार, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति नामाकरण गरी कार्यक्षेत्र बिस्तार गरिएको थियो ।

समितिको मुख्य उद्देश्य वाग्मती नदी र यसका सहायक नदीहरूको उद्गमस्थलदेखि कटुवाल दहसम्मको नदी प्रणाली प्रदूषण मुक्त गराई संरक्षण र संवर्धन गरी उपत्यकाको वातावरणीय स्वच्छता, पवित्रता र सुन्दरता कायम गर्ने थियो । 

त्यस्तै, समग्र वाग्मती सभ्यताको पहिचान एवं जगेर्ना, एकीकृत जलस्रोत व्यवस्थापन तथा अन्य प्राकृतिक स्रोतको समुचित व्यवस्थापन गर्ने जिम्मेवारी समितिको थियो । तर, समितिले काम गरेको दशकौँ बित्दा पनि वाग्मती सुधार हुुनुको सोटा झन् मृत बन्दै गएको छ । यसै कारण वाग्मती सभ्यता पनि बदनाम छ । 

वाग्मती नदीको कति ठाउँमा ढल मिसाइएको छ ? भन्ने तथ्यांक समितिसँग छैन ।

वाग्मती सन्दरताको कार्ययोजना कार्यान्वयन गर्न मन्त्रीपरिषद्बाट २०६७/४/२७ मा स्वीकृत भई कार्यान्वयनमा रहेको ५ वर्षे कार्ययोजना आर्थिक वर्ष २०७०/७१ मा समाप्त भएको थियो ।  त्यसपछि समितिकोे कार्यअवधि २०८३ असार मसान्तसम्म थप भइ आयोजना सञ्चालन भइरहेको छ ।

समितिका प्रवक्ता उपआयोजना निर्देशक तथा सूचना अधिकारी उद्धव नेपालका अनुसार, वाग्मती सुन्दरताका लागि विभिन्न प्रयासहरू नभएका होइनन् । 

“कति ठाउँमा ढल मिसाइएको छ भन्ने एकीन छैन । तर, हामीले विभिन्न ठाउँमा पानी प्रसोधन केन्द्र स्थापना गरेर प्रयास गरिरहेकै छौँ,” नेपालले भने । 

२२ अर्ब खर्च हुँदा उपलब्धि के भयो ? 

नेपालका अनुसार, ढल निर्माण ८९.९० किलोमिटर, नदी तटबन्ध अन्तर्गत ७६.४५ किलोमिटर, र सडक कालोपत्रे ३४.२१ किलोमिटर भएको छ । त्यस्तै, वाग्मती नदी किनारामा सुन्दरीघाटसम्म मुख्य ढल निर्माणको काम सकिएको छ ।  

गुहेश्वरीमा १६.२ एमएलडी क्षमताको फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरी पीआइडीलाई हस्तान्तरण गरिएको छ । 

bagmati-(2)-1749970685.jpg
 

टुकुचामा फोहोर पानी प्रशोधन केन्द्र निर्माण गर्न आइसीबी खरिद प्रक्रियामार्फत डीबीओ सम्झौता गरी डिजाइन फाइनल भइ काम भइरहेको छ ।  सत्तल तथा मठमन्दिर समेत २८ वटा ऐतिहासिक सम्पदा पुननिर्माण तथा जिर्णाेद्धार कार्य सकिएको नेपालले बताए । 

गोकर्णदेखि सिनामंगलसम्म र थापाथली पुलदेखी बल्खुसम्म वाग्मती नदीको किनारामा नदी सौन्दर्यकरण तथा वातावरणीय सुधारसम्बन्धी निर्माण कार्यलगायत धाप ड्याम निर्माण कार्य सम्पन्न र नागमती ड्याम निर्माणको इआइए वन तथा वातावरण मन्त्रालयमा स्वीकृतिको प्रक्रियामा रहेको समितिले जनाएको छ । 

“वाग्मती सान्दर्यीकरण कार्यअन्तर्गत बनेका पूर्वाधारहरूको मर्मत–सम्भार गरी दिगो व्यवस्थापन गर्न ३ वटा नगरपालिकालाई हस्तान्तरण गरेका छाँै । २०७० साल जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाई महाअभियान ६०० बढी सप्ताहसम्म निरन्तर चलिरहेकै छ,” नेपालले भने । 

समिति भन्छ : अझै बजेट अभाव छ 

नेपालका अनुसार, समिति गठन आदेशको भरमा संचालन भइरहेको तथा अधिकारमा संकुचन हुँदै गएको छ । विकास निर्माणका लागि हरेक वर्ष सरकारको बजेट घट्दो क्रममा रहेको पनि समितिले जनाएको छ ।  अन्तर निकायबीच समन्वयको अभाव हुँदा समस्या आएको छ । 

त्यस्तै समितिको म्याद हाल दुई वर्ष थप भइ २०८३ असार मसान्तसम्म कायम रहेको कार्यकारी समिति अध्यक्ष रिक्त भएको वर्ष दिन बितिसकेको छ । 

नदी किनाराको दायाँ–बायाँ निश्चित दुरीमा रहेका व्यक्तिगत जग्गाको हकमा मुआब्जा दिएर मात्रै निर्माण कार्य अघि बढाउनुपर्ने भएकाले प्रक्रियागत जटिलता र रकम अभावले कतिपयको मुआब्जा दिन नसकिएकाले निर्माण कार्य गर्न बाध भइरहेको उनको भनाइ छ ।

नदीले धार परिवर्तन गरिरहने हुँदा नदीको बहाव क्षेत्र निजी तथा व्यक्तिको जग्गाबाट बग्दा थप चुनौति थपिएको उनले बताए  ।  

पहिले बस्ती बस्ने त्यसपछि ढल निर्माण अनि ढलको मुख्य लाइन निर्माण भएको तर, बस्तीका ढलको भन्दा तल रहेकाले ढलमुक्त गर्न बाधा भइरहेको अवस्था छ । 

२० वर्षीय नयाँ कार्ययोजना कार्यान्वयन गर्ने तयारी 

वाग्मती नदी र यसका सहायक नदीहरूमा वातावरणीय सुधार ल्याउन र समग्र वाग्मती नदीको जलधार संरक्षण गर्न समितिले २० वर्षीय नयाँ कार्ययोजना कार्यान्वयन गर्ने तयारी गरेको नेपालले बताए ।

“आगामी नयाँ आर्थिक वर्षदेखि नयाँ कार्ययोजना लागु गर्ने तयारी गरेका छौँ । २०८० देखि २१०० (२० वर्ष) लक्षित गरी बीस वर्षे कार्ययोजना तयार छ,” नेपालले भने । 

नयाँ २० वर्षे कार्ययोजना कार्यन्वयन गर्न २ खर्ब ७९ अर्ब ६० करोड ५० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १२:४५
प्रतिक्रिया दिनुहोस्