
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच लामो समयपछि भेट भएको छ । महानगरका प्रवक्तासहित तीन वडाध्यक्षसँगै मेयर र उपमेयरबीच भेटवार्ता भएको हो ।
बुधबार (जेठ २८) राष्ट्रिय सभागृहमा उनीहरूबीच भेटवार्ता भएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । “राष्ट्रिय सभागृहमा भेट भएको हो । नगरसभा कहिले राख्ने भन्ने विषयमा छलफल भयो,” उनले बाह्रखरीसित भने, “मेयरसँग भेट नभएको तीन महिना भएको थियो ।”
काठमाडौं–३२ का अध्यक्ष नवराज पराजुली र वडा नम्बर–१५ का अध्यक्ष ईश्वरमान डंगोल पनि बैठकमा सहभागी थिए । डंगोलले मेयरसँग आफ्नो नियमित भेट भइरहेको बताए ।
“आवश्यकताअनुसार मेयरसँग भेटिरहेकै थिएँ । महानगरमा आएका समस्याहरूलाई कसरी समाधान गर्ने भन्ने विषयमा कुराकानी भयो । महानगरका आन्तरिक कामहरूको विषयमा सामान्य कुराकानी भएको हो,” उनले भने ।
महानगर स्रोतका अनुसार, सुरुमा मेयर, उपमेयर र तीन वडाध्यक्षबीच भेटवार्ता भएको थियो । त्यसपछि बुधबारै अपराह्न करिब ४ बजेतिर मेयर र उपमेयरबीच छुट्टै भेटवार्ता भएको थियो । आज पनि उनीहरूबीच भेटवार्ताको तयारी छ ।
उपमेयर डंगोलनिकट स्रोतका अनुसार, मेयर र उपमेयरबीच गत वर्ष पुसदेखि खटपट सुरु भएको थियो । “पुस महिनादेखि खटपट सुरु भएको थियो । त्यसपछि एकदुईपल्ट विभागीय बैठकहरूमा भेट भयो । महानगरभित्रको विवाद सतहमा आइसकेपछि भेट हुन छोडेको थियो,” स्रोतले भन्यो ।
उपमेयर डंगोलले विभागीय प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग भेटघाट कायमै राखेकी थिइन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँगको विवादपछि मेयर र उपमेयर, प्रवक्ताबीचको दूरी बढेको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले काठमाडौं टावरको प्रक्रिया नपुर्याई नक्सापास गरेको आरोपसँगै ०८१ पुसमा विवाद उत्पन्न भएको थियो । त्यसपछि मेयर बालेनले उनलाई छानबिनमा तानेका थिए ।
बालेनले अर्को प्रमुख प्रशासकीय अधिकृत पठाउन भन्दै संघीय सरकारलाई पत्राचार गरेका थिए । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई नै काम गर्ने वातावरण मिलाउन भन्दै महानगरलाई जवाफी पत्र पठाएको थियो ।
तर, बालेनले कुनै हालतमा गुरागाईंलाई हाजिर गराउन नसकिने भन्दै उनको कार्यकक्षमा ताला लगाइदिएका थिए । तर, उपमेयर डंगोलसहित जनप्रतिनिधि र कर्मचारीले गुरागाईंलाई कार्यकक्षमा उपस्थित हुने वातावरण बनाइदिएका थिए । त्योसँगै चार महिनादेखि रोकिएको कर्मचारीको तलब निकासा भएको थियो ।
आफूलाई कार्यालय प्रवेशमा रोक लगाएको भन्दै गुरागाईंले नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण चित्त नबुझेको भन्दै ६ महिनाका निम्ति पाण्डेलाई निलम्बन गरिएको छ ।
प्रवक्ता मानन्धरलाई पनि बालेनको सचिवालयले स्पष्टीकरण सोधेको थियो । मानन्धरले स्पष्टीकरण दिएनन् ।
महानगरको आन्तरिक विवादका कारण आर्थिक वर्ष २०८२/८३ को बजेट समेत अन्योलमा छ । महानगरका अनुसार, गत वर्ष यति बेला बजेटको मस्यौदा तयार भइसकेको थियो ।
नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिले गत वर्ष चैत १० गते मेयर बालेनलाई कार्यपालिका बैठक माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । यही जेठ १२ गते उपमेयर डंगोलसहित ४१ कार्यपालिका सदस्यले कार्यपालिका बैठकको माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका थिए ।
महानगरमा अन्तिमपटक ०८१ पुस ८ गते कार्यपालिका बैठक बसेको थियो । त्यसयता बैठक बस्न सकेको छैन ।
महानगरमा स्वतन्त्र निर्वाचित मेयर बालेन अल्पमतमा छन् ।