
धेरैपछि मैले आज एउटा किताब पढी सिद्ध्याएँ । खासमा पढ्नु उति सजिलो यात्रा होइन । धेरैपटक पुस्तकको गाता हेर्नु, पुस्तकबारेका अरूको दृष्टिकोण चियोचर्चो गर्नु, मानसिक रूपमा तयार हुनु । र, बल्ल पुस्तक उठाउनु ।
खासमा यो पुस्तक मैले नपढ्ने नै निर्णय गरेको थिएँ । किनभने, लेखकको योभन्दा अघिल्लो किताब मुस्किलले दुईचार पाना पढेको थिएँ । त्यसपछि त मजस्ता भ्रमबाजलाई के चाहियो र ! निष्कर्ष निकालिहालेँ– यिनको किताब पढ्नयोग्य छैन ।
बेलाबेला सामाजिक सञ्जालमा मजस्तै अल्पज्ञानी देख्छु । चित्त बुझाउँछु । उनीहरू त बिरामको चौथो स्टेजमा छन् । ममा भर्खर बिराम देखिँदै छ । अनि, खुब खुसी हुन्छु – डाक्टरले भनेको सम्झेर । मजस्ता बिरामीको उपचार सम्भव छ रे !
मेरो हातमा छ, कृष्ण ढुङ्गेलको ‘समयको नक्साबाहिर’ । पुस्तकको विषय सुरु गर्नुअघि एउटा सुन्दर यात्रा गरौँ ।
मलाई फिल्मभन्दा नाटक मन पर्छ । नाटकमा पनि बिस्तारो कथा बग्नुपर्छ । फिल्म पनि नाटक शैलीको हुनुपर्छ । जस्तो, भारतीय सिनेमा ‘थ्री अफ अस’ । धेरैजना मानिसले मन पराएको कुरा मलाई खासै मन पर्दैन । जस्तो कि भारतीय सिनेमा ‘बाहुबली’ ।
यसलाई अझ यसरी भनौँ, मलाई मैले गर्न सक्नेभन्दा बढी विश्वास लाग्दैन । अचानक किताब वा सिनेमाको पात्र भगवान् भएको मलाई मन पर्दैन । फिल्मको पात्र भगवान् शैलीमा आएको मलाई मन पर्दैन । मान्छेले गर्न सक्ने कुरा सिनेमाको नायकले गर्नुपर्छ, अनि मात्रै म हेर्न वा पढ्न सक्छु ।
धेरैपछि मलाई विपीन कार्कीले अभिनय गरेको फूलबारी मन पर्यो । अनि, मनमनै कार्कीलाई धन्यवाद पनि दिएँ – भारतीय सिनेमा ‘एनिमल’ नखेलेकोमा । ‘एनिमल’मा उनलाई मान्छेबाट उठाएर आकाशमा पुर्याइने कोसिस गरिने थियो । के थाहा, त्यसपछि समयजस्तै उनले पनि माटो बिर्सिने थिए कि !
यति भनेपछि तपाईंलाई मेरो इन्ट्रेस्ट थाहा भइसक्यो । आज यो लेखभरि म यस्तै विषय उठाउनेछु । किनभने, लेखकले नामका विषयमा क्या गज्जब लेखेका छन् । यो मैले सुरुमै किन पनि भनेँ भने, मेरो इन्ट्रेस्टसँग तपाईंको विचार बाझियो भने यो लेख पढ्ने वा बन्द गर्ने तपाईं स्वतन्त्र हुनुहुन्छ ।
एकपटक मेरा एकजना निकै मिल्ने साथीले मलाई एउटा किताब सुझाए पढ्नका लागि । उनले किताबको नाम सिफारिस गर्दै गर्दा यतिसम्म भने ‘हामीले खोजेको किताब यही हो । यस्तो किताब भेट्न मुस्किल छ । पढेको छैनस् होला, मिस नगर ।’
मलाई खुब आकाश उचाल्नु थियो । साथीले केके न ज्ञान पाइसक्यो भन्ने लालच पनि उत्तिकै । मैले मेरो वेगभन्दा छिटो किताब हात पारेँ । र, सुरु गरे कठिन पठन–यात्रा ।
कहीँ न कहीँ त राम्रो आऊला भन्दाभन्दै एउटा झुर किताब पढी सिद्ध्याएँ ।
मलाई यसपटक पनि शंका थियो, किनभने किताब सिफारिस गर्ने व्यक्ति उनै हुन् । सँगसँगै अर्को डर पनि थियो । भोलि काठमाडौंमा कृष्णसँग भेट हुँदा म पात्र नै हराउने रहेछु । त्यसैले किताब पढ्न थालँे ।
किताबका बारेमा प्रायः सबैले बोल्छन्, भन्छन् अथवा लेख्छन् पनि । म आज विशुद्ध पाठकको अपेक्षा लेख्छु । पाठकले कसैको किताब उठाउँदै गर्दाखेरि के अपेक्षा गर्छ, त्यही लेख्छु । मेरो बुझाइ छ, यसो भयो भने पुस्तक उठाउने कि नउठाउने सजिलै निर्णय लिन सकिनेछ ।
आफ्ना कुरा मिठोसँग लेख्न जगदीश घिमिरे नै भइराख्नु पर्दैन । त्यो कृष्ण ढुङ्गेलले पनि गर्न सक्छ ।
विषय उही हो । व्यक्तिगत अनुभव, समाजप्रतिको बुझाइ, भाषा–संस्कृति, भोगाइ र भावनात्मक चेतना । विषय उही हो, अनुभूति फरक । तर, खास ।
कृष्ण भन्ने शब्द नै रिदममा छ । त्यो पनि प्रेम वा मायाजालको । हामीलाई कृष्ण भन्ने शब्द कहिल्यै पनि कंसजस्तो लागेन । हामीलाई कृष्ण भन्ने शब्द कहिले पनि भयानक लागेन । हामीसँग कृष्ण भन्ने शब्द सधैँ आँखाको नानीजसरी बसिराख्यो ।
हामीले कहिल्यै यसरी सोचेनौँ कि कृष्ण हुर्कंदै गर्दा हामीजसरी नै हुर्केको हुन्छ । हामीलाई सधैँ बाँसुरी बजाइराखेको कृष्ण मात्रै याद भयो । हामीले बालापनको कृष्ण नै सम्झन खोज्यौँ भने पनि दही खाँदै गरेको कृष्ण मात्र आउँछ दिमागमा । बाँसुरी बजाउन सक्ने हुन्जेल कृष्ण हामीजस्तै थिए । हामीले कहिल्यै त्यसरी सोचेनौँ ।
चप्पलका लोती उसै गरी टुटेका हुँदा हुन्, कृष्णका । काँडाले उसै गरी घोचेका थिए होलान्, उनका पैतालामा । उसै गरी लडेका हुँदा हुन् खेल्दा र चोट लागेको हुँदो हो । उसै गरी आमाले क्युट कृष्णको गालमा चड्काएकी हुँदी हुन् । उसै गरी रुन्थे होलान्, आमादेखि अलि पर लुकेर ।
विद्यालयमा उसै गरी जान्थे होला, गृहकार्य नगरी । उसै गरी तालमेल नमिलाई झुट बोल्थे होला, कापी छुटेको । गुरुले उसै गरी कारबाही गरेका हुँदा हुन् ।
उनी यमुनाको किनारमा भकुन्डो खेल्थे । हामी सानो मैदान चौर वा खाली ठाउँमा । मैले भनेँ नि, हामीलाई कृष्ण भन्ने शब्दसँग प्यार छ । हामी कृष्णलाई दुःखमा परेको सोच्नै सक्दैनौँ ।
लेखकले कृष्ण नाम कसरी रह्यो लेखेका छन् सुरुमै । मजाकमजाकमै भावनात्मक यात्रा गराउनेछन् । अमिर खान अभिनीत चलचित्र ‘थ्री इडियट’मा आमिर खान प्रिय भएजस्तै कृष्ण प्रिय हुनेवाला छन् । तर, यी कृष्णले बाँसुरी बजाउँदैनन्, मायाजाल देखाउँदैनन् । छर्लंगै पारिदिनेछन् नाममा के छ ?
लेखनशैली गजब छ, सरल, सजीव र भावनात्मक । किताब पढिसक्दा यस्तो लाग्छ, कुनै नयाँ लेखकको किताब होइन यो ।
एकपटक मैले मेरा एकजना गुरुलाई सोधेको थिएँ । ‘गुरु, तपाईंले सधैँ साँचो बोल्नुपर्छ साँचो बोल्नुपर्छ मात्रै भन्नुभयो, आज म झुट बोल्नैपर्ने ठाउँमा उभिएको छु, अब म के गरौँ ?’
उहाँले जवाफ दिनुभयो, ‘मिलन, आज पनि साँचो नै बोल ।’
‘तर, कसरी ? आज मैले साँचो बोलेँ भने नतिजा झुटो आउनेछ ।’
गुरु थोरै मुस्कुराउनुभयो । भन्नुभयो, ‘सबै साँचो नभन । त्यति मात्रै भन, जति भन्दाखेरि तिमीलाई असर पर्दैन । झुटोचाहिँ बोल्दै नबोल ।’
यो प्रसंग सुनेपछि तपाईंलाई लाग्यो होला, किताबका बारेमा मैले भन्नैपर्ने खराब पक्षहरू पनि म भन्ने छैन । तर, त्यसो होइन । किताबका केही ठाउँहरू छन्, जसमा तपाईंलाई पनि गुनासो हुनेछ । किनभने, लेखक भगवान् होइन । तर, किताब पढिसक्दा तपाईंको गुनासोलाई लेखकले जित्नेछन्, यो पक्का हो ।
अब यहाँ अर्को पनि एउटा प्रसंगमा कुरा गरौँ ।
मलाई सधैँ लागिरहन्थ्यो, भुइँमान्छेका कथा किन पढ्ने ? साधारण मानिससँग के हुन्छ र अर्काले पढ्न जरुरी छ ! मेरो प्रश्नको गज्जब उत्तर हो यो पुस्तक ।
बजारमा गज्जब बेच्ने कला भएको एउटा प्रकाशनगृहले मलाई किताब लेख्न भनेको थियो । मैले सोचेको थिएँ– मजस्ता मानिसको कथा कसले पढ्ला ? खास उचाइ नभएका टाकुरा को चढ्ला ?
उत्तर सजिलो रहेछ, ‘समयको नक्साबाहिर’ । हुनलाईचाहिँ किताब भावनात्मक यात्रा बढी हो । तर, यात्रा भावनासम्मको हुँदै होइन ।
पढ्दै जाँदा मलाई जहाँ छोयो, तपाईंलाई त्यहीँ छुन्छ जरुरी छैन । पढ्दै जाँदा जुन मलाई भावनात्मक लाग्यो, तपाईंलाई पनि भावनात्मक नै लाग्छ जरुरी छैन । तपाईं हुर्किनुभएको बालापन र मैले भोगेको बालापन फरक हुनसक्छ । हुनसक्छ, बालापन र स्कुले जीवनका कतिपय अनुभूतिहरू कृष्णसँग मिल्न जान्छ । यसैकारण कृष्ण मसम्म आइपुगे ।
सँगै बसेर दुःख लाग्ने सिनेमा दुईजना साथीले हेर्दा दुवैजना उति नै दुःखी हुन्छन् भन्ने छैन ।
इमानदारिताका साथ भन्नुपर्दा खास नलाग्दा नलाग्दै खास लागेका केही प्रसंगहरू छन् किताबमा । आमाको काख, बाबुको अंश पढ्दा जति आनन्द आयो, त्योभन्दा मलाई प्रेम सर नै प्रिय लागे ।
मैले यो लेखमा कर्मकाण्डी कुरा गरिनँ । त्यसको मतलब किताबमा कति पृष्ठ छन्, कति पाठ छन्, केके शीर्षकमा, कुन पाठ के भनेर सुरु गरेका गरेका छन् आदि ।
मैले केवल यति मात्रै भनेँ– किताब सगरमाथा होइन । हिमाल हो, अग्लो नहुँदा नहुँदै रोमाञ्चक यात्रा गराउनेछ ।
पुस्तकको एउटा प्रसंग पनि जोडिहालौँ । बाउको बिहे गरिदिने छोरो कम मान्छेले भोगेका हुन्छन् । यो ठाउँसम्म आइपुग्दा कृष्णलाई भन्न सकिन्छ, उनी इमानदार लेखक हुन् । उनलाई आफ्नै किताबमा आफैँ हिरो हुनु छैन ।
मैले सुरुमै भनेको थिएँ नि, मलाई ‘बाहुबली’ मन पर्दैन । किताब पढ्दा कुनै पनि ठाउँमा कृष्णलाई बाहुबलीजस्तो भेटिँदैन । बरु, उनी त ठ्याक्कै तपाईं र मजस्तै छन् ।