
काठमाडौं । भारतको अहमदाबादका प्रहरी प्रमुख जीएस मलिकले विमान दुर्घटनामा कोही पनि जीवित रहेजस्तो नदेखिएको बताएका छन् । समाचार एजेन्सी एपीसँगको कुराकानीका क्रममा उनले भनेका छन्, "विमान दुर्घटनामा कोही जीवित छन् जस्तो लाग्दैन ।"
उनले बरु विमान दुर्घटनाग्रस्त क्षेत्रका केही स्थानीयको पनि ज्यान गएको हुन सक्ने बताएका छन् ।
बिहीबार (जुन १२) दिउँसो अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमानमा कुल २४२ जना सवार थिए ।
एयर इन्डियाका अनुसार, दुर्घटनाग्रस्त बोइङ ७८७–८ विमानमा १६९ भारतीय, ५३ बेलायती, एक क्यानेडियन र सात पोर्चुगलका नागरिक सवार थिए । विमानमा २३० वयस्क यात्री, दुई शिशु र चालक दलका १० सदस्य थिए ।
स्थानीय समयानुसार दिउँसो १ बजेर ३८ मिनेटमा विमान अहमदाबादबाट उडेको थियो । त्यसको पाँच मिनेटपछि विमान दुर्घटना भएको भारतको नागरिक उड्डयन निर्देशनालयका प्रमुख फैज किदवाईले बीबीसी हिन्दीलाई बताएका छन् ।