
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले स्वदेशी काठलाई उपयोग गर्ने सरकारको नीति रहेको बताएका छन् । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा मन्त्री शाहीले वन क्षेत्रमा रहेका ढलापडा र सुकेका काठलाई उपयोग गर्ने गरी सरकारको नीति तथा कार्यक्रमका साथै बजेटमा उल्लेख गरिएको बताए ।
विगतमा विभिन्न कारणले स्वदेशी काठको उपयोगभन्दा विदेशी काठ फर्निचरमा प्रयोग गरेको पाइएको उनको भनाइ थियो ।
मन्त्री शाहीले वनसम्बन्धी यसअघि ऐन कानुनहरू अहिले समस्याका रूपमा देखिएकाले समयानुकूल संशोधन गर्न लागिएको जानकारी दिए । उनले सुक्खायाममा हुने वन डढेलोप्रति मन्त्रालय गम्भीर भए पनि केन्द्रले मात्रै वन डढेलो नियन्त्रण गर्न नसक्ने भएकाले तीनै तहबीच समन्वय हुनुपर्ने उल्लेख गरे ।
त्यस्तै, मन्त्री शाहीले मानव–वन्यजन्तुबीचको द्वन्द्वका कारण सिर्जित समस्यालाई न्यूनीकरण गर्न पनि नीतिगत सुधार गर्दै लैजाने काम भइरहेको बताए ।
समिति सभापति सोना गेल्जेन शेर्पाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदनले दिएका सुझावलाई कार्यान्वयन गर्न वन मन्त्रालयलाई निर्देशन दिएका छन् ।