
काठमाडौं । विश्व वातावरण दिवस २०८२ को अवसरमा, नेपालमा पहिलोपटक ‘बिन देयर ह्याक्ड द्याट’ थिममा वेस्ट ह्याकाथनको आयोजना हुने भएको छ । राष्ट्रियस्तरको यो कार्यक्रमले प्रविधि विज्ञ, सिर्जनशील व्यक्तिहरू, उद्यमीहरू र जलवायुका अभियन्ताहरूलाई समेटेर फोहोर व्यवस्थापनको बढ्दो समस्यालाई प्रविधि र सिर्जनशीलताका माध्यमबाट समाधान गर्ने लक्ष्य राखेको छ ।
कार्यक्रम जेठ २२ गते बूढानीलकण्ठ नगरपालिकाको सभाहलमा आयोजना हुँदै छ । त्यहाँ देशका प्रतिभाशाली समाधानकर्ताहरू फोहोरलाई अवसरका रूपमा परिवर्तन गर्ने कार्यमा संलग्न हुनेछन् ।
एनसेल फाउन्डेसन, खालीसीसी र बूढानीलकण्ठ नगरपालिकाको संयुक्त पहलमा आयोजनामा हुने ह्याकाथन डिजिटल प्रविधिमा आधारित हुँदै काम गर्दै आएका सेवा प्रदायक, नेपालको औपचारिक फोहोर व्यवस्थापन क्षेत्र र प्रगतिशील स्थानीय सरकारबीचको सरकारी–निजी साझेदारीको एक सशक्त उदाहरण हो । ह्याकाथनको उद्देश्य फोहोर व्यवस्थापन, रिसाइकल पूर्वाधार, प्लास्टिक प्रदूषण र फोहोरमैला व्यवस्थापनमा काम गर्ने अनौपचारिक कामदारहरू विशेष गरी महिलाहरूको सशक्तिकरणका लागि प्रविधिमा आधारित समाधानहरू विकास गर्नु हो ।
“डिजिटल इनोभेसन र वातावरण संरक्षणको प्रयासलाई एकै प्लेफर्ममा जोड्ने यस किसिमको नवीन पहलमा साथ दिन पाउँदा हामी निकै खुसी छौँ । यस ह्याकाथनले नेपालको सबैभन्दा चुनौतीपूर्ण समस्याहरूमध्येको एक–फोहोर व्यवस्थापनका लागि सिर्जनात्मक र प्रविधिमा आधारित समाधानहरूको विकास गर्ने विश्वास लिएका छौँ,” एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर विशाखा लक्ष्मी खड्काले बताइन् ।
नेपालमा दैनिक तीन हजार टनभन्दा बढी फोहोर उत्पादन हुँदै आएको छ, तर औपचारिक रिसाइकल प्रणाली अझै विकासोन्मुख अवस्थामा रहेको छ र फोहोर व्यवस्थापनको क्षेत्रमा महिलाहरूको सहभागिता पाँच प्रतिशतभन्दा कम रहेको छ । यो ह्याकथनले अहिलेको परिस्थितिलाई परिवर्तन गर्दै नवीन, समावेशी र कार्यान्वयनयोग्य विचारहरूलाई प्रोत्साहन गर्दै समुदाय र जलवायु दिगोपनमा आधारित परिवर्तनशील अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखेको जनाइएको छ ।
“यो केवल ह्याकाथन मात्र होइन, फोहोरलाई नवप्रवर्तन, आय र प्रभावको स्रोतका रूपमा पुनः परिकल्पना गर्ने राष्ट्रिय आह्वान हो,” खालीसीसीका संस्थापक तथा सीईओ अमुन थापाले भने, “यस प्लेटफर्ममार्फत हामी समस्या समाधान गर्न दिगो प्रणाली विकासका लागि युवा, महिला र प्रविधिकर्मीहरूलाई सक्षम बनाउने मार्गहरू निर्माण गर्दैछौँ ।”
ह्याकथनमा सहभागी हुन जेठ १५ सम्म आवेदन खुला छ । यसमा विद्यार्थी, स्टार्टअप, इन्जिनियर, डिजाइनर, कोडर, फोहोरमैला व्यवस्थापनमा अनौपचारिक रूपमा योगदान पुर्याउँदै आएकाहरूलगायत सफा तथा स्मार्ट नेपाल बनाउन इच्छुक सबैले भाग लिन सक्छन् । ल्यान्डफिलदेखि परिपरिवर्तनसम्म, धुवाँबिनाको फोहोर, फोहोरमा महिलाको उद्यमशीलता र डिजिटाइज ट्रास गरी चार मुख्य विषयगत क्षेत्रहरूमा प्रतियोगीहरूले समाधान विकास गर्नुपर्नेछ ।
यस ह्याकाथनलाई गोल्यान ग्रुप, प्लास्ट नेपाल फाउन्डेसन, कोकाकोला बेभरेजेज नेपाल, सीएनआईवाइइएफ, नबिल बैंक, ग्रो बाई आइडिया, क्लाउडफ्याक्टरी, फ्युजमेसिन, मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी, व्यापार पाठशाला, एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले सहयोग गरेका छन् ।