site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युद्धमार्फत भारत–पाकिस्तान समस्या समाधान किन सम्भव छैन ?

काठमाडौं । यो महिनाको सैन्य तनावले भारतको उदयमा उसको समस्याग्रस्त छिमेकी देशले कसरी बाधा पुर्‍याउँछ  भन्ने तथ्य विश्वलाई फेरि स्मरण गरायो । यो महिना पाकिस्तानसँग आधा शताब्दीमा भएको सबैभन्दा ठूलो सैन्य युद्धमा भारत केबल ‘ड्र’ खेल्न बाध्य भयो । 

भारतीय सेनाले संवेदनशील पाकिस्तानी वायुसेना क्षेत्रमा ह्यांगरहरू ध्वस्त पार्ने र रनवेमा खाल्डो पार्न सफल भए पनि यो उपलब्धि प्राप्त गर्न आफ्ना विमान गुमाउनुपर्‍यो ।

तर रणनीतिक रूपमा यो युद्ध भारतका निम्ति स्पष्ट असफलता थियो । एक कूटनीतिक र आर्थिक शक्ति बन्न खोज्ने भारत अहिले पाकिस्तानसँग तुलना हुन थालेको छ । पाकिस्तान एक सानो र कमजोर राष्ट्र हो । भारतीय अधिकारीले यसलाई आतंकवादको पक्षपोषण गर्ने देश भनेर चिनाउँछन् ।

चारदिने संघर्षले विश्वलाई भारतको कमजोरी याद गरायो । उसले ७८ वर्षदेखिको पाकिस्तानसँगको द्वन्द्व समाधान गर्न सक्दैन । कुनै पनि टकरावले पाकिस्तानलाई मात्र फाइदा पुग्छ । उसका निम्ति भारतसँगको तनाव दीर्घकालीन राजनीतिक रणनीति हो । दुवै देशसँग परमाणु हतियार भएकाले पूर्ण रूपमा सैन्य विजय असम्भव छ ।

भारतका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननले भने, “हामी भारतमा पाकिस्तानबाट आतंकवादजस्तो रणनीतिक व्याकुलतामा धेरै समय र ऊर्जा खर्च गर्न बाध्य छौँ, जुन दुर्भाग्यपूर्ण छ । तर यो हाम्रो वास्तविकता हो र हामीले यसलाई व्यवस्थापन गर्नुपर्छ ।”

सन् १९४७मा भारत–पाकिस्तान विभाजनदेखि नै यसलाई कसरी समाधान गर्ने भन्ने प्रश्नले भारतीय नेताहरूलाई सताइरहेको छ ।

धेरै कूटनीतिज्ञ, विश्लेषक र अधिकारीहरूसँग गरिएका अन्तर्वार्ताहरूले भारतको यो द्वन्द्व अझै जटिल बनेको देखाएका छन् । धेरै युद्ध र धेरै असफल शान्ति प्रयासपछि पनि समस्या बढ्दै गएको छ ।

भारतले यो महिना पाकिस्तानमा आक्रमण गर्‍यो, जसले आतंकवादी हमलाको जिम्मेवारी लिएको थियो । दुवै पक्षले पहिलोपटक ठूलो मात्रामा ड्रोन र आधुनिक हतियारहरू प्रयोग गरेकाले युद्ध अझै तीव्र हुने जोखिम बढेको छ । अमेरिकाले भारतलाई बढ्दो कूटनीतिक र सैन्य सहयोग दिँदै आएको छ । त्यस्तै, चीनले पाकिस्तानलाई समर्थन गरेकाले महाशक्तिहरूको भूमिका पनि यसमा थपिएको छ ।

यसैबीच, दुवै देशका नेताहरू धार्मिक राष्ट्रवादी नीतिअनुसार काम गरिरहेका छन् र एक–अर्काप्रति कडा भावनात्मक सम्बन्ध राख्छन् । जसले कुनै पनि समस्या सुल्झाउने प्रयासलाई असम्भव बनाएको छ ।

पाकिस्तानी सेनाले देशको राजनीतिलाई विकृत गर्दै आएको छ र अहिले यसले आफ्नो वास्तविक शासनलाई विस्तार गर्दै यस्तो विचारधारात्मक मोड लिएको छ । भारतमा, हिन्दु राष्ट्रवादी शासनको उदयले तनाव बढ्दा प्रतिक्रिया दिन गाह्रो बनाएको छ, किनभने प्रधानमन्त्री नरेन्द्र मोदीको दक्षिणपन्थी विचारधाराले प्रायः हिंसात्मक प्रतिक्रियाको माग गर्छ ।

यसले भारतलाई सन् २००८ मा १६० भन्दा बढी मानिसहरूको मृत्यु हुनेगरी भएको मुम्बई आतंकवादी हमलामा देखाएको जस्तो संयम दोहोर्‍याउन गाह्रो बनाएको छ । त्यतिबेला, युद्धले भारतको उदयलाई कसरी बाधा पुर्‍याउँछ भन्ने जागरुकताले प्रतिशोधमा जानुपर्ने घरेलु दबाबलाई वास्ता गरिएको थिएन ।

त्यस समयमा भारत सरकारले मुम्बई हमलापछि पाकिस्तानमा सैन्य प्रहार गर्ने निर्णय लिनुभन्दा आतंकवादी हमलामा विश्वको ध्यान केन्द्रित गर्ने र आतंकवादलाई समर्थन गरेको भन्दै पाकिस्तानलाई अलग गर्ने नीति अपनायो । ऊ पाकिस्तानलाई युद्धभूमिमा बराबरको प्रतिद्वन्द्वीको रूपमा उभ्याउनबाट बच्न खोजेको थियो ।

तर १७ वर्षपछि आतंकवादीहरूले अप्रिल २२ मा कश्मीरमा दर्जनौँ हिन्दु पर्यटकको हत्या गरे । तर, यसपटक भारतले पाकिस्तानमा सैन्य आक्रमण गरेर प्रतिक्रिया दियो र दुवै पक्ष पूर्ण युद्धको अन्तिम विन्दुमा पुगे ।

भारतीय अधिकारीहरूले पाकिस्तानको छद्म युद्ध नीति गलत छ भन्ने सन्देश दिनुपरेको थियो । उनीहरूले सीमापारी नदीहरूको प्रवाह रोक्ने धम्कीसहित पाकिस्तानलाई दबाउने व्यापक रणनीतिस्वरूप भारतले आक्रमण गरेको बताए ।

भारतका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननजस्ता आलोचकहरूले पनि के स्विकार्छन् भने यसपटक भारतसँग अरू विकल्प एकदमै सीमित थिए ।

एक अडिग छिमेकी

वर्षौंदेखि भारत र पाकिस्तान बिल्कुल फरक दिशामा अगाडि बढ्दै आएका छन् । भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बन्दै गर्दा अमेरिका र यसका सहयोगीहरूले यसलाई चीनको प्रतिसन्तुलनको रूपमा भू–राजनीतिक साझेदार र लगानी गन्तव्यका रूपमा आकर्षित गर्दै आएका छन् । 

अमेरिकी र भारतीय नेताहरू पुरानो इन्डो–पाक समस्याभन्दा पनि पूर्वीएसियाका विकसित अर्थतन्त्रहरू समावेश गरिएको विस्तारित इन्डो–प्यासिफिक क्षेत्रबारे कुरा गर्न रुचाउँछन् ।

“अहिलको सन्दर्भमा भारतका निम्ति चीन पाकिस्तानभन्दा धेरै ठूलो खतरा हो,” ह्वाइट हाउसका पूर्वउपराष्ट्रिय सुरक्षा सल्लाहकार जोन फाइनरले भने ।

हिमालय सीमामा चीनको घुसपैठ र क्षेत्रीय प्रभुत्वको प्रतिस्पर्धा बढ्दै गएको अवस्थामा भारतले चीनसँग सम्बन्ध सुधार्न खोज्दा पाकिस्तानसँग द्वन्द्वमा फसेर बस्न नचाहने उनले बताए ।

जन्मदेखि नै सेनाद्वारा शासित रहेको पाकिस्तानले आफ्नो आकार र प्रभावलाई न्यायोचित ठहर्‍याउन भारतलाई सदाको सत्रुको रूपमा परिभाषित गरेको छ । तर भारत अगाडि बढ्दै गर्दा पृष्ठभूमिमा पाकिस्तानले भारतलाई समस्या उत्पन्न गरिरहेको छ ।

पाकिस्तानभन्दा अगाडि बढिसकेको भारतीय अर्थतन्त्रले धेरै वर्षपछि सन् १९९८ मा भूमिगत परमाणु परीक्षण गरेर विश्व शक्तिको पंक्तिमा सामेल हुने ठूलो कदम चाल्यो । त्यसको केबल दुई हप्तापछि पाकिस्तानले आफ्नै परमाणु परीक्षण गर्‍यो । यसले अचानक भारतले प्राप्त गरेको लाभलाई निष्क्रिय बनायो ।

राष्ट्रपति बिल क्लिन्टनले तुरुन्तै यस क्षेत्रलाई ‘विश्वको सबैभन्दा खतरनाक ठाउँ’ भनेर चिन्ता व्यक्त गरे । यो भारतले हासिल गर्न खोजेको कुरा थिएन । चीन, रुस र पश्चिमी शक्तिहरूसँग जोडिनुको सट्टा भारत एक नयाँ भयानक जटिलतामा फसेको थियो ।

परमाणु गतिरोधले शान्ति ल्याउन सकेन । पाकिस्तानले अफगानिस्तानमा सोभियतविरुद्ध अमेरिकी ‘स्पन्सर्ड’ जिहादी समूहहरू चलाउने अनुभवलाई भारतविरुद्धको लडाइँ विस्तार गर्न प्रयोग गर्‍यो ।

कडा रणनीति अवलम्बन

भारतका हिन्दु राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना अघिल्ला नेताजस्तै शान्तिको प्रयास पनि गरेका थिए ।

सन् २०१४ मा ठूलो जित हासिल गरेपछि उनले अर्को वर्ष पाकिस्तानको आश्चर्यजनक भ्रमण गरे । यो एक दशकमा पहिलोपटक भारतीय प्रधानमन्त्रीको भ्रमण थियो । उनले भारतलाई विकसित राष्ट्र बनाउने प्रतिज्ञा गरेका थिए र युद्धका कारण अत्यधिक स्रोत दोहन भइरहेको सन्दर्भमा यसको समाधान खोज्न चाहन्थे ।

तर, नौ महिनापछि आतंकवादीहरूले भारतीय सैन्य अड्डामा हमला गरे । भारतले पाकिस्तानले पालनपोषण गरेका समूहलाई दोषी ठहर्‍यायो । शान्तिको कुरा तत्कालै समाप्त भयो ।

यस हमलापछिको भारतको प्रतिक्रियाले सैन्य प्रतिशोधको एउटा बढ्दो प्रवृत्ति सुरु गर्‍यो, जुन सन् २०१९ मा भएको हमला र गत महिनाको आतंकवादी हमलामा दोहोरियो । भारतले पाकिस्तानलाई दण्ड दिने रणनीति पनि अपनायो ।  त्यसअनुरूप कूटनीतिक वार्ता रोक्यो, पाकिस्तानलाई अन्तर्राष्ट्रिय स्तरमा एक्ल्यायो, सीमा सुरक्षा बढायो र गोप्य रूपमा पाकिस्तानको आन्तरिक कमजोरीहरू बढाउने प्रयास गर्‍यो ।

प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा नीतिका सूत्रधार तथा सल्लाहकार अजित डोभालले परमाणु खतराको सामुन्ने भारतका अघिल्ला सरकारहरू धेरै रक्षात्मक बनेको आरोप लगाए । उनले सन् २०१४ मा मोदीको राष्ट्रिय सुरक्षा सल्लाहकार बन्नुभन्दा ठीक अघि भने, “यस्तो प्रकारको लडाइँमा हामी कहिल्यै अगाडि बढ्न सक्दैनौँ किनभने नतिजा या त हार हुन्छ वा गतिरोध अवस्थामा रहन्छ ।”

उनले रक्षात्मक आक्रमणको रणनीति प्रस्ताव गरे, जुन मूलतः पाकिस्तानको युद्धनीतिको नक्कल थियो ।

विश्लेषक र अधिकारीहरूका अनुसार हालैका वर्षहरूमा भारतले आफ्नाविरुद्ध सक्रिय आतंकवादी मार्ने ‘हत्या अभियान’ चलाएको छ । पाकिस्तानी सेनालाई थकाउने विद्रोह (जस्तैः बलुचिस्तान)हरूमा सहयोग गरेको आरोप भारतमाथि लागेको छ ।

सन् २०१४ मा डोभालले भनेका थिए, “तिमी एउटा मुम्बई हमला गराउँछौ भने तिमीहरूले बलुचिस्तान गुमाउन सक्छौ । यसमा परमाणु युद्ध छैन, सेनाको टकराव पनि छैन । यदि तिमी यो ट्रिक अपनाउँछौ भने हामी योभन्दा अझ राम्रो ट्रिक अपनाउँछौँ ।”

हालैको द्वन्द्वपछि भारतले खुला कारबाहीको धम्की दिएको छ । उसले अब कुनै पनि आतंकवादी हमला युद्ध कार्य मानिने बताएको छ । यसले लगातार सैन्य टकराव बढाउने खतरा छ । 

भारतका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार श्री मेननले भने, “निवारण व्यक्तिपरक छ र यो मन पढ्ने खेल हो,” उनले भने । उनका अनुसार व्यावहारिक प्रश्न भनेको पाकिस्तानी सेनालाई प्रेरित गर्ने कारकहरू बदल्न सकिन्छ कि भन्ने हो ।

यो महिना पाकिस्तानसँग भएको चारदिने अप्रत्याशित टकरावले भारतको महत्त्वाकांक्षा र यसको सीमाबीचको खाडल फेरि याद दिलायो । नयाँदिल्लीका पश्चिमी कुटनीतिज्ञहरूले भने, “भारतले पर्याप्त कूटनीतिक शक्ति निर्माण गरिसकेको छ र विश्व अर्थतन्त्रमा एकीकृत भइसकेको छ, जसले गर्दा यसको प्रतिष्ठामा ठूलो प्रहार हुने छैन ।”

तर, पाकिस्तानका पूर्वअमेरिकी राजदूत हुसेन हक्कानीले भने, “भारतीय नेताहरूले के बुझ्नुपर्छ भने उनीहरू आफ्नो छिमेकीबाट मुक्त भएर विश्व शक्ति बन्न सक्दैनन् । चाहे सत्रु हुन्, मित्र हुन् वा तटस्थ, तपाईं आफ्ना सबै छिमेकीहरूसँग कुनै न कुनै सहअस्तित्वको अवस्थामा बस्नुपर्छ ।”

द न्युयोर्क टाइम्स

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १९:०५
प्रतिक्रिया दिनुहोस्