
काठमाडौं । गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेबीचको सम्बन्धमा अड्कलबाजी भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेट पनि स्थगित भएको छ ।
सोमबार नियमित बस्ने मन्त्रिपरिषद् बैठक पनि स्थगित भएको छ ।
बेलुका बोलाइएको बैठक पनि अन्तिम समयमा स्थगित भएको बालुवाटार स्रोतले जानकारी गराएको छ ।
गभर्नर नियुक्ति प्रक्रियामा अलमल भइरहनु गठबन्धनबीच देखिएको अविश्वासको वातावरण भएको निष्कर्ष कतिपय नेताले निकालेको भए पनि देउवाको सचिवालय स्रोतले भने ‘प्रधानमन्त्रीले आज सन्चो छैन, नभेटौं’ भनेपछि भेट रोकिएको जानकारी गराएको छ ।
“प्रधानमन्त्रीज्यूले आज मलाई सन्चो छैन नभेटौं भनेपछि रोकिएको हो,” देउवा निकट स्रोतले जानकारी गराउँदै भन्यो, “गठबन्धनमै समस्या भएको भन्ने होइन ।”
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पनि गठबन्धनमा कुनै समस्या नभएको बताए ।
“गठबन्धनमा समस्या छैन,” उनले भने, “बालुवाटारबाट आज नभेटौं भनेपछि दुई नेताबीचको भेट रोकिएको हो ।”