site stats
बाह्रखरी :: Baahrakhari
देश
‘थर्मल क्राउड आउट ब्रस्ट’ हुँदा आएको थियो हुम्लामा एक्कासि बाढी

काठमाडौं । यही जेठ १ गते राति हुम्लामा एक्कासि आएको बाढीका कारण भौतिक क्षति भयो । केही काठेपुल बगायो । जमिन कटान हुँदा त्यहाँको बस्ती जोखिममा छ । एउटा जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ ।

हुम्लाको नाम्खा गाउँपालिका–६, तिलगाउँनजिकै तिल्चुङ खोलामा एक्कासि बाढी आएको हो । तिलगाउँ समुद्री सतहबाट करिब ३८ सय मिटरको उचाइमा अवस्थित छ । र, बाढीपछि त्यो गाउँ जोखिममा छ ।

सरकारी निकायका अनुसार, बाढी आएको समयमा त्यहाँ आसपास वर्षा भएको थिएन । वर्षा नभएका बेला कसरी आयो त एक्कासि बाढी ?

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले यसलाई ‘थर्मल क्रस्ट आउट ब्रस्ट’ भनेको छ । अर्थात्, त्यहाँभन्दा धेरै माथिल्लो भागमा रहेको हिमतालमुनि जमेको ‘कालो हिउँ’ ताप र चापका कारण पग्लिएर एक्कासि बाहिर आएको इसिमोडले जानकारी गराएको छ । सोमबार (जेठ ५) गृहमन्त्री रमेश लेखकसहित बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा इसिमोडका तर्फबाट यस्तो जानकारी गराइएको हो ।

इसिमोडले ‘स्याटेलाइट इमेज’ हेरेर अध्ययन गरेको थियो । तिलगाउँबाट त्यहाँ गएका स्थानीयले खिचेर पठाएका तस्बिर पनि अध्ययन गरिएको गृह मन्त्रालयअन्तर्गको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए । उक्त घटना भएको समयमा त्यहाँको तापक्रम बढेको पाइएको उनले बताए ।

तर, यसलाई हिमताल विस्फोट भन्न नमिल्ने इसिमोडले जनाएको छ । “हिमताल माथिको सतह अलिकति चर्किएको देखिन्छ, माथि केही पनि भएको छैन, तर सतह घट्यो,” इसिमोडको भनाइ उद्धृत गर्दै उनले बाह्रखरीसित भने, “हिमतालको तलतिरको हिउँहरू पग्लिएर आउट ब्रस्ट भो भन्ने बुझ्नुपर्‍यो ।”

उनले अगाडि भने, “माथिकोले प्रेसर गर्‍यो, मुनिचाहिँ सुरुङमार्गजस्तो भएर, पाइपजस्तो भएर बाहिर आयो । हिमतालको मुनि भागबाट ।”

त्यसरी पानी बाहिर निस्कँदा खोलामा बाढी आएको उनले बताए । र, तत्काल फेरि त्यस्तो घटनाको सम्भावना खासै नहुने उनको भनाइ छ ।

यता, जल तथा मौसम विज्ञान विभागले पनि बाढीबारे अध्ययन गरिरहेको छ । त्यसबारे केही दिनमा स्पष्ट भन्न सकिने विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए ।

प्राधिकरणको बैठकमा उक्त घटनाबारेको इसिमोडको प्रस्तुति प्रवक्ता केसीले बाह्रखरीलाई जानकारी गराएका छन् । त्यसबारे विस्तृतमा अडियोमा सुन्नोस्–

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १९:१६
प्रतिक्रिया दिनुहोस्