
काठमाडौं । पाकिस्तानका विदेशमन्त्री इस्हाक दार तीनदिने भ्रमणका लागि चीन जाने भएका छन् । भारतसँगको सैन्य संघर्ष र युद्धविरामपछि पाकिस्तानबाट उच्चस्तरीय चीन भ्रमण हुन लागेको हो ।
विदेशमन्त्री दार सोमबार बेइजिङ प्रस्थान गर्दै छन् । उनले चीनका विदेशमन्त्री वाङ यीसँग दक्षिण एसियाली क्षेत्रमा परिवर्तनशील परिस्थिति र यसले शान्ति तथा स्थिरतामा पार्न सक्ने प्रभावबारे छलफल गर्ने तय भएको छ ।
“दुवै पक्षले पाकिस्तान–चीन द्विपक्षीय सम्बन्धको समग्र अवलोकन गर्नेछन् । आपसी महत्त्वका क्षेत्रीय तथा विश्वका विकास क्रममा विचार आदानप्रदान गर्नेछन्,” विदेशमन्त्री दारको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारत नियन्त्रित कश्मीरमा अप्रिलमा २२ मा २६ जना पर्यटकको हत्या भएको थियो । भारतले आतंकवादी हत्याको पछाडि पाकिस्तान संलग्न रहेको आरोप लगाएको थियो । प्रतिक्रियास्वरूप मे ७ मा भारतले पाकिस्तानमा रहेका 'आतंकवादी शिविर'मा हवाई हमला गरेको थियो ।
यसपछि भारत र पाकिस्तानबीच चार दिनसम्म सैन्य संघर्ष चलेको थियो । दुवै पक्षबीच ड्रोन, मिसाइल आक्रमण र गोलाबारीको शृंखला सुरु भएको थियो । द्वन्द्वमा दुवैतर्फ ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो, जसमा धेरै सर्वसाधरण थिए ।
भारत र पाकिस्तान दुवैले सबै कश्मीरलाई आफ्नो भूमि दाबी गर्छन् । सन् १९४७ मा बेलायती शासनबाट स्वतन्त्र भएदेखि दुवै देशले कश्मीरका लागि धेरैपटक युद्ध लडिसकेका छन् ।
दुई देशबीचको द्वन्द्व अझै बढ्न सक्ने डरले विश्वका नेताहरूले सुरुदेखि नै दुवै पक्षलाई संयम हुन आग्रह गरेका थिए । चीनले पनि रचनात्मक भूमिका खेल्ने वाचा गरेको थियो । तर, धेरै चीन स्पष्टरूपमा पाकिस्तानको पक्षमा रहेको आरोप लाग्ने गर्छ । चीन पाकिस्तानको विश्वसनीय विदेशी साझेदार हो ।
एएफपीबाट ।