-1747632528.jpg)
काठमाडौं । पाकिस्तानविरुद्धको सैन्य अभियानबारे सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा भारतमा एक विश्वविद्यालयका प्राध्यापक गिरफ्तार भएका छन् । दुई परमाणु शक्तिसम्पन्न छिमेकी देशहरूले युद्धविराम सम्झौता गरेको एक हप्ताभन्दा पछि यो घटना भएको अलजजिराले जनाएको छ ।
भारतको एक प्रतिष्ठित लिबरल आर्टस् विश्वविद्यालय अशोका विश्वविद्यालयको राजनीति विज्ञान विभागका सहायक प्राध्यापक अली खान महमूदाबाद गिरफ्तारीमा परेका हुन् । उनलाई आइतबार धार्मिक सद्भावमा प्रतिकूल प्रभाव पार्ने, सशस्त्र विद्रोह वा विध्वंसक गतिविधिहरू उत्तेजित गर्ने र धार्मिक विश्वासमा अपमान गर्नेजस्ता दण्डसंहिताका धाराअन्तर्गत गिरफ्तार गरिएको हो ।
एक प्रहरी अधिकारीले इन्डियन एक्सप्रेस अखबारलाई बताएअनुसार, ४२ वर्षीय महमूदाबादलाई राजधानी नयाँदिल्लीबाट गिरफ्तार गरिएको हो । हरियाणा राज्यको सोनिपतमा अवस्थित विश्वविद्यालय दिल्लीबाट ६० किलोमिटर उत्तरमा पर्छ ।
अनलाइन प्रत्रिका स्क्रोलइनले आइतबार प्रकाशित गरेको एक रिपोर्टमा महमूदाबादका वकिललाई उद्धृत गर्दै हरियाणाका शासक दल भारतीय जनता पार्टी (भाजपा) युवा शाखाका महासचिव योगेश जठेरीले शनिबार गरेको उजुरीमा आधारमा उनविरुद्ध मुद्दा दर्ता गरिएको उल्लेख छ ।
हरियाणा राज्य महिला आयोगले महमूदाबादलाई भारतले पाकिस्तान र पाकिस्तान–प्रशासित कश्मीरमा गरेको सैन्य अभियानसम्बन्धी दैनिक प्रेस प्रत्रकार सम्मेलनको बारेमा गरेको टिप्पणीका आधारमा बोलाएको केही दिनपछि नै उनलाई गिरफ्तार गरिएको हो ।
भारतीय सेनाका कर्नेल सोफिया कुरेशी र विङ कमान्डर व्योमिका सिंहले मे ६मा सुरु गरिएको अभियान अपरेशन सिन्दूरसम्बन्धी पत्रकार सम्मेलन गरेका थिए ।
मे ८मा एक फेसबुक पोस्टमा महमूदाबादले लेखेका थिए, “म कर्नल सोफिया कुरेशीको प्रशंसा गर्ने धेरै दक्षिणपन्थी टिप्पणीकार देखेर धेरै खुसी छु । उनीहरूले मनोमानी ढंगले घर ध्वस्त पार्ने र भाजपाको घृणा फैलाउने नीतिका सिकार भएका अन्य भारतीय नागरिकको सुरक्षाको माग पनि गर्न सक्थे ।”
“दुई महिला सैनिकहरूले आफ्ना प्रस्तुति दिँदै गरेको दृश्य महत्त्वपूर्ण छ, तर यी दृश्यहरूले वास्तविक जीवनमा परिणाम देखाउनुपर्छ, अन्यथा यो केवल पाखण्ड मात्र हो ।”
उनको यो पोस्टमा भारतीय सेनाकी मुस्लिम अधिकारी कुरेशी र मुस्लिमहरूविरुद्ध र कानुनी प्रक्रिया नपुगी उनीहरूका घरहरू ध्वस्त पार्नेजस्ता हमलातर्फ संकेत गरिएको थियो ।
स्थानीय मिडिया रिपोर्टअनुसार हरियाणाको महिला आयोगले सोमबार प्राध्यापकको भनाइले भारतीय सेनाका महिला अधिकारीलाई अपमानित गरेको र साम्प्रदायिक अशान्ति बढाएको आरोप लगाएर उनलाई बोलाएको थियो ।
महमूदाबादले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै आफ्नो टिप्पणीको बचाउ गरेका छन् । उनले आफ्नो भनाइको गलत व्याख्या गरिएको बताएका छन् ।