
काठमाडौं । भारतस्थित अमेरिकी दूतावासले भिसा अवधि नाघेपछि पनि अमेरिका बसे स्थायी प्रतिबन्ध लाग्न सक्ने चेतावनी दिएको छ ।
मे १७ मा अमेरिकी दूतावासले एक्समा भनेको छ, “अनुमति पाएको अवधिभन्दा बढी तपाईं अमेरिकामा बस्नुभयो भने तपाईंलाई निकाला गरिन सक्छ र भविष्यमा अमेरिका यात्रा गर्न स्थायीरूपमा प्रतिबन्ध लाग्न सक्छ ।”
“भिसा अपराध गम्भीर अपराध हो । यसका गम्भीर परिणाम हुन सक्छन्,” दूतावासले थपेको छ, “झुटा जानकारी वा नक्कली कागजात प्रस्तुत गर्नाले स्थायी भिसा प्रतिबन्ध र आपराधिक मुद्दासम्म लाग्न सक्छ ।”
दूतावासले अवैध भिसा एजेन्टसँग काम गरेर भविष्यका लागि जोखिम नउठाउन सुझाव दिएको छ ।
अमेरिकी दूतावासको पोस्टले भारतमा बहस सिर्जना गरेको छ । कतिपयले आलोचना नै गरिरहेका छन् ।
एक भारतीयले एक्समा लेखेका छन्, “यो भाषा अशिष्ट र अनुपयुक्त छ । सबै भारतीयलाई यस्तो सम्बोधन गर्दै हुनुहुन्छ जस्तो कि उनीहरू अमेरिकामा अवैध आप्रवासी हुन् । मैले पहिलोपटक कुनै दूतावासले आफ्नो पाहुना देशका नागरिकलाई यस्तो धम्कीयुक्त आदेश जारी गरेको देखेको छु ।”
न्युज जर्नलबाट ।