
काठमाडौं । सर्वोच्च अदालतका एक अधिकृतको पत्रले राज्यका सबै अंगलाई हल्लाइदियो, चैत १७ गते ।
सर्वाेच्च अदालतका अधिकृत महिमानसिंह विष्टको पत्रसँगै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी एकाएक पक्राउ मात्र परेनन् कि कारागार चलान भएपछि सर्वोच्च अदालत, महान्यायाधिवक्तादेखि प्रधानमन्त्री कार्यालयसम्म अन्योलमा परेका थिए ।
चौधरीलाई कैद माफी दिने सरकारी प्रस्तावमा राष्ट्रपतिबाट भएको निर्णयविरुद्धको रिटमा असारमा पेसी तोकिएको थियो । तर, ती अधिकृतले पठाउँदै चौधरीलाई पक्राऊ गराएका थिए ।
अनधिकृत पत्रसँगै सर्वोच्च प्रशासनले विष्टमाथि अनुसन्धान गर्न प्रहरीको जिम्मा लगाएको थियो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको निजी सचिवालयमा कार्यरत सह–रजिष्ट्रार सरोजराज रेग्मीको नेतृत्वमा गठित समितिले मुख्यरजिष्ट्रार देवेन्द्रराज ढकाललाई छानबिन प्रतिवेदन बुझाइसकेको छ । सर्वोच्च प्रशासन उनलाई के/कस्तो कारबाही गर्नेबारे निर्णयमा नपुगेको सर्वोच्चका एक अधिकारीले जानकारी दिए ।
विष्टले सर्वोच्चको पत्र तयार पारी, सर्वोच्च अदालतको छाप दुरुपयोग गरी आफ्नै हस्ताक्षरको पत्र बोकेर पुलिस हेडक्वार्टर पुगेर चौधरीलाई पक्राउ गराउँदै डिल्लीबजार कारागार पुर्याएका थिए ।
उनलाई भएको कारबाही सिफारिस र त्यसपछिको प्रक्रिया भने सर्वोच्चका अधिकारीले बताएनन् ।
“प्रतिवेदन सार्वजनिक गर्ने समय भएको छैन र कारबाहीका सम्बन्धमा पनि कुनै निर्णय भइसकेको छैन,” ती अधिकारीले बाह्रखरीसँग भने ।
विष्टले प्रहरीमा आफ्नै विवेकका आधारमा चौधरीलाई पक्राउ गरेको बयान दिएका थिए ।
सर्वाेच्च ती अधिकारीका अनुसार, सर्वोच्च प्रशासनको छानबिन समितिलाई पनि आफ्नै मर्जीले पत्र लेखेर पक्राउ गराएको स्वीकार गरेको र कारबाही भोग्न तयार भएको बयान दिएका छन् ।
“बाहिरबाट कसैको निर्देशन वा आदेश भएको भन्ने पुष्टि हुन सकेन,” एक अधिकारीले भने, “मैले आफ्नो विवेकले नै पत्राचार गरी पक्राउ गरेको हुँ, ममाथि हुने कारबाहीका लागि तयार छु भनी बयान भनेका छन् ।”
प्रहरी अनुसन्धान निम्ति फोन कल तथा अन्य सम्पर्क सूत्र अध्ययन गर्दा पनि नयाँ तथ्य फेला पारेको छैन ।
“फोन कल, म्यासेजसहितका अन्य सम्पर्क सूत्रका विषयमा अनुसन्धान भइरहेको छ । भोलि अनुसन्धानले नयाँ तथ्य पुष्टि भयो भने त्यसैबेला नै थाहा होला,” काठमाडौं जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक अपीलराज बोहोराले बाह्रखरीसँग भने, “उनले आफ्नै खुसीले निर्णय गरेको, मैले ठिक निर्णय लिएको छु र जस्तोसुकै कानुुनी परिणामका लागि तयार छु भनी बयान दिइरहेका छन् ।”
उनले जागिर जान सक्ने र आफैँ जेल पर्न सक्ने तहको निर्णय किन लिए भन्ने विषयमा मुख खोलेका छैनन् ।
बाह्य प्रभाव वा आश्वासनमा काम गरेको कुनै संकेतसम्म पनि गरेका छैनन् । तर, उनले आफूलाई ‘हाइ कफिडेन्स’मा देखाउने प्रयास चाहिँ जारी राखेका छन् ।