मदन भण्डारी विसं २००९ साल असार १४ गते देवीप्रसाद भण्डारी र चन्द्रकला भण्डारीका दोस्रो सन्तानका रूपमा ताप्लेजुङ्ग जिल्लाको साबिकको ढुङगेसाँगु गाविसमा जन्मेका थिए । उनले टुडलबोटे हिउँदे स्कुल र ठोट्ने प्राथमिक बिद्यालय बरडाँडा ताप्लेजुङ्गबाट आफ्नो औपचारीक शिक्षा सुरु गरी निमाबि भने तेम्बे मावि ढुङ्गेसाँगुबाट पूरा गरे । माविस्तरको शिक्षा बालसुबोधनी संस्कृत माध्यमिक विद्यालय फुङलिङ्गबाट पुरा गरेका थिए । सबैबीच फरक तथा मिलनको विन्दु पहिचान गर्न सिपालु विलक्षण प्रतिभाका धनी थिए जननेता मदन भण्डारी ।
नेपालमा राणा शासनविरुद्धको जनक्रान्तिबाट विसं २००७ साल फागुन ७ गते प्रजातन्त्रको उदय भयो । समाज भने सामन्ती व्यवस्थामै थियो । यसैले सर्वहारा जनताको पक्षधर मदन भण्डारीलाई नेपाली राजनीतिमा प्रवेश गर्ने र देशका यस्ता सबै खाले विभेद, असमानता अन्त्य गर्ने सोचको विकास भएको हुनुपर्छ ।
मदन कोरा कम्युनिस्ट दर्शनका पक्षमा नभएर 'जनताद्वारा जनताको लागि गरिने शासन' व्यवस्थामार्फत नयाँ जनवादी राज्यव्यवस्था र लोककल्याणकारी प्रगतिशील समाजवादी राज्यको पक्षमा जनवादी सोचको खोजी गर्ने व्यक्तिका रूपमा उदाए । यसैले उनलाई लोकतन्त्रवादी पनि मान्न सक्दछौँ ।
विशेषगरी २०२५-२६ पछिका विद्यार्थी राजनीति, झापा आन्दोलनलगायतले तताएको कम्युनिस्ट राजनीतिमा मोरङको २०३५ को इटहरा गाउँको भण्डारीकै घरमा नेपाल कम्युनिस्ट पार्टी (माले)को घोषणा गर्दा उहाँ पार्टीको केन्द्रीय कमिटीमा आबद्ध भएका थिए । त्यसपछिका विभिन्न राजनीतिक घटना क्रम साथै २०३६ सालको जनमत संग्रहपछि नेपाल कम्युनिस्ट पार्टी (माले)भित्रको नयाँ जनवादी सिद्धान्त अंगिकार गर्दै जनताको जनवादलाई अधिकतम् लक्ष्य लिनुपर्छ र तत्कालिन कार्यनीति पञ्चायतलाई ढाल्ने किसिमको हुनुपर्छ भन्ने धार थियो । अर्थात् वामपन्थी विरोधी शक्तिसँग मिलेरै भए पनि देशका राजनीतिक शक्तिहरूको बृहत् एकताको आधारमा निरङकुश व्यवस्था ढाल्नुपर्छ भन्ने र उग्रवामपन्थी धारमा तत्काल राजतन्त्रविरुद्ध क्रान्ति गर्नुपर्छ भन्ने पक्षहरूबीचको विवादमा मदन भण्डारीको स्थान समन्वयकारी रहेको पाइन्छ ।
जनमत संग्रहपछि बिस्तारै नेकपा (माले) पार्टीभित्र जनसंघर्षको कार्यनीतिलाई प्रधान बनाएर मदन भण्डारीले बहसको अगुवाइ गर्न थाल्नुभयो । फलस्वरूप, २०४१ मा मदन भण्डारी पोलिटब्युरोमा पुगे । तदनन्तर २०४६ सालमा नेकपा (माले) बहुदलीय प्रतिस्पर्धाबाट अघिबड्ने निर्णय गरी चौथो महाधिवेशनबाट उहाँलाई नेतृत्वमा पुगेको पाइन्छ ।
मालेको ५ औँ महाधिवेशनबाट उहाँ महासचिवमा बन्नुभयो । त्यसपछि बौद्धिक, राजनीतिक, कार्यनीतिक, चारित्रिक भिन्नताका साथ सबै बिचारको समायोजनमा आफ्नो सैद्धान्तीक छाप राख्दै सृजनशीलता प्रदर्शन गरेर जनताको मन जित्ने गुणले विश्वमा खस्कदै गएको कम्युनिस्ट आन्दोलनलाई नेपालमा जनताले खोजेको सिद्धान्त सृजना गर्दा उहाँलाई उचाइमा पुर्याएको पाउन सकिन्छ ।
यसपछि २०४६ सालको जनआन्दोलनबाट नेपालमा प्रजातन्त्रको पुनःस्थापना भएपछि २०४७ को 'नेपाल अधिराज्यको संबिधान'मा उहाँले नेकपा (माले) का तर्फबाट विभिन्न २७ बटा बुँदासहितको आलोचनात्मक समर्थन र समाधानका उपाय पनि पेस गर्नुभयो जुन हालसम्म पनि सान्दर्भिक छन् ।
उहाँले जनता र जनताद्धारा निर्वाचित प्रतिनिधिद्वारा सार्वभौमसत्ताको प्रयोग हुनुपर्छ नत्र सार्वभौम सत्ताको अधिकार घुमाउरो ढंगबाट राजाको हातमा पुग्छ भन्नु भएको थियो । विसं २०५९ असोज १८ गते राजाले सार्वभौमसत्ताको दुरुपयोग गर्दा मदन भण्डारीलाई दूरदर्शी नेता साबित गरायो ।
जननेता मदन भण्डारीको व्यक्तित्व उहाँले प्रतिपादन गरेको “जनताको बहुदलीय जनवाद” भन्ने गतिशील सिद्धान्तको उठान बिना अपुरो र अधुरो हुन्छ । उहाँ महासचिव हुँदा २०४७ सालको संविधानमा उठाएका २७ आलोचनात्मक बुँदालाई समेटी आफ्नो नीति परिष्कृत गर्दै विसं २०४९ सालमा “जनताको बहुदलीय जनवाद”को सिद्धान्त ल्याउनु भयो । सिद्धान्ततः शान्तिपूर्ण क्रान्तिलाई कम्युनिस्ट पार्टीले बिश्वास नगरेको स्थितिमा ल्याइएको “जनताको बहुदलीय जनवाद” ले उहाँको व्यक्तित्वको उचाइ बढायो ।
मदन भण्डारीको जनताको बहुदलिय जनवाद नेपाली संस्करणको कम्युनिस्ट घोषणा पत्र बन्न पुग्यो । यसमा संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्ष रहेको छ ।
बहुदलीय पद्धतिको मूल तत्त्व संगठित प्रतिस्पर्धा हो । जनताको जनवादी व्यवस्था अपेक्षाकृत लामो समयसम्म रहने सामाजिक व्यवस्था भएको हुनाले यसलाई चरणवद्ध रूपमा अगाडि बढाइनेछ । पहिलोचरण - पुरानो व्यवस्थाका शोषणका अवशेषहरू सबैक्षेत्रबाट अन्त्य गर्ने काममा केन्द्रित भएर लाग्ने । दोस्रो चरण - नयाँ उत्पादन सम्बन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र सांस्कृतिक दुवै हिसाबले विकास गर्ने कुरामा केन्द्रित भएर लाग्ने । तेस्रो चरण - समाजवादतर्फ संक्रमणको निम्ति केन्द्रित भएर भौतिक तथा सांस्कृतिक तयारी गर्ने ।
यसरी जननेता मदन भण्डारीले कम्युनिस्ट आन्दोलनको लोकतन्त्रीकरण, बहुलबादको पक्षपोषण, जनताको सर्वोच्चताको उच्च सम्मान, जनवादी राज्यसत्ताको लोकतन्त्रीकरण गर्ने, बहुदलीय प्रतिस्पर्धाको ग्यारेन्टीसहित कम्युनिस्ट पार्टीहरूले अनिर्वाचित सत्ता नचलाउने प्रस्ट पार्नुभएको थियो । त्यस्तैगरी उहाँले परिवर्तनको अधिकतम प्रयत्न शान्तिपूर्ण हुने प्रतिवद्धतासहित समाजवादी वा जनवादी जेसुकै परिवर्तन भए पनि बहुदलीय प्रतिस्पर्धाको श्रेष्ठताका आधारमा हुने मान्यता स्थापित गर्नु भएको थियो ।
यही मान्यतामा आधारित भएर २०४८ सालको संसदीय चुनावमा एमाले प्रमुख प्रतिपक्षी दलका रूपमा जनताबाट अनुमोदित भयो । मदन भण्डारी काठमाडौंका २ क्षेतेरबाट निर्वाचित हुनुभयो । तर संसदीय अभ्यासमा पनि उत्कृष्टता प्रदर्शन गरिरहेकै बेला उहाँको विसं. २०५० साल जेठ ३ गते रहस्यमय दुर्घटनामा असामयिक मृत्यु भयो ।
उहाँको निधनपछि २०५४ सालको एमाले महाधिवेशनबाट जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको मौलिक सिद्धान्तको रूपमा स्वीकार गरेको थियो । यस्तै २०५९ सालको ७ औँ महाधिवेशनले पार्टीको कार्यक्रम र सिद्धान्तको रूपमा पुष्टि गर्दै त्यसैबाट निर्देशित हुने निर्णय गरेको थियो । त्यस्तै बुटवलमा भएको ८ औँ महाधिवेशनले जवजको रक्षा, प्रयोग र विकास गर्ने घोषणा गरेको थियो ।
कम्युनिस्ट पार्टीमा सबै नेतृत्व सिद्धान्तकार हुँदैनन् । कम्युनिस्ट घोषणा पत्र लेख्ने कार्ल मार्क्स कम्युनिस्ट नेता नभएर दार्शनिक थिए । लेनिन दार्शनिक होइनन् तर मार्क्सवादका अनुयायी प्रयोगकर्ता हुन् । त्यही विचारका उपज भए पनि जोसेफ स्टालिन अधिनायकवादी शासक भए । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का अध्यक्ष माओ त्सेतुङ्ग अनुदार मार्क्सवादी थिए । त्यही स्कुलिङका अर्का नेता देङ स्याओ पिङ चिनियाँ आर्थिक क्रान्तिका नायक भए । तत्कालीन माले एमालेका अन्य नेताहरू महासचिव र अध्यक्ष त भए तर सिद्धान्तकार भएनन् ।
यसरी हेर्दा केही अपवादबाहेकका विश्वका कम्युनिस्ट नेताहरूमा सत्ताबाहिर हुँदा जनवादी क्रान्ति, आदर्श र सत्तामा हुँदा शासक बनेका देखिन्छन् । जननेता मदनकुमार भण्डारीलाई भने राजकीय जिम्मेवारीमा अनुभव गर्न पाइएन ।
जननेता भण्डारीले नेकपा (माले)लाई प्रजातान्त्रिक मार्गमा डोर्याउने काम गर्नुभयो । उग्रवामपन्थी अराजकतावादबाट कम्युनिस्ट आन्दोलनलाई समयानुकूल विशिष्टताको आधारमा शान्तिपूर्ण संघर्षमार्फत निर्दिष्ट गन्तव्यमा पुर्याउन सकिन्छ भन्ने प्रमाणित गर्न सफल भएको पाइन्छ । वादहरू नेपाली धरातल सुहाँउदो नभएको सन्दर्भमा जननेता भण्डारीले 'जुत्ता सानो भयो भनेर खुट्टा काट्ने होइन खुट्टा अनुसारको जुत्ता बनाउनुपर्छ' भन्ने सन्देश दिएर जानु भयो । त्यसैले त उहाँको भनाइ “सिद्धान्तका निम्ति जीवन होइन जीवनका निम्ति सिद्धान्त हुनुपर्छ, मेरो लक्ष्य मानिसको सुःख सुविधा र स्वतन्त्रता हो कोरा आदर्श होइनˮ भन्ने मननीय भएको छ ।
मदन भण्डारीले जनताको विचारलाई आफ्नो सिद्धान्तमा रुपान्तरण गरी देश र समाजको आवश्यकता अनुरूप मौलिक राजनीतिक सैद्धान्तिक ढाँचा विकास गर्नुभएको कारण उहाँलाई जननेता भन्न थालियो । उहाँलाई अन्तर्राष्ट्रिय पत्रपत्रिकाले 'नेपाली कार्लमार्क्स'समेत भनेका थिए ।
यस्तै राजधानीको चुनावी सभालाई सम्बोधन गर्दा राजाप्रति लक्षित गर्दै “महाराज आँखा नचम्काई बक्सियोस्, हात नलम्काई बक्सियोस्, राजनीति गर्ने रहर छ भने श्रीपेच फुकालेर मैदानमा आए हुन्छ मदन भण्डारी चुनाव लड्न तयार छ ।ˮ भनेको उहाँका भाषणले मानिस उहाँप्रति आकर्षित बन्न थाले । उहाँका भाषण दीर्घकालीन महत्त्वको प्रभाव पैदा गर्ने खालका हुने गर्थे ।
उहाँबाट शिक्षा लिएर देश र जनताका बारेमा चासो देखाउनुका साथै मानव अधिकार र मौलिक अधिकारको पक्षमा वकालत गरी संवैधानिक दायराभित्र रहेर समाज रूपान्तरण गर्दै सामाजवादतर्फ उन्मुख हुनु नै श्रद्धेय जननेता मदनकुमार भण्डारीप्रतिको सच्चा हार्दिक श्रद्धाञ्जलि हुनेछ ।