
विराटनगर । कोसी प्रदेशका सांसद चढेको गाडी मोरङको कानेपोखरीमा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र खड्काले चलाएको कार र प्रदेशसभा सदस्यहरू चढेको गाडी सोमबार ठोक्किएको हो । गाडीमा प्रदेशसभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए ।
विपरीत दिशाबाट आउँदै गरेको बा५च ३५२० नम्बरको कारसँग सांसद चढेको गाडी ठोक्किएको थियो । इलाका प्रहरी कार्यालय पथरीका अनुसार, गाडीमा सवार सांसदहरूको अवस्था सामान्य छ ।
सांसद मैया श्रेष्ठले आफूहरूलाई चोटपटक नलागेको तर गाडीमा भने क्षति पुगेको बताइन् । उनले भनिन्, "मेरै गाडीमा आउँदै थियौँ तीव्र गतिमा आएको गाडीले एक्कासि ठक्कर दियो । हामी सकुशल छौँ ।" सांसदहरू कोसी प्रदेशसभाको बैठकमा सहभागी हुन विराटनगर आउँदै थिए ।