
काठमाडौं । महेशकुमार श्रेष्ठ नेतृत्वको नवनिर्वाचित गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यसमितिले मंगलबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरेको छ । सिंहदबारमा भएको भेटमा समितिले नयाँ समितिको संस्थागत गतिविधिबारे जानकारी गराएको हो ।
अध्यक्ष श्रेष्ठले बन्दै गरेको एनआरएनए ऐनका बारेमा संस्थागत सुझाव पनि मन्त्री राणालाई हस्तान्तरण गरे । यसैगरी, एकताको महाधिवेशनबाट निर्वाचित कार्यसमिति र मन्त्रालयबीच सहकार्यको वातावरण बनाउन आग्रह गरेको प्रवक्ता गंगाधर गौतमले जानकारी दिए ।
एनआरएनएले एकता महाधिवेशनबाट पारित भएको काठमाडौं घोषण पत्र कार्यान्वयन र विदेशमा बस्ने नेपालीहरुका मुद्दा समेट्नका लागि मन्त्रीको ध्यानाकर्षण गराएको महासचिव बाबुराम (बीआर) लामाले जानकारी दिए । यसैगरी, निर्वाचित कार्यसमितिको विवरण हस्तान्तरण गर्दै विभिन्न निकायहरुमा पत्राचार गरिदिन पनि आग्रह गरिएको थियो ।
जवाफमा मन्त्री राणाले एनआरएनएको वर्तमान कार्यसमितिसँग सरकारले सहकार्य गरेर अघि बढ्ने बताउँदै माग गरिएका विषय सम्बोधन गर्नका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाइन् ।
परराष्ट्रले फिर्ता लियो सर्वोच्चलाई पठाएको पत्र
यसैबीच परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले गराउन लागेको एकता महाधिवेशनको मिति पर सारी पाऊँ भनी सर्वोच्च अदालतमा दिएको निवेदन फिर्ता लिएको छ।
परराष्ट्रसचिव अमृतबहादुर राईले गैरआवासीय नेपाली संघको एकताको महाधिवेशन सम्पन्न गरी नयाँ कार्य समिति चयन गरेको भन्ने जानकारी मन्त्रालयमा प्राप्त हुन आएकाले मन्त्रालयले दिएको निवेदनको औचित्य समाप्त भएको भन्दै यसअघिको निवेदन फिर्ता लिएको उल्लेख गरेका छन् ।
वैशाख २३ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले एनआरएनएमा जारी विवादको निरुपणका लागि पूर्ण इजलास पठाउने आदेश गरेको छ ।
परराष्ट्र मन्त्रालय र बद्री केसी पक्ष भएका दुई रिटमा सुनुवाइ गर्दै सर्वोच्चले पूर्ण इजलासमा पठाएको हो । एकता महाधिवेशनअन्तर्गत गरिएको निर्वाचन बदरको माग केसीको रिटमा गरिएको थियो ।