
काठमाडौं । अहिले नेपालभित्र सबैभन्दा बढी सुनिने केही वाक्य छन्– नेपालमा कोही बस्नै चाहँदैनन् । कोही युवा देशभित्रै छैन । देशमा माग नै छैन किनकि बजारमा माग गर्न सक्ने युवा विदेश पलायन भैसके । त्यसपछि विमानस्थलबाट बिदाइ गरेका तस्बिर सामाजिक सञ्जालमा देखाउँदै भनिन्छ– विदेश जाँदै गरेका युवाहरुको लर्को ।
तपाईं संसद्देखि सडकसम्म, कार्यालयदेखि चिया पसलसम्म यो आसयका अभिव्यक्ति सार्वजनिक हुने गरेका छन् । यो आरोपमात्रै होइन अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२४ मा आठ लाख ५६ हजार चार सय २२ व्यक्तिहरु रोजगारीको खोजीमा भारतबाहेक तेस्रो देश गएका छन् ।
भारतमा जानेको संख्या पनि त्यस्तै डरलाग्दो छ । त्यसैगरी सोही अवधिमा उच्च शिक्षा अध्ययनका लागि विभिन्न देश जानेको संख्या सन् २०२४ मा एक लाख १३ हजार एक सय नौ जना रहेको अध्यागमन विभागको तथ्यांक छ ।
नेपालमा रोजगारीको अवस्था नभएको, कामअनुसार तलब नभएको, महंगी, छोराछोरीको भविष्यका लागिलगायतका कारण देखाउँदै उनीहरु विदेश जाने गरेको विज्ञहरुको टिप्पणी छ ।
नेपाल अविकसित भएरै युवा विदेशिएका हुन् त ? त्यसो भए विकसित देशबाट कोही पनि बाहिर निस्किँदैनन् ? या रोजगारीका लागि अन्यत्र जाँदैनन् ? हाम्रा छिमेकीहरुको अवस्था के होला ? अर्थात् रोजगारीका लागि नेपालीको रोजाइमा पर्ने देशका नागरिक बाहिर जाँदैनन् ? त्यहाँ नेपालको जस्तो आप्रवासनको समस्या छैन त ? दक्षिण एशियाका भारत, भुटान, बंगलादेश, श्रीलंका र विश्वमा अमेरिका, चीन, क्यानाडा र बेलायतजस्ता देशहरूको आप्रवासन अवस्थाबारे छलफल गरौँ ।
भारत
नेपालको छिमेकी भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको मुलुक पनि हो । विश्व बैंकको तथ्यांकअनुसार सन् २०२३ मा भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी)३५ खर्ब ६८ अर्ब अमेरिकी डलर थियो । उक्त वर्ष भारतको प्रतिव्यक्ति आय २४८० अमेरिकी डलर रहेको थियो ।
हालैका वर्षहरुमा हरेक उच्च आर्थिक वृद्धिदर हासिल गरिहेको भारतको अर्थतन्त्रको आकार अहिले विश्वमा अमेरिका, चीन, जर्मनी, जापानपछि पाँचौं स्थानमा छ । जबकि भारतको तुलनामा नेपालको सन् २०२३ मा नेपालको जीडीपी झन्डै ४१ अर्बको मात्रै थियो ।
नेपालको प्रति व्यक्ति आय पनि भारतको भन्दा झन्डै आधा ११३६ अमेरिकी डलर रहेको थियो । विश्वको पाँचौँ अर्थतन्त्र र उच्च आर्थिक वृद्धिदर हासिल गर्दागर्दै पनि भारतबाट लाखौं नागरिकहरु विदेसिइरहेका छन् ।
संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (यूएनएफपीए)को २०२३ को तथ्यांकअनुसार भारतको जनसंख्या एक अर्ब ४२ करोड पुगेको थियो ।
यसको हालको अनुमानित जनसंख्या एक अर्ब ४६ करोड रहेको बताइन्छ ।
वर्षेनी करोडौं भारतीयहरू विदेश जान्छन् । भारतको ‘मन्थ्ली टुरिज्म स्टाटिस्टिक्स’ २०२३ का अनुसार सो वर्षमात्र दुई करोड ७३ लाख ७२ हजार भारतीयहरू विदेश गएको देखिन्छ ।
संयुक्त राष्ट्रसंघको विश्व प्रवास प्रतिवेदन २०२४ अनुसार विश्वमा अन्तर्राष्ट्रिय प्रवासीहरूको सबैभन्दा ठूलो हिस्सा भारतीयहरूको छ । विश्वमा रेकर्ड सङ्ख्यामा व्यक्तिहरू आफ्नो जन्मभूमि भन्दा बाहिर बसोबास गरिरहेका छन् ।
भारतको विदेश मन्त्रालयको मे २०२४ को तथ्यांकअनुसार, विश्वभर लगभग ३५.४२ मिलियन प्रवासी भारतीयहरू छन्, जसमा १५.८५ मिलियन (एनआरआई) भारतीय र १९.५७ मिलियन भारतीय मूलका व्यक्तिहरू (पीआईओ) अन्तर्गत समावेश गरिएका छन् । जसमध्ये विश्वका विभिन्न देशहरूमा एक करोड ५८ लाख ५० हजार भन्दा धेरै मानिसहरू विश्वका विभिन्न देशहरूमा स्थायी बसोबास गरिरहेका भारतको विदेश मन्त्रालयको वेबसाइटमा उल्लेख छ ।
विश्वभर सबैभन्दा बढी भारतीय जनसंख्या भएका शीर्ष १० देशहरूमा संयुक्त राज्य अमेरिका, मलेसिया, म्यानमार, श्रीलंका, सिङ्गापुर संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेतजस्ता देशहरू छन्।
भारतले अन्य कुनै पनि देशभन्दा धेरै कामदारहरू विदेश पठाउँछ । संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार, सन् २०१७ मा करिब १७ मिलियन (एक करोड ७० लाख) भारतीयहरू विदेशमा कार्यरत थिए ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, भारत विश्वभरका आप्रवासीहरूको प्रमुख स्रोत देशको रूपमा उभिएको छ । सन् २०१९ मा भारतबाट एक करोड ७५ लाख अन्तर्राष्ट्रिय आप्रवासी रहेका थिए, जुन सन् २०१५ को एक करोड ५९ लाखभन्दा बढी हो ।
अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईएलओ) का अनुसार, सन् २०२२ मा विश्वभर १६७.७ मिलियन (१६ करोड ७७ लाख) अन्तर्राष्ट्रिय आप्रवासी श्रमिकहरू थिए, जसले विश्व श्रम शक्तिको ४.७ प्रतिशत हिस्सा ओगटेका थिए ।
यी अन्तर्राष्ट्रिय आप्रवासी श्रमिकहरू सन् २०२२ मा काम गर्न सक्ने उमेर समूहमा पर्ने विश्वका अन्तर्राष्ट्रिय आप्रवासी जनसंख्याको करिब ६६ प्रतिशत हिस्सा थिए । यसैगरी भारतबाट उच्च शिक्षाका लागि विदेश जाने मानिसहरुको संख्या पनि उच्च रहेको छ ।
एक तथ्यांकका अनुसार सन् २०२४ मा सात लाख ६० हजार मानिसहरु वैदेशिक शिक्षाका लागि जाने गरेका छन् ।
यो सन् २०२३ को तुलनामा कम थियो । शिक्षा मन्त्रालयले संसदमा पेस गरेको विवरणका अनुसार भारतको हिन्दुस्तान टाइम्सले तयार गरेको समाचारमा विदेशमा अध्ययनरत भारतीय विद्यार्थीहरूको संख्या पाँच वर्ष (२०१९—२०२३) मा ५२.२ प्रतिशतले बढेको थियो ।
सन् २०१९ मा पाँच लाख ८६ हजार तीन सय ३७ रहेकोमा यो संख्या २०२३ मा आठ लाख ९२ हजार ९ सय ८९ पुगेको थियो । जसमा सबैभन्दा बढी दुई लाख ३४ हजार ४७३ जना संयुक्त राज्य अमेरिकामा छन् । क्यानडामा दुई लाख ३३ लाख ५३२ जना र संयुक्त अधिराज्य (युके)मा एक लाख ३६ हजार ९२१ जना छन् ।
स्ट्याटिस्टा का अनुसार सन् २०२४ मात्र सात लाख ६० हजार युवाहरु उच्च शिक्षाका लागि विदेश गएका थिए ।
भारतको विश्वकै ठूलो अर्थतन्त्र र विश्व मानचित्रमा आर्थिक एवम् सामाजिक रुपमा भारत शक्तिशाली बन्दै गएको छ । तैपनि भारतबाट वर्षेनी हजारौं करोडपतिहरू विदेश पलायन भइरहेका छन् ।
सन् २०२३ मा भारतबाट पाँच हजार एक सय बढी करोडपति विदेश पलायन भएको ‘द इकोनोमिक टाइम्स’ले उल्लेख गरेको थियो । हेन्ले प्राइभेट वेल्थ माइग्रेसन रिपोर्ट २०२४ ले यसवर्ष चार हजार तीन सय करोडपतिहरू भारतबाट अन्य मुलुकमा स्थानान्तरण भएको देखाएको छ ।
श्रीलंका
सन् २०२३ को विश्व बैंकको सूचकांक अनुसार श्रीलंकाको कुल ग्राहस्थ उत्पादन (जीडीपी)८४ अर्ब ३६ करोड डलर रहेको थियो भने प्रतिव्यक्ति आय ३८२७ डलर थियो । नेपालको तुलनामा दक्षिण एशियाली मुलुक श्रीलंकाको आर्थिक वृद्धिदर, प्रतिव्यक्ति आय तथा कुल ग्राहस्थ उत्पादन सबैमा श्रीलंका धेरै अगाडि छ ।
तैपनी यहाँका नागरिकहरू पनि रोजगारी र उच्च शिक्षा अध्ययनका लागि धेरै व्यक्तिहरू विदेश गइरहेका छन् । श्रीलंकाको केन्द्रीय बैंक (सीएसबीएसएल) को तथ्यांक अनुसार, सन् २०२२ मा ११ लाखभन्दा बढी श्रीलंकालीहरूले देश छाडेका थिए यसको मासिक औसत लगभग ९४ हजार रहेको थियो ।
यसमध्ये २७.६ प्रतिशत विदेशमा रोजगारीको उद्देश्यले देश छाडेको श्रीलंकाको पत्रिका द मर्निङ मा उल्लेख छ । त्यहाँको वैदेशिक रोजगार विभागका अनुसार सन् २०२४ मा इतिहासमै सबैभन्दा बढी श्रीलंकालीहरूले विदेशमा रोजगारीका लागि देश छाडेका थिए ।
श्रीलंकाको विजनेस पत्रिका द डेली एफटीका अनुसार विभागको तथ्यांक अनुसार कुल तीन लाख १२ हजार आठ सय ३६ जना विदेशमा काम गर्न गएका थिए जसले सन् २०२२ मा कायम गरिएको अघिल्लो रेकर्डलाई पछाडि पारेको थियो ।
विगत छ वर्ष (२०१९–२०२४) मा १३ लाख श्रीलंकालीहरू रोजगारीका लागि विदेश गएका थिए । यसमध्ये २०२४ मा मात्रै एक लाख ८५,एक सय ६२ पुरुष र एक लाख २७ हजार ६ सय ७४ महिला कामदारहरू विदेश गएका थिए ।
यो तथ्यांकअनुसार सबैभन्दा बढी श्रीलंकालीहरू कुवेतमा काम गर्न गएका छन्, जहाँ ७७ हजार पाँच सय ४६ जनाले रोजगारीमा छन् ।
दोस्रो स्थानमा रहेको संयुक्त अरब इमिरेट्स (युएई) मा ५१ हजार पाँच सय ५० श्रीलंकाली कामदारहरू छन् । विभागले दक्षिण कोरिया, इजरायल, र जापान जस्ता देशहरूमा श्रीलंकालीहरूको रोजगारी खोज्ने बढ्दो प्रवृत्तिलाई पनि उजागर गरेको छ ।
सन् २०२४ मा, सात हजार ९८ कामदारहरू दक्षिण कोरिया, नौ हजार ६ सय ६५ इजरायल, र आठ हजार ६ सय ६५ जापान गएका थिए जसले विदेशी रोजगारका लागि गन्तव्यहरूमा विविधता बढ्दै गएको देखाउँछ ।
रोजगारीबाहेक उच्च शिक्षा अध्ययनका लागि श्रीलंकालीहरू विदेश जाने प्रवृत्ति पनि बढ्दो छ ।
ब्रिटिश काउन्सिल का अनुसार हरेक वर्ष कम्तिमा २९ हजार मानिसहरू उच्च शिक्षा अध्ययनका लागि विदेशका विश्वविद्यालयहरूमा जाने गरेका छन् । सन् २०२७ मा यो संख्या प्रतिवर्ष ३२ हजार पुग्ने अनुमान गरेको छ ।
युनेस्कोका अनुसार, सन् २०२० मा लगभग २९ हजार श्रीलंकाली विद्यार्थीहरूले विदेशमा उच्च शिक्षा अध्ययन गरेका थिए ।
यी मध्ये धेरैजना अष्ट्रेलिया (लगभग १० हजार पाँच सय), जापान (पाँच हजार पाँच सय), अमेरिका (तीन हजार एक सय), मलेसिया (दुई हजार चार सय), र बेलायत (एक हजार तीन सय) मा अध्ययनरत थिए ।
बंगलादेश
सन् २०२३ को विश्व बैंकको सूचकांक अनुसार बंगालदेशको कुल गार्हस्थ उत्पादन (जीडीपी४ खर्ब ३७ अर्ब डलर रहेको थियो भने प्रतिव्यक्ति आय २५ ५१ डलर डलर थियो । नेपालको तुलनामा बंगलादेशको आर्थिक वृद्धिदर, प्रतिव्यक्ति आय तथा कुल गार्हस्थ उत्पादन सबैमा बढी छ ।
तैपनि यहाँका नागरिकहरू पनि रोजगारी र उच्च शिक्षा अध्ययनका लागि धेरै व्यक्तिहरू विदेश गइरहेका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईएलओ) का अनुसार विश्वभर २८१ मिलियन प्रवासीहरू बसोबास गरिहेका छन् जसमा बंगलादेश छैठौं ठूलो देश भित्र पर्छ ।
सन् १९७१ म पाकिस्तानबाट स्वतन्त्र भएको बंगलादेश स्वतन्त्रता पछि १७१ मिलियन जनसंख्या भएको बंगलादेशमा बसोबास गर्ने नागरिकहरूको जीवनस्तर र सामाजिक स्थिति सुधार्न आप्रवासनले ठूलो भूमिका खेलेको छ ।
लाखौं बंगलादेशीहरूले काम गर्ने गर्छन् । जसमा २०२३ मा मात्रै १३ लाख जना विदेश गएका थिए । यसबाहेक, सरकारमा दर्ता नभएका अनधिकृत रुपमा पनि ठूलो संख्यामा बंगलादेशका नागरिकहरु विदेश पुग्छन् ।
बंगलादेशबाट सन् २०२० मा ७४ लाख बंगलादेशी प्रवासीहरू विदेशमा बसोबास गरेको उल्लेख छ ।
स्ट्याटिस्टाका अनुसार सन् २०२३ मा, लगभग १३ लाख बंगलादेशी नागरिकहरूले विदेशमा काम गर्न देश छाडेका थिए । उच्च शिक्षा अध्ययानका लागि बिदेश जाने प्रवृत्ति पनि बंगालदेशमा बढ्दो छ ।
युनेस्को को तथ्यांकअनुसार, सन् २०२३ मा ५२ हजार ७९९ जना बंगलादेशी विद्यार्थीहरूले विदेशमा शिक्षा प्राप्त गर्न देश छाडेका थिए ।
यो संख्या बंगलादेशबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूको ऐतिहासिक रेकर्ड हो । सन् २०२२ मा ४९ हजार १५१ जना बंगलादेशी विद्यार्थीहरूले ५८ वटा देशहरूमा पढ्न गएका थिए । यो संख्या सन् २०१३ मा २४ हजार ११२ र २००८ मा १६ हजार ६०९ थियो ।
भुटान
भुटान दक्षिण एशियाको सानो हिमाली देश हो । ल्यान्ड अफ ह्याप्पिनेस भनेर चिनिने भुटानको सन् २०२२ कुल गार्हस्थ उत्पादन (जीडीपी) दुई अर्ब ८९ करोड डलर रहेको विश्व बैंकको सूचकांकमा उल्लेख छ ।
यसको प्रतिव्यक्ति आय ३७११ डलर थियो यो नेपालको भन्दा बढी पनि हो । तैपनि यहाँका नागरिकहरू पनि रोजगारी र उच्च शिक्षा अध्ययनका लागि धेरै व्यक्तिहरू विदेश गइरहेका छन् । सन् २०२२ देखि सानो हिमाली देश भुटानले आफ्ना नागरिकहरू विदेश जाने क्रममा उल्लेखनीय वृद्धि भएको जनाएको थियो ।
त्यो वर्ष, देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल पारोले १६ हजार ९७३ जना विदेश पलायन गर्ने व्यक्तिहरू रेकर्ड गरेको थियो । कुल ७.७ लाख जनसंख्या भएको देशका लागि चिन्ताको कारण बनेको छ । सरकारी दैनिक पत्रिका कुएन्सेलले प्रकाशित गरेको अनुसार, विदेश जानेहरूमध्ये लगभग ३० प्रतिशत ३५ वर्षभन्दा कम उमेरका युवा थिए ।
अमेरिका
विश्वका आर्थिक, सामरिक, प्राविधिक, सामाजिकलगायत सबै विषयमा अग्रस्थानमा रहेको शक्तिशाली देश अमेरिकाको सन् २०२३ कुल गार्हस्थ उत्पादन (जीडीपी) २७७ खर्ब डलर बढी रहेको विश्व बैंकको सूचकांकमा उल्लेख छ ।
यसको प्रतिव्यक्ति आय ८२ हजार ७६९ डलर थियो । अमेरिकासँग नेपालको कुनै तुलना नै हुँदैन । अमेरिकालाई एक ड्रिम ल्यान्ड मानेर विश्वका सबै देशहरुबाट अमेरिका पुग्ने मानिसहरुको लहर नै छ । तर विविध कारणले अमेरिकीहरु भने देश छोडेर विदेश गइरहेका छन् ।
इन्टरनेशनल ट्रेड एडमिनिस्ट्रेसनको नेशनल ट्राभल एन्ड ट्युरिजम अफिस (एनटीटीओ) का अनुसार सन् २०२२ मा ८०.७ मिलियन (८ करोड ७ लाख) अमेरिकीहरु देश बाहिर गएका थिए ।
अमेरिकीहरूको सबैभन्दा ठूलो गन्तव्य मेक्सिको जहाँ ३३.५ मिलियन गएका थिए । छिमेकी देश क्यानाडामा ९.१ मिलियन गएका थिए । बाँकी सम्पूर्ण देशहरुमा ३८.१ मिलियन अमेरिकीहरुले यात्रा गरेका थिए ।
अमेरिकी नागरिकहरुको शीर्ष विदेशी गन्तव्यहरूमा संयुक्त अधिराज्य (३.७ मिलियन), फ्रान्स (३.१ मिलियन), डोमिनिकन गणतन्त्र (२.७ मिलियन), इटाली (२.६ मिलियन), जर्मनी र स्पेन (२.० मिलियन) रहेको थियो ।
परसेप्सन डट इयुका अनुसार सन् २००५ मा ३६ लाख अमेरिकीहरू युरोपमा बस्ने गरेको मा सन् २०१९ जुन मा ५० लाख पुगेको थियो ।
अन्य देशहरूमा बसोबास गर्ने अमेरिकीहरूको संख्या २००५ मा २९.३ मिलियन (२ करोड ९३ लाख) र २०१९ मा ४० मिलियन (चार करोड) थियो । विदेशमा बसोबास गर्ने अमेरिकीहरूको संगठन एशोसियसन अफ अमेरिकन रेसिडेन्ट्स ओभरसिज (एएआरओ) का अनुसार सन् २०१६मा जम्मा ८७ लाख अमेरिकीहरू (सैन्य बाहेक) १६० भन्दा बढी देशहरूमा बस्ने गरेका थिए ।
यदि यी सबै अमेरिकीहरू एउटै राज्यमा बस्ने हो भने, यो अमेरिकाको १२औं ठुलो राज्य हुने विश्लेषण गरिएको थियो । सोही संगठनका अनुसार सन् २०२३ मा विदेशमा बसोबास गर्ने अमेरिकीहरूको सही संख्या कम्तिमा ५४ लाख भएको अनुमान गरेको छ ।
चीन
विश्वको उदाउँदै गएको अर्को आर्थिक महाशक्ति देश चीनको सन् २०२३ कुल गार्हस्थ उत्पादन (जीडीपी) १७ ट्रिलियन डलर थियो भने यसको प्रतिव्यक्ति आय १२ हजार ६१४ डलर थियो ।
चीनसँग कुनै पनि हिसबले नेपालका तुलना हुदैन । तर विश्वको दोस्रो ठूलो अर्थतन्त्र र दोस्रो धेरै जनसंख्या भएको देश चीनबाट पनि धेरै मानिसहरु बाहिर गएको तथ्यांक देखिन्छ । यसमा मुख्यतः व्यापार, रोजगारी तथा उच्च शिक्षा अध्ययन प्रमुख छन् ।
स्ट्याटिस्टाका अनुसार सन् २०१९ चीनबाट विदेश जाने मानिसहरुको संख्या लगभग १५ करोड ५० लाख पुगेको थियो ।
यो २०१० को तुलनामा लगभग तेब्बर थियो । तर, कोभिड महामारीको कारण सन् २०२० मा यो संख्या घटेर २० लाख ३० हजार मात्र रह्यो । तर प्रतिबन्धहरु हटाइएपछि, सन् २०२३ मा ८ करोड ७० लाख भन्दा बढी चिनियाँ पर्यटकहरूले विदेश यात्रा गरेको जनाइएको छ ।
स्ट्याटिस्टाका ले सन् २०२३ मा इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया, अमेरिका, सिंगापुर, क्यानडा, अस्ट्रेलिया, फ्रान्स, दक्षिण अफ्रिका, युके, इटाली, न्युजिल्यान्ड र नाइजेरियामा सबैभन्दा धेरै प्रवासी चिनियाँहरू बसोबास गर्ने गरेको उल्लेख गरेको छ ।
प्रत्येक महादेशमा सबैभन्दा बढी प्रवासी चिनियाँहरू बस्ने देशहरू मध्ये, इन्डोनेसियामा एक करोडभन्दा बढी चिनियाँ मूलका मानिसहरू बस्ने गरेका छन् । यो सबैभन्दा ठूलो प्रवासी चिनियाँ समुदाय हो । ती चिनियाँहरु धेरै चीनमा जन्मिएका प्रवासीहरूका वंशज छन् । उनीहरु पहिलेदेखि इन्डोनेसियामा बसेका थिए ।
यसविपरीत क्यानडा र अस्ट्रेलियामा बस्ने प्रवासी चिनियाँहरूमध्ये धेरैजना पछिल्ला दुई दशकभित्र मात्र यी देशहरूमा आएका हुन् ।
यी देशहरूमा चिनियाँ प्रवासीहरूले आर्थिक, सांस्कृतिक, र सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।
चीन विश्वको दोस्रो ठूलो जनसंख्या भएको देश यसका ५ करोड भन्दा बढी विद्यार्र्थीहरू अध्ययनका लागि विदेश जान्छन् । एडुकेशन फेयर डटनेटका अनुसार यो अवस्था २० वर्षभन्दा बढी समयदेखि कायम छ ।
युनेस्कोको तथ्यांक अनुसार सन् २०२३ मा १० लाख २१ हजार ३०३ जना चिनियाँ विद्यार्थीहरूले विदेशमा अध्ययन गरेका थिए, जुन आफैंमा एक ऐतिहासिक रेकर्ड भएको समाचारहरुमा जनाइएको छ । यसबाहेक दुई लाख भन्दा बढी विद्यार्थीहरूले विदेशी विश्वविद्यालयहरूमा आदानप्रदान कार्यक्रमहरू अन्तर्गत सहभागिता जनाएका छन् ।
क्यानडा
विश्वको धनी देशमध्येको एक देश क्यानाडाको कुल गार्हस्थ उत्पादन (जीडीपी) सन् २०२३मा २१ खर्ब ४२ अर्ब डलर थियो भने यसको प्रतिव्यक्ति आय ५३ हजार ४३१ डलर डलर थियो । विश्वको धनी र समृद्ध मध्येको एक देश क्यानडामा पनि जुलाई २०२२ देखि ३० जुन २०२३ सम्म कुल ९४ हजार ५७६ जनाले क्यानाडाबाट अन्य देशमा बसाइँ सरेका थिए ।
अधिकांश प्रवासी ओन्टारियो प्रान्तबाट गएका थिए जबकि ब्रिटिस कोलम्बिया दोस्रो स्थानमा रहेको स्ट्याटिस्टाका ले उल्लेख गरेको छ । बेटर ड्वेलिंग डक कमका अनुसार सन् २०२४ को चौथो त्रैमासिकमा २४ हजार ५३३ जनाले क्यानाडा स्थायी रूपमा छाडेका थिए ।
यो अघिल्लो वर्षको सोही अवधीको तुलनामा तीन प्रतिशतले बढी थियो । नारसिटी डटकमका अनुसार सन् २०२४ मा कुल ८१ हजार छ सय एक जनाले देश छाडेका थिए जुन २०१७ पछि उच्च दर थियो ।
ब्रिटेन
विश्वको अर्को धनी र शक्तिशाली देश बेलायतको सन् २०२३ को कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ३३ खर्ब डलर बढी थियो भने यसको प्रतिव्यक्ति आय ४९ हजार ४६३ डलर डलर थियो ।
अन्य देशहरुमा जस्तै ब्रिटिसहरु पनि लाखौंको संख्यामा प्रवासमा जाने गरेको पाइएको छ ।
विभिन्न कारणले आफ्नो देश छाडेर अन्य देशहरूमा गएका देखिन्छ ।
बेलायतको अफिस अफ नेशलन स्ट्याटिस्टिक्स ले सन् २०२२ सम्ममा लगभग ४७ लाख एक हजार ब्रिटिस नागरिकहरू अन्य देशहरूमा बसाइँ सरेको जनाएको छ भने २०२३ सम्ममा यो संख्या बढेर ५० लाख आठ हजार ब्रिटिसहरूले देश छाडेका थिए । ब्रिटिसहरूले अस्ट्रेलिया, स्पेन, अमेरिका, फ्रान्स, न्युजिल्यान्ड आदि रोज्ने गरेको पाइएको छ ।
माथि उल्लेखित तथ्यांकहरूको विश्लेषण गर्दा दक्षिण एसियाका साना, आर्थिक रूपमा पछि परेका राष्ट्रहरूजस्तै अति विकसित देशहरूबाठ पनि नागरिकहरु बसाइँ सराईका लागि घुमिरहेको देखिन्छ ।
विश्वका विकसित तथा आर्थिक रूपमा क्रमशः पहिलो, दोस्रो, पाँचौँ र नवौँ स्थानमा रहेका देशहरूबाट पनि लाखौँ मानिसहरू आफ्ना देश छोडेर अन्यत्र गइरहेको देखिन्छ । यसको अर्थ, नेपाली समाजमा विशेष गरी युवाहरू विदेशिने प्रवृत्तिको पछाडि केवल बेरोजगारी, देशको कमजोर आर्थिक अवस्था र पछौटेपन मात्र कारण हो त ?
अनुसन्धानकर्ता तथा वैदेशिक रोजगार विज्ञ गणेशमान गुरुङका अनुसार, मानिसहरू आफू जन्मेको थाकथलो छाडेर अन्यत्र जानु मानवको आधारभूत चरित्र हो ।
उनी भन्छन्, “मानिसहरू आज मात्र होइन, मानव सभ्यताको सुरुवातदेखि नै एकै ठाउँमा बसिरहने प्राणी होइनन् । उनीहरू विभिन्न उद्देश्यका लागि एक स्थानबाट अर्को स्थानमा यात्रा गरिरहन्छन् । यसको पछाडि विभिन्न कारणहरू हुन्छन् । कोही आवश्यकताका कारण जान्छन् भने, कोही आफ्नो जीवनलाई सहज र आरामदायी बनाउन खोज्छन् ।”
गुरूङका अनुसार, यो प्रक्रियामा मानिसहरूले आफ्नो क्षमता र नेटवर्कको उपयोग गर्छन् ।
नेपालीहरूको विदेश जाने प्रवृत्तिमा नियाल्ने हो भने, एकथरी मानिसहरू खाडी मुलुकहरू वा मलेसिया जस्ता देशहरूमा गएर आफ्नो श्रम बेचिरहेका छन् । अर्थात्, तिनीहरूको विदेश जाने कारण गरिबी, बेरोजगारी र अवसरको खोजी हुन् भन्ने देखिन्छ, जुन गुरुङ पनि पुष्टि गर्छन् ।
“तर जो नेपालीले लाखौँ रुपैयाँ खर्च गरेर अष्ट्रेलिया, अमेरिका वा युरोप जान्छन्, ती मानिसहरू केवल रोजगारीकै लागि विदेशिएका होइनन्,” गुरुङ भन्छन् ।
उनका अनुसार उनीहरू कोही प्रतीष्ठाका लागि, त कोही आफ्नो जीवनलाई अझ सहज र समृद्ध बनाउन विदेश जाने गर्छन् । यो मानव स्वभावको एक अंश हो ।
गुरुङ थप्छन्, “जस्तै एक देशबाट मानिसहरू अर्को देशतर्फ जान्छन्, त्यस्तै गाउँबाट सहर र सहरबाट अर्को सहरतर्फ पनि बसाइँ सर्ने प्रक्रिया जारी नै रहन्छ । दुर्गम गाउँका मानिसहरू जिल्ला सदरमुकामतर्फ, त्यहाँबाट क्षेत्रीय सहरहरूतर्फ, र अन्ततः राजधानीतर्फ सर्नुले के देखाउँछ भने बसाइँ सराई एक निरन्तर चलिरहने चक्र हो ।”