
काठमाडौं । राजेश हमाल ठूलो पर्दामा नदेखिएको आठ वर्ष भयो । पछिल्लो समय उनलाई दर्शकले ‘सकुन्तला’ र ‘वागमती’मा देखेका थिए । त्यसयता, उनका नयाँ चलचित्र दर्शकले हेर्न पाएका छैनन् । सिनेमा बन्ने क्रमको बाढी लाग्यो । ‘नयाँ’, ‘पुराना’ ‘धार’का सिनेमा बनिरहे । तर, राजेश मौन बसिरहे, किनाराका साक्षी बनेर ।
भलै सिनेमामा काम नगरे पनि नेपाली ‘रजतपट’मा छाइरहने पात्र हुन्, राजेश हमाल । चलचित्रमा काम गरून् वा नगरून्, उनी बोलून् वा नबोलून्, उनको चर्चा भने भइरह्यो ।
त्यसैले आठ वर्षको अवधिमा सिनेमामा काम नगरे पनि उनी कहिल्यै ओझेलमा परेनन्, बरु चर्चाको केन्द्रमा रहिरहे । अक्सर अरूले उनीप्रति गरेका टिप्पणी, उनका कार्यक्रम, होस्ट आदिका कारण राजेश आठ वर्षसम्म सिनेमामा काम नगरे पनि ओझेलमा परेनन् । उनको लोकप्रियता ओरालो लागेन ।
एकाध म्युजिक भिडियोमा भने उनले काम गरे, त्यसले पनि उनलाई चर्चा दियो ।
यसबीचमा उनले ‘वागमती’ र ‘सकुन्तला’ चलचित्र गरे, तर सोचेजस्तो सफल भएनन् । त्यसपछि उनी आफैँ अब केही फरक खालको चलचित्रमा काम गर्ने कि भन्ने निष्कर्षमा पुगे, आफैँ निर्देशन गर्ने सोचमा पनि पुगे ।
आफूले तीन दशकदेखि गरेको ‘फर्मुला सिनेमा’भन्दा पनि केही फरक ट्रयाकको चलचित्र गर्ने तयारी गरे । यसका लागि स्टोरीमा वर्कआउट गर्न थाले ।
यहीबीचमा उनले ‘को बन्छ करोडपति’, ‘जातको प्रश्न’ जस्ता केही टेलिभिजन कार्यक्रम होस्ट गरे । म्युजिक भिडियोमा अभिनय गरे । देशविदेशका मेलामहोत्सवमा हिँडिरहे । जसले राजेशलाई दर्शकसँगको दुरी बढ्न दिएन । नयाँ र पुरानो दुवै पुस्तामा उनी पुगिरहे ।
राजेशले फर्मुला सिनेमा होइन, नेपाली चलचित्र उद्योगले पछिल्लो समय बदलेको धार सोसल ड्रामाबाट कमब्याक गर्ने तयारी गरिरहेका थिए । यसका लागि स्टोरीमा काम गरिरहेका थिए । ठिक त्यही समय राजेशकोमा पुगे, निर्देशक दिवाकर भट्टराई ।
उनी पुगेका थिए, राजेशलाई आफ्नो सिनेमाको हिरो बनाउन । जबकि, राजेश आफ्नै सिनेमाको हिरो हुने तयारीमा थिए ।
सजिलो पक्कै थिएन । एक त उनी आफैँ सिनेमा बनाउन चाहन्थे । अर्को, उनी सोसल ड्रामाबाट नेपाली चलचित्र उद्योगमा कमब्याक गर्न चाहन्थे ।
राजेश नेपाली चलचित्र उद्योगका कलाकारमात्रै होइनन्, इज्जत पनि हुन् । गर्विलो व्यक्तित्व हुन् । सकारात्मक छवि बर्सौंसम्म कायम राख्न सफल व्यक्ति हुन् । त्यसैले हत्तपत्त उनको आलोचना हुँदैन । कसैले उनीविरुद्ध बोले, सामाजिक सञ्जालमा उनका समर्थक र सुभेच्छुक नै उनको प्रतिरक्षामा उभिन्छिन्, उनी बोल्न पर्दैन ।
यसलाई दिवाकरले गहिरोसँग बुझेका थिए । तर, राजेशलाई कन्भिन्स गर्न सजिलो थिएन । किनकि, उनी जुन जनराको स्टोरी लिएर भेट्न जाँदै थिए, यस्तो स्टोरीमा सिनेमा नै गर्दिनँ भनेर राजेशले ब्रेक लिएको सात वर्ष भइसकेको थियो ।
राजेश नेपाली समाजमा धेरैको आदर्श हुन्, दिवाकारले आफूले आफ्नो सिनेमामा राजेशको त्यस्तै चरित्र तयार पारेको उनले सुनाए । नेपाली समाजले कस्तो व्यक्ति खोजिरहेको छ, त्यस्तै पात्रमा आफूले राजेशलाई सिनेमामा देखाउन चाहेको बताए ।
“राजेश दाइको इमेज नेपाली समाजमा जस्तो छ, त्यस्तै चरित्र लिएर हामी उहाँसम्म पुगेका थियौँ,” दिवाकर सुनाउँछन्, “नेपाली समाजले उहाँलाई कसरी हेर्न चाहन्छ, के रूपमा हेर्न चाहन्छ, त्यो सिनेमा रहेको बताएको थिएँ ।”
राजेशको चरित्रले जे भन्छ, त्यो अहिलेको नेपाली समाजको उद्देश्य र आवश्यकता भएकाले राजेशले खेल्न स्वीकार गरेको उनी बताउँछन् । “समाजले अहिले जे खोजिरहेको छ, त्यो राजेश दाइको चरित्रले भन्छ,” दिवाकर भन्छन्, “यही चरित्रकै कारण उहाँ हाम्रो चलचित्रमा काम गर्न तयार हुनुभयो भन्ने लाग्छ ।” त्यसैले अहिलेको समय र नागरिकले सिनेमा रिलेट गर्ने उनको विश्वास छ ।
आफूले प्रस्ताव गरेको चरित्रमा राजेशले आफू देखेको दिवाकर सुनाउँछन् । “मैले लेख्दा नै यो चरित्रले राजेश दाइजस्तो कलाकार माग्छ भन्ने लागेको थियो । मैले जसरी लेख्दा यो चरित्रमा राजेश दाइलाई देखेँ,” दिवाकर भन्छन्, “उहाँले पनि यो चरित्रमा आफूलाई देख्नुभयो, त्यसैले कन्भिन्स हुनुभयो । कथा मन नपरेको भए सायद उहाँले यो सिनेमा गर्नुहुन्नथ्यो । आफ्नै प्रोडक्सनबाट चलचित्र बनाउने वा आफैँ निर्देशन गर्नेमा वर्कआउट गरिरहनुभएको थियो । यो सबैलाई थाहा छ ।”
चलचित्रमा फरक तरिकाले आउनु राम्रो हो । लामो समयको अन्तरालपछि आउँदा फरक भूमिका वा चरित्रबाट आउने सोच राख्नु नौलो पनि भएन ।
तर, त्यसका लागि सहज भने थिएन/छैन । “नयाँ एक्सपेरिमेन्ट गर्नु आफैँमा नराम्रो होइन । तर, जहाँ हाई रिस्क हुन्छ, त्यहाँ हाई गेनको पनि सम्भावना हुन्छ,” दिवाकर भन्छन्, “तर, बर्सौंदेखि एक खालको भूमिकामा देखिरहेका दर्शकले अचानक अर्कै भूमिकामा देख्दा त्यहाँ मेकरका लागि हाई रिस्कको पनि उत्तिकै सम्भावना हुन्छ ।”
त्यसैले पनि यदि राजेशकै छविलाई सुहाउने क्यारेक्टर छ भने किन अफर नगर्ने भन्ने दिवाकरको सोचमा राजेश सहमत हुँदा ‘नरसिंहा अवतार’ जन्मिएको थियो ।
राजेशको करिअरमा जे बिक्यो, त्यो नै फेरि पनि दर्शकले मन पराउँछन् भन्ने निष्कर्षमा दिवाकर पुगे । त्यही बिक्री हुन्छ भन्ने उनको ब्रह्मले देख्यो । त्यसपछि राजेशको फिल्मी करिअरमा जे बिक्री भएको थियो, त्यही बिक्री गर्ने निर्णयमा पुगे । त्यसैले ‘नरसिंहा अवतार’मा पनि राजेशको पहिचान बनेको ‘हेऽ हेऽऽ हेऽऽऽ’ छुटेन ।
“राजेश दाइलाई अबका दिनमा फरक चरित्रमा देखाउन सकिन्छ । यसमा उहाँ पनि सहमत हुनुहुन्छ । अहिले हामीले कमर्सियल हिसाबले सोचिरहेकाले त्यो रिस्क लिन चाहेनौँ,” दिवाकर भन्छन्, “अहिलेलाई भने हामीले धेरै दर्शकलाई मन पर्ने मासबेसको चलचित्र नै बनाएका हौँ । उहाँको जे कुरा सेल भएको थियो, त्यही नै राखेका हौँ । यो मेकरका हिसाबले पनि र उहाँ स्वयंका लागि पनि कम रिस्क लिन खोजेका हौँ ।”
अहिले हेर्दा दर्शकलाई पुरानोजस्तो लागे पनि चलचित्रभित्र केही नयाँ हुन सक्ने उनको दाबी छ । उनी अहिलेको समाजसँगै राजेशको उपस्थितिमा दर्शकले केही पृथक महसुस गर्ने बताउँछन् ।
आठ वर्षपछिको राजेशको कमब्याक आफैँमा महत्त्वपूर्ण भएको र त्यसले नेपाली सिनेमा उद्योगलाई नै बज गरिरहेको दिवाकर बताउँछन् । आफूले बच्चैदेखि पर्दामा देखिरहेको हिरोको कमब्याकलाई लिएर दर्शकमा पनि उत्सुकता रहेको उनको ठम्याइ छ ।
राजेश हिरो हुँदा त्यसले इन्डस्ट्रीलाई नै बज गरिदियो । सिनेमाको हाइप उकासियो, यसलाई सकारात्मकरूपमा लिएका दिवाकरले राजेश सिनेमा देखिनु आफैँमा चुनौतीपूर्ण पनि भएको उनी स्वीकार्छन् ।
“राजेश दाइको कमब्याक र उहाँको व्यक्तित्वलाई सम्मान गर्ने खालको सिनेमा मेरो प्रोडक्सन र निर्देशनमा आउँदा दर्शक सन्तुष्ट हुनुहुन्छ कि हुन्न ?,” दिवाकर चुनौतीका कुरा गर्छन्, “अरू र राजेश दाइको फरक भनेकै उहाँको स्वच्छ र लोभलाग्दो व्यक्तित्व हो । उहाँ कलाकार मात्रै होइन, त्योभन्दा ठूलो सामाजिक व्यक्तित्व पनि हो ।”
राजेश आमदर्शकले आफ्नो मनमा राखेको आदर्श पात्र भएकाले उनको त्यो छवि अनुसारको सिनेमा छ कि छैन भन्ने कुरा आफैँमा चुनौती रहेको उनको भनाइ छ ।
आठ वर्षपछि राजेशलाई सिनेमामा भित्र्याउँदा पूरै पृथक शैलीमा ल्याउने चुनौती नमोले पनि के एजेन्डा उनीमार्फत ल्याउने ? भन्नेमा दिवाकर प्रस्ट थिए ।
“हिजोको हिरोजस्तो भन्दा पनि उहाँमार्फत त्यस्तो पात्र समाजमा आएर सन्देश दिनुपर्छ, जुन आजको समाजको हरेक पात्रले रिलेट गर्न सकोस् भन्ने थियो,” उनी भन्छन्, “यो क्यारेक्टर आउँदा दर्शकले मन पराउनुहुन्छ । यो क्यारेक्टरमा आउँदा एजेन्डा पनि सेट हुन्छ र दर्शकले पनि रूचाउनुहुन्छ भनेर राजेश दाइ र म सहमत भएका हौँ ।”
नेपाली समाजको आदर्श प्रतिनिधि पात्र कस्तो हुन्छ र हुनुपर्छ भन्ने राजेशको क्यारेक्टरले देखाउने र यसलाई जसरी राजेशले स्वीकार गरे दर्शकले पनि उनलाई स्वीकार गर्नेमा दिवाकर ढुक्क छन् ।